ट्राफिक व्यवस्थापन कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहँदै आएको छ । यो समस्या अहिले मात्र नभइ विगत लामो समयदेखि यहाँको मुख्य चुनौतीको रूपमा देखा पर्न थालेको हो । समय परिवर्तनसँगै पछिल्लो समय प्रविधिको विकासले इभी गाडी र भित्रिएका हजारौँ ई–रिक्साले ट्राफिक व्यवस्थापन झनै अस्तव्यस्त बनेको छ । जसका कारण बाँकेमा सवारीसाधन दुर्घटनाका घटनाहरू बढिरहेका छन् । अर्काेतर्फ अव्यवस्थित पार्किङले यात्रु र सहरलाई समेत कुरुप बनाइरहेका छन् । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिए पनि उनीहरूको आँखा छल्ने र जबर्जस्त रोक्ने गर्दा ट्राफिक व्यवस्थापन हुन सकेको छैन् । केही वर्षअघि जिल्ला प्रशासन कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन गर्न मुख्य चोकहरूको पाँच सय मिटर नजिक सवारीसाधन रोक्न, यात्रु चढाउन र झार्न रोक लगाउने निर्णय गरेको थियो । तर, नेपालगन्ज र कोहलपुरका सवारीसाधन चालकहरूले उक्त निर्णयको धज्जी उडाइरहेका छन् । जसका कारण अहिले कोहलपुरको नयाँ बसपार्कमा भन्दा चोकहरूमा अस्तव्यस्त सवारीसाधन पार्किङ गरेको पाइन्छन् ।
यसले गर्दा एकातिर यात्रुहरूले कठिनाइ भएको छ भने अर्काेतर्फ जथाभावी यात्रु झार्ने र चढाउने गर्दा सवारी दुर्घटनाका घटनाहरू घटिरहेका छन् । ट्राफिक प्रहरी पनि सवारीसाधन व्यवस्थापन गर्न चिट काट्ने र लखट्ने गर्दागर्दा आजित भइसकेका छन् । जसका कारण सवारीसाधन चोकहरूमा रोके, यात्रु झारे पनि नदेखे झैँ गर्ने गरिरहेका छन् । प्रशासनको निर्णयको धज्जी यातायात व्यवसायीहरूले उडाइरहेका त छन् नै पुष्पलाल चोक नजिकै वाटरपार्टको गेटमा र धम्बोझी चोकबाट गुलरिया जाने सडकमै सवारीसाधनहरू रोकेर यात्रु चढाउने र झार्ने काम भइरहेको छ । यस्तै कोहलपुरमा पनि कोहलपुर चौराह आसपासको सडकमा पनि यस्तै अवस्था छ । जसले गर्दा यी क्षेत्रमा सडक साँघुरो भएर यात्रा असहज हुनुका साथै जोखिमपूर्ण बनिरहेको अवस्था छ । अर्काेतिर करोडौँ लगानीमा निर्माण गरिएका बसपार्क र सुविधासम्पन्न बसपार्कका सटर तथा संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् । सडकमै सवारीसाधन रोकेर यात्रु चढाउने र झार्ने कामले बसपार्कको व्यवस्थापनमा पनि चुनौती थपेको छ ।
जसको कारण अहिले यातायात व्यवसायीहरू एकजुट भएर ट्राफिक व्यवस्थापन गर्न लागेका छन् । मंगलबार कोहलपुरका यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीले संयुक्तरूपमा ट्राफिक व्यवस्थापनको लागि मुख्य चोकहरूमा पार्किङ निषेध क्षेत्र घोषणा गरेका छन् । कोहलपुरको चौराहदेखि पूर्व, पश्चिम, उत्तर र दक्षिणको पाँच सय मिटरमा सवारीसाधन रोक्न चालकहरूलाई सचेत गराउनुका साथै पार्किङ निषेध लेखिएका बोर्डहरू राखेका हुन् । ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले सम्भव नरहेकाले यातायात व्यवसायी स्वयम् नियमको पालना गरे बाँकेमा ट्राफिक व्यवस्थापन आफैँ हुन्छ । एक दिनमात्र नभइ यातायात व्यवसायीहरूले प्रशासनको निर्णय पालना गर्न जरुरी छ । एकदिन देखाउनको लागि मात्रै गरेको कामले सार्थकता पाउन सक्दैन् । त्यसैले बेलाबखत यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय सरकार र नेपाल प्रहरीले यस्ता सचेतना फैलाउन पनि उत्तिकै जरुरी छ ।
अहिले नेपालगन्ज र कोहलपुर बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले अहिले नेपालगन्जबाट दैनिक तीन सयभन्दा बढी यात्रुबाहक सवारीसाधन छुट्ने गरेकोमा बसपार्कभित्र त्यसको आधा सङ्ख्यामा मात्रै सवारीसाधनहरू पस्ने गरेका बताउँछन् । कोहलपुरमा पनि समस्या उस्तै रहेको छ । त्यसैले जबसम्म यातायात व्यवसायीहरू स्वयम् आफैँ नियमको पालना गर्दैनन् तबसम्म यसको व्यवस्थापन हुन असम्भव छ । त्यसैले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी मात्र नभइ प्रत्येक व्यक्तिको सहयोगको आवश्यक छ । सबैको साझा पहल र ऐक्यबद्धताले मात्रै बाँकेको ट्राफिक व्यवस्थापन सम्भव छ । त्यसैले नागरिकदेखि स्थानीय सरकार सबै एकबद्ध भएर ट्राफिक व्यवस्थापनमा सहयोग गर्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्