सम्पादकीयः शवदाह गृहमा थप मेसिन आवश्यक



लामो रस्साकस्सीपछि कोहलपुरमा शवदाह गृह निर्माण भएर सञ्चालनमा आइसकेको छ । यसअघि कोहलपुर क्षेत्रबाट शव दाहसंस्कारको लागि करिब ४२ किलोमिटर टाढा अगैयाघाट लैजानुपर्ने बाध्यता थियो । कोहलपुर नजिकै शवदाहस्थल बनाउनुपर्ने माग तथा छलफल यसअघिसमेत पटकपटक उठ्दै आइरहेको थियो । कतीपय राजनीतिक दलहरूले यसलाई आफ्नो चुनावी एजेण्डा समेत बनाए । कोहलपुर क्षेत्रका नागरिक आफन्तको मृृत्यु हुँदा एक÷डेढ घण्टा लगाएर दाहसंस्कारको लागि अन्त्य हुनेगरी कोहलपुरमै करिब साढे १३ महिना लगाएर शवदाह गृह निर्माण भइसकेको छ । उपभोक्ता समिति बनाएर निर्माण कोहलपुर मुटुमै रहेको क्रिकेट मैदान नजिकै डुडुवा खोलामा छेउमा बनाइएको शवदाह गृहलाई कोहलपुर नगरपालिकाले आफ्नो मातहतमा समेत लिइसकेको अवस्था छ । अब नगरपालिकाले नै शवदाह गृहको सञ्चालन र व्यवस्थापन गर्नेछ । स्थानीय सरकारलाई शवदाह गृह सञ्चालन र व्यवस्थापन गर्न सहज हुने देखिँदैन । शवदाह गृह निर्माणदेखि नै विभिन्न मुद्दा र आलोचना खेपेरै भएपनि उपभोक्ता समितिले निर्धारित समयभन्दा पछि निर्माण सम्पन्न गरेर स्थानीय सरकारलाई बुझायो ।

शवदाह गृहमा हाल एउटामात्रै मेसिन रहेकोले एक पटकमा एउटामात्रै शव जलाउन मिल्छ । तीव्र गतिमा शहरीकरण भइरहेको कोहलपुरका लागि केही समयमै यो अपुग हुनसक्छ । तत्काल नै थप मेसिनहरू थपेर शवको अन्तिम दाहसंस्कारलाई छिटो र छरितो गराउनुपर्ने दायित्व समेत कोहलपुर नगरपालिकासँग रहेको छ । नत्र भने शवदाह गर्न पालो कुर्नुपर्ने भयो भने मृतकका आफन्तहरू फेरी अगैया नै जानुपर्ने बाध्यता हुनसक्छ । अरु मेसिनहरू थपेर हाल भएको मेसिन बिग्रिएमा समेत वैल्कपिक व्यवस्था गर्न सहज हुनेछ । यसले गर्दा शवदाह गृहप्रति नागरिकको विश्वाससमेत बढ्छ । अब यस क्षेत्रका सबै नागरिकले कोहलपुरमै निर्माण भएको शवदाह गृहको प्रयोग गर्छन् की गर्दैनन् भन्ने आम नागरिकको चासो समेत छ । यहीँ विषयमा नै स्थानीय सरकार सुरुमै जुध्नुपर्ने पक्कापक्की नै छ । गत जेठमा बोका जलाएर परीक्षण सुरु गर्दै स्थानीय सरकारलाई हस्तान्तरण गर्दासम्म चुनौतीहरू समेत देखिसकेका छन् । सुरुमा उपभोक्ता समितिले निःशुल्क रूपमा शवको दाहसंस्कार गरेपनि स्थानीय सरकारले जिम्मा लिएसँगै शूल्क लिएरमात्रै शवको दाहसंस्कार गर्न थालिएको छ ।

कोहलपुरमा बनेको शवदाह गृहको बारेमा केही भ्रमहरूसमेत रहेको पाइन्छ । ती भ्रमहरू चिर्न समेत कोहलपुर नगरपालिकाले केही समय गुजार्नुपर्ने देखिन्छ । हालसम्म करिब ८० जनाको शवदाह समेत गरिसकिएको अवस्था छ । विभिन्न व्यक्ति, संघ संस्था तथा कोहलपुर नगर विकास समितिले समेत शवदाह गृह निर्माणमा धेरै सहयोग गरेका छन् । नगरपालिकाले आफ्नो मातहतमा शवदाह गृह लिएसँगै सञ्चालन तथा व्यवस्थापन कार्यविधिमा बनाएर प्रतिशव २५ सय रूपैयाँँ शूल्क लिने तयारी गरेको छ । यसबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या हुनसक्छ । तर, सबैको हकमा २५ सय रूपैयाँ शूल्क नलाग्ने नगरपालिकाले बताइरहेको छ ।

विपन्न तथा आर्थिक अवस्था कमजोर नागरिकलाई केही प्रतिशत छुटसमेत हुने भन्ने कुरा नगरपालिकाले प्रचारप्रसार गर्नुपर्छ । नत्र फेरी हुनेखानेको मात्रै शवदाह गृह बन्नसक्छ यसतर्फ सरोकारवालाहरूले ध्यान पु¥याउनुपर्छ । शवदाह गृह निर्माणका लागि व्यक्तिगत रूपमा न्यूनतम १० हजारदेखि संस्थागत रूपमा अधिकतम् ५० लाख रूपैयाँँसम्म आर्थिक सहयोग भएको थियो । आम नागरिककै सहभागितामा निर्माण भएकोले शवदाह गृहलाई दिगोरूपमा सञ्चालन र संरक्षण गर्न पक्कैपनि चुनौती रहेको छ । यो चुनौतीलाई नगरपालिकाले अवसरका रूपमा समेत लिनुपर्छ । सञ्चालन र संरक्षण गर्न नगरपालिकाको मात्रै नभएर कोहलपुरवासी सबैको दायित्व समेत हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार