नेपाली हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै छ । केहि दिनभित्र तिहार नेपालीहरूको घरआँगनमा भित्रिँदै छ । तिहारमा पटका पड्काउने आम चलनजस्तै बनेको छ । तिहार सुरु नहुँदै नै सहरबजारमा रातिको समयमा पटका पड्काउन सुरु भइसकेको छ । ठूलो ठूलो आवाजका साथ पटका पड्काउने गर्दा समाजमा आंतकित पार्ने काम सुरु भएको छ । पटका पड्काउँदा त्यसको आवाजबाट ध्वनि र वायु प्रदूषण हुने र मानव स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ । पटकाका कारण वातावरण प्रदूषित गर्नुका साथै शान्त समाजलाई भंग गराउने गर्दछ । पटकामा मानव शरीरका लागि अति खतरनाक मानिएका लिड, सल्फरडाइअक्साइड, नाइट्रस अक्साइड र बारुद आदि पदार्थ र रसायनको असीमित मात्रामा प्रयोग हुनेहुँदा त्यसबाट नकारात्मक असर पारिरहेको हुन्छ । यसरी बनाइएका पटका पड्काएपछि धुवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । श्वास लिँदा ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश गर्ने र फोक्सोमा पुग्दा दम, एलर्जी लगायत क्यान्सजस्ता प्राणघातक रोगसमेत लाग्न सक्छ । तिहारको समयमा प्रायः गरेर पहाडी जिल्लाहरूमा भन्दा तराईका जिल्लाहरूमा यसको प्रयोग बढी हुने गर्दछ । नेपालमा प्रयोग गरिने पटका लगायतका तिहारमा पड्काउने वस्तुहरू अधिकांश भारतबाट नै आयातित हुन्छ ।
तराईका भारतसँग सीमा जोडिएका जिल्लाहरूमा पटकाको प्रयोग अत्यधिक गरिन्छ । भारतबाट नेपालमा ल्याइएका पटकाहरू नेपाली बजारमा खुलेआम बिक्री वितरण गर्न राखिन्छ र सर्वसाधारणले सहजै पटकाजन्य वस्तुहरू खरिद गर्न सक्छन् । केहीले भने भारतबाट लुकाइछिपाइ ल्याएर पटकाको प्रयोग गर्ने गरेको पाइन्छ । उज्यालो पर्वका रूपमा लिइने पटकाकै कारण प्रदूषणका साथै धनजनको समेत ठूलो क्षति भएको पाइन्छ । तिहारमा पटका पड्काउँदा कतिपय स्थानहरूमा मानिसका ज्यान जानुका साथै कतिपय अंगभंग भएका घटनाहरू हरेक वर्ष सुन्न पाइन्छ । प्रहरी प्रशासनले तिहार लगायतका चाडबाडमा पटकाजन्य वस्तुहरू ओसारपसार गर्न र पड्काउन निषेध गर्दै आएको हुन्छ । तरपनि नेपाली समाजमा पटका पड्काउने कार्य गर्न रोकिएको पाइँदैन् । आधारातसम्म पनि ठूला ठूला आवाजमा पटका पड्काएको आवाज सुन्न सकिन्छ । जसका कारण आम सर्वसाधारण मानिसको निद्रा खलबलिनुुका साथै समाजमा कोलाहलपूर्ण अवस्थाको सिर्जना भइरहेको हुन्छ । नेपालमा पटका पड्काउन तथा बिक्री वितरण गर्न कानुनले बर्जित गरेको छ । कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रूपैयाँँसम्म जरिवाना, नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँँ जरिवाना, सामान्य प्रकारको विस्फोटक पदार्थ भए ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था छ ।
साथै विस्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने र कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रूपैयाँँ जरिवाना हुने व्यवस्था छ । तरपनि रमाइलो चाडबाड तिहारका नाममा अटेरी गर्दै यसप्रकारका कार्यहरू समाजमा भइरहेका पाइन्छन् । प्रहरी प्रशासनले पटका नियन्त्रण गरी समाजमा शान्त वातावरण बनाइराख्नका लागि विशेष पहल लिनुपर्ने आवश्यक देखिन्छ । पटकाजन्य वस्तु उत्पादन नगर्न, नपड्काउन तथा ओसारप्रसार नगर्न स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणमा सूचना जारी गर्ने, प्रचारप्रसार गर्ने तथा कानुनी व्यवस्थाको पनि जानकारीसहित सचेतना गराउन पनि आवश्यक छ । बजारमा कडा निगरानी गर्ने, बजार अनुगमन गर्ने र पटका बिक्री वितरण गरेको पाइएमा जफत गर्ने तथा कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी छ । कानुनी कारबाहीमा नल्याउँदासम्म मानिसको चेत खुल्दैन् । कानुनले बर्जित गरेको कामकारबाही गरेको पाइएमा तत्काल एक्सन लिन आवश्यक छ । राति रातिमा ठूलो ठूलो आवाजमा पड्किने पटकाको लोकेसन पत्ता लगाएर तत्काल उनीहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सकेमात्र पटका आतंकबाट आम सर्वसाधारण नागरिक बच्न सक्नेछन् । यसतर्फ सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुनु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्