सम्पादकीयः सरकारलाई पूर्णता देऊ



गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट स्थापित सरकार बनेको पनि डेढ महिना पुगिसकेको छ । सरकार बनेको डेढ महिना बितिसक्दा पनि अझैसम्म पूर्ण आकारको सरकार बन्न सकेको छैन् । सरकारले पूर्णता नपाउँदा नागरिकले पाउनुपर्ने सेवासुविधामा पनि विलम्ब हुँदै गएको छ । यो सरकार जेनजी आन्दोलनका बलमा निर्वाचनबाट आएको सरकारलाई विस्थापित गरेर बनेको अन्तरिम सरकार हो ।अन्तरिम सरकारका केही प्राथमिक कामहरू रहेका छन् । छ महिने आयु बोकेको यो सरकारको डेढ महिनाको समयसीमा बितिसकेको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मितिसमेत तोकिएको अवस्थामा अझैपनि सरकारले पूर्णता नपाउँदा भने विभिन्न कोणबाट आशंका र टीकाटिप्पणीसमेत गर्न लागिएका छन् । फागुन २१ गते निर्वाचन मिति तोकिएको सन्दर्भ र डेढ महिनासम्म पनि सरकारलाई पूर्ण रुप दिन नसक्दा समयमै निर्वाचन होला कि नहोला भन्ने आशंका देखिएका छन् । अन्तरिम सरकारले आफूलाई तोकेको कार्य समयमा पूरा गर्न आवश्यक देखिन्छ । मुख्यतया यो सरकारको काम भनेको प्रतिनिधिसभाको निर्वाचन गराउनु र निर्वाचनबाट आएका प्रतिनिधिहरूबाट निर्वाचित सरकार बनाएर आफ्नो कामलाई पूर्णता दिनुनै हो ।

हरेकपटक सरकारको मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा विभिन्न पात्रहरू अगाडि सार्ने र ति पात्रहरूका बारेमा विभिन्न नकारात्मक टीकाटिप्पणीहरू आउने गरेका पाइन्छन् । जसका कारण यसअघि पनि सरकार विस्तार गर्ने क्रममा कतिपय बाहिर आएका नामहरू पछि हटाउनुपरेका उदाहरण पनि देखिएका छन् । सरकारमा सामेल गर्न लागिएका व्यक्तिहरूका बारेमा पहिल्यै उनीहरूका बारेमा सम्पूर्ण कुराहरू जान्न आवश्यक छ । सरकारमा आउने मन्त्रीहरू स्वच्छ, सबल, दूरदर्शी, विषयविज्ञ, योग्य र क्षमतावान हुनु जरुरी छ । अन्तरिम सरकारबाट नेपाली जनताहरूले निष्पक्ष निर्वाचनको आशा गरेका छन् । जसका लागि पक्कै पनि सरकारमा जाने पात्रहरू सबल र निष्पक्ष व्यक्ति हुनु जरुरी छ । सरकारले अझैसम्म पनि पूर्णता दिन नसक्नु र विभिन्न नकारात्मक टीकाटिप्पणीहरू बाहिर आइरहनुलाई सकारात्मक मान्न सकिँदैन् । जेनजी पुस्ताका युवाहरूका कारण नै बनेको यो अन्तरिम सरकारसँग विभिन्न जेनजी समूहहरू नै असन्तुष्ट रहेका समाचारहरू दैनिकरूपमा बाहिर आइरहेका छन् । अझैपनि उक्त आन्दोलनका दर्जनौँ जेनजी युवाहरू विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । घाइते जेनजी युवाहरूले प्रधानमन्त्रीलाई भेट गर्न नपाएका, आफ्ना मागहरू सम्बोधन हुन नसकेका लगायतका विभिन्न विषयहरूमा असन्तुष्टि पोख्दै विभिन्न समयमा आन्दोलन गर्ने र आन्दोलनका कार्यक्रमहरू समेत घोषणा गरिरहेका पाइन्छन् ।

सरकारले सम्पूर्ण जेनजी युवा समूहहरूका उचित मागहरू सुन्न र उनीहरूका मागहरूलाई सम्बोधन गर्दै सम्पूर्ण जेनजी युवाहरूलाई एउटै समूहमा आउने वातावरण सिर्जना गर्न आवश्यक छ । केही जेनजी अगुवाहरूका बलमा यो सरकार बनेको र आफ्ना गुनासा तथा मागहरू सम्बोधन नगरेको भन्दै अन्य जेनजी समूहका युवाहरूले यही सरकारका विरुद्धमा समेत आवाजहरू उठाइरहेका पाइन्छन् । यो सरकारले सम्पूर्ण जेनजी युवाहरूलाई समेट्न आवश्यक छ । साथै छ दर्जनभन्दा बढी युवाहरू सहिद बनेका छन् । उनीहरूका परिवारका सदस्यहरूलाई समेत सरकारमा समेट्नु पर्ने देखिन्छ । सरकारले द्रूत गतिमा आफूले पाएका जिम्मेवारी निभाउन सकेन भने सरकारको मात्र नभएर देश, जनता र नेपालको विश्वसनीयता नै कमजोर हुनसक्ने देखिन्छ । हालसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु सरकारकै कमजोरीका रूपमा हेर्न सकिन्छ । सरकार बनाउनमै यत्रो समय खर्चिएको अन्तरिम सरकारले आगामी निर्वाचनलाई तोकिएकै समयमा गराउन सक्ला भन्नेमा आम आशंका उब्जिनु स्वभाविकनै मान्न सकिन्छ । देशमा भ्रष्टाचार भयो, नेता धनी बने, देशको विकास भएन, रोजगारी भएन भन्दै गरिएको जेनजी आन्दोलनबाट विस्थापित भएको तत्कालीन सरकार र यो सरकारबीच पक्कै पनि भिन्नता हुनु आवश्यक छ । हालको सरकारको मुख्य काम भनेकै तोकिएकै समयमा निर्वाचन गराउनु र मुलुकलाई निर्वाचित सरकार दिनु हो । जसका लागि सरकार आफैँमा पूर्ण हुनु जरुरी छ । तत्काल सरकारलाई पूर्णता देऊ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार