एउटा हिंस्रक जस्तो लाग्ने कैदी पनि आफ्नो बाल्यकालको सुन्दर तस्वीर देखेर मुस्कुराउन थाले झैँ बाल्यकालका सुखद प्रसङ्गहरूको फ्ल्यास ब्याकले अधिकांश व्यक्तिलाई स्वभाविक रूपमा फूर्तिलो बनाउँछ । यसले जीवनका झोलिएका तारहरूलाई कसकास पारेर सुमधुर साङ्गीतिक धुनका लागि सक्षम बनाउछ । झोलिएका सारङ्गीका तारहरूबाट सङ्गीत सिर्जना नभए झैँ कतिपयका जीवनका तारहरू पनि तनाव, चिन्ता, भागदौड, तँछाडमछाड आदिका कारणले झोलिने गर्दछन् र अन्ततः त्यस्ता जीवनहरूबाट सुमधुर सङ्गीत सिर्जना हुन सक्दैन् ।
जीतबहादुर शाह
मित्र प्रकाश कडायतले बाल्यकालको एउटा घटना पस्केर हामीलाई एक दिन खुब हँसाए । उनी बाल्यकालमा जीवनमै पहिलोपटक चलचित्र हलमा चलचित्र हेर्न गएछन् । उनको बाल्यकालको सिधासाधा बुद्धिले नजिकबाट हेरेपछि राम्रो र स्पष्टसँग चलचित्र देखिन्छ भन्ने लागेछ । त्यसैले अगाडिको टिकट काटेर अगाडि नै बसेछन् । चलचित्र सुरु भएपछि चलचित्रको नायक भुवन केसी चलचित्रमा दौड्दै आएछन् । दौड्दै आफूतिर आएपछि भुवन केसीले आफूलाई कुल्चिन्छन् भनेर बिचरा आफू अगाडि बसेको सीटबाट पछाडितिर दौडेर भागेछन् ।
दौड्ने क्रममा अरु मानिससँग लटपटिएर उनलाई सामान्य चोटसमेत लागेछ । उनी यो घटना सम्झनेबित्तिकै अहिले पनि आफू एक्लै बसेको समयमा पनि हाँसिरहेका हुन्छन् । करिब एक दशकपछि ब्रम्हाकुमार बिजय सिग्देलको क्लासमा बस्ने अवसर मिल्यो । विजय सिग्देलले यो पटक प्रकाश कडायतका जस्तै प्रसङ्गहरूको उठान गरेर खुब हँसाए । करिब एक घण्टाको क्लासमा उनले आर्ट अफ ह्यापीनेसलाई केन्द्रविन्दू बनाएर विषयवस्तुहरू पस्के । विषयवस्तु पस्कने क्रममा उनले बाल्यकालका सुखद सन्दर्भहरू सम्झनका लागि उपस्थित सबैलाई मेडिटेसनको माध्यमबाट अवसर प्रदान गरे ।
क्लासमा उपस्थित हामी सबैले मेडिटेसनकै माध्यमबाट बाल्यकालका सुखद सन्दर्भहरू स्मृतिपटलको फ्रण्ट पेजमा ल्याउने प्रयास ग¥यौँ । मेडिटेसनको समय सकिएपछि खुसी हुँदै कतिपयले आफ्ना बाल्यकालका सुखद सन्दर्भहरू बिजय सिग्देलकै अनुरोधमा सबैले बतायौँ पनि । यो अवसर प्रस्तोताहरूको निम्ति त सुखद थियो नै श्रोताहरूको निम्तिसमेत सुन्दा सुखद लाग्ने विषय थियो । बिजय सिग्देलले सुखी र खुसी हुने यो तरिकालाई फ्ल्यास ब्याक सिस्टम भनेर नामाकरण गरे ।
राजयोग साधक एवम् प्रशिक्षक बिजयराज सिग्देल भन्दै थिए–बाल्यकाल प्रायः सबैको सुखद काल हो । त्यतिबेला व्यक्तिले कमीकमजोरी र अपराधजन्य क्रियाकलाप गरेपनि अन्जानमा गरेको हुन्छ । बाल्यकालमा भएगरेका क्रियाकलापहरू सम्झिँदा अधिकांश मानिसहरू खुसी हुने गर्दछन् । यसमा पनि बाल्यकालमा भएगरेका नराम्रा र दुःखद् क्रियाकलापहरू बिर्सँदै जाने र राम्रा र सुखद क्रियाकलापहरू मात्र सम्झिँदै जाने अभ्यास गरियो भने फ्ल्यास ब्याक सिस्टमले मानिसलाई प्रशन्नता र खुसी प्रदान गर्दछ भने प्रशन्नता र खुसीबाट मानिसलाई ऊर्जा प्राप्त हुन्छ ।
जब मानिस ऊर्जाशील हुन्छ, उ स्वभावैले स्वस्थ, निरोगी र उत्पादनशील हुन्छ ।
यसरी स्वस्थ शरीरमा स्वस्थ मष्तिष्कको विकास हुन सक्यो भने शिक्षा र विद्याको मक्सद पनि पुरा हुने गर्दछ । अन्ततः मानिसको खुसी भएर जीवन जिउने जीवनकै महत्वपूर्ण धोको पूरा हुने गर्दछ । यो काममा फ्ल्यास ब्याक अर्थात् उन्ज्यातिर विगततिर फर्किने यो अभ्यासले योगदान पु¥याउँदो रहेछ । मैले कतै पढेको थिएँ, एकपटक एउटा चित्रकारले जेलरको अनुमति लिएर जेलभित्रको सबैभन्दा क्रूर र हिंस्रक जस्तो देखिने कैदीको चित्र बनाउने उद्देश्य राखी जेलभित्र छिरेछन् । सबै कैदीहरूलाई नियालेपछि चित्र बनाउनका लागि उनको छनौटमा एउटा कैदी परेछ। उक्त कैदीलाई आफ्नो अगाडि राखेर उनले कैदीको आकृति स्केच गर्न थालेछन् ।
स्केच गर्ने क्रममा उनले आफ्नो साथमा विश्वमा सबैभन्दा बढी बिक्री भएको एउटा सुन्दर बालकको तस्वीर पनि सँगै राखेका थिए । चित्रकारले जब चित्र स्केच गर्न थाल्छन्, कैदी आल्हादित भएर मुस्कुराउन थाल्छ । कैदीको स्वाभाविक चित्र आउँदैन कि भन्ने भयले चित्रकारले ‘मुस्कुराउनु पर्दैन पहिले जस्तो छ त्यस्तै मुद्रामा भइदिनोस्’ भन्दा पनि कैदी मुस्कुराउन छोड्दैन । मुस्कुराउनु पर्ने कारणको खोजी गर्दा बोध हुन्छ कि विश्वमा सबैभन्दा बढी बिक्री भएको सुन्दर बालकको तस्वीर त्यही कैदीको थियो ।
ऊ त्यही आफ्नो बाल्यकालको तस्वीर हेरेर मुस्कुराइरहेको थियो । भन्नुको मतलव त्यति क्रूर र हिंस्रक व्यक्तिको बाल्यकाल पनि त्यति हँसिलो र सुन्दर हुन सम्भव हुन्छ भने अरुको बाल्यकाल सुन्दर हुन झन् किन सम्भव हुँदैन ? फ्ल्यास ब्याकको माध्यमबाट व्यक्तिले बिर्सिएका धेरै कुराहरू सम्झिन सक्ने रहेछ । सम्झिने मात्र होइन आत्ममूल्यांकन र आत्मअनुभूति गरेर आफूलाई सुध्रिनका लागि समेत तयार बनाउँदो रहेछ ।सम्झिने पनि कहिलेसम्म र कतिसम्म ? यसको सीमाङ्कन गर्न समेत नसकिँदो रहेछ । मेडिटेसनबाट मानिस स्मृतिको गहिराइसम्म पुग्न सक्यो भने मानिसले पूर्वजुनीका क्रियाकलापहरू पनि स्मृतिमा सक्रिय बनाउन सक्छ भन्ने कुरा पनि बिजय सिग्देलले बहसमा ल्याए ।
पूर्वजुनी र अर्को जुनी हुन्छ कि हुँदैन भनेर विश्वमै चर्को बहस भइरहेको बेला ज्योतिष विज्ञानले समेत मानिसको पूर्वजुनी बताउन सफल भइसकेको कुरा समेत चर्चा परिचर्चा गरिए । यससम्बन्धी कम्प्युटर सफ्टवेयरको समेत विकास भइसकेका कुराहरू उठे । कतिपय मानिसहरूले पूर्वजुनीको पहिचान गरेर यो जुनीमा त्यसको अनुसन्धान गर्दा सत्य सावित भएका कुराहरू पनि छलफलमा आए । कतिपय बालबालिकाले सानै उमेरमा देखाएका असाधारण प्रतिभाको मूल्यांकन गर्दा पनि त्यसको कनेक्सन पूर्वजुनीसँग भएका रहस्यहरू समेत उद्घाटन भइरहेका सन्दर्भहरू पनि बहसको सतहमा आए ।
योग, साधना र तपस्या नपुगेर होला सायद, मेरो मष्तिष्कले भने त्यति गहिराइसम्म पुगेर स्मृति गर्न सकेको छैन । एकाग्र भइ कोसिस गर्दा सक्रिय बाल्यकालका धेरै कुराहरू सम्झनामा तैरिन्छन् । सम्भव हुन्छ भनेर प्रशिक्षित भएपनि पूर्वजुनीलाई स्मृतिमा ल्याउन सक्छु जस्तो लाग्दैन। मलाई मेरो पूर्वजुनी त मेरो यही जुनीका पूर्वजीवनहरू हुन् जस्तो लाग्छ । अहिले सरकारी सेवाबाट निवृत्त भइस्केपछि पहिले काम गरेका अफिस र जिल्लाहरूमा जाँदा आफूसँगै काम गरेका सहकर्मी साथीहरूसँग भेट हुन्छ, भलाकुसारी हुन्छ । जाजरकोट पुग्दा जवानीमा झोला बोकेर हिँडेको बाटो पुनः हिँड्दै गर्दा पनि कतै पुराना पाइलाहरू भेटिन्छन् कि भनेर खोज्न मन लाग्छ ।
त्यस्तै हुन्छ काम गरेको दैलेख, जुम्ला, सुर्खेत, बाँके र बर्दिया जाँदा पनि । यस्तै–यस्तै धेरैजनासँग भेट हुँदा कतै म पूर्वजुनीमा अवतरण गरेँ कि झैँ महसुस हुन्छ । अगाडिका दिनहरू साँच्चिकै फेरि फर्किए कि झैँ आभास हुन्छ । समग्रमा ती जिल्ला र अफिसहरूमा जीवनको लामो कालखण्डको एउटा खण्ड जुनी यसरी फ्ल्यास ब्याक हुँदा असीम आनन्दको महसुस भयो । ती क्षणहरू पुनः फर्केर घरसम्म आउँदासम्म पनि सम्झना आएर द्विविधाको सिर्जना गरिरहन्छन्– ‘म अहिलेको जुनी बाँचिरहेको छु वा यसअघिको जुनी ?’
जीवनका अन्य खण्डहरू सम्झँदा पनि त्यसरी नै पूर्वजुनीको अनुभूति हुने गर्दछ । जन्मेको भूमिमा पाइला टेक्दा पनि यो टेकेको पाइला अहिलेको हो वा पहिलेको ? त्यसै–त्यसै अलमल भइरहन्छ । त्यस्तै–त्यस्तै अलमलमा परेर वास्तविकताको ठहर गर्ने क्रममा जीवनमा एउटा छुट्टै किसिमको मिठासको अनुभूति हुने गर्दछ । जाजरकोटको पश्चिमी भूभाग जहाँ वर्षाको समयमा सर्पहरूलाई पन्छ्याउँदै बाटो लागियो, दैलेखका विद्यालयहरू जहाँ शिक्षकहरूलाई शिक्षण सिकाइमा सहजीकरण गर्दै समय बिताइयो, रुकुमका ती बारी र कान्लाहरू जहाँ रातबिरात नभनेर अँध्यारोमा पाइला सार्दै उज्यालोको खोजी गरियो, जुम्लाका लेक र चरणहरू जहाँ अवतरण गर्दा स्वर्गीय आनन्दको अनुभूति भयो, सुर्खेत, बाँके र बर्दियाका विद्यार्थीहरूसँग आफू पनि उनीहरूकै समयको जस्तो भएर भलाकुसारी गरेका क्षणहरू आज ती सबै फ्ल्यास ब्याक भएर स्मृतिपटलमा फन्को मारिरहेछन्, मानौँ कि ती मेरा निम्ति खुसी बोकेर ल्याउने जोडी ढुकुरहरू हुन् ।
वर्तमानमा जति पीडा र बेदना भए पनि फ्ल्यास ब्याकको रूपमा ती कुराहरू स्मृतिमा उपस्थित हुँदा खुसीको वर्षा हुने गर्दछ । त्यसैले पनि मलाई लागिरहेको छ, फ्ल्यास ब्याक पनि जीवनमा खुसी बोकेर ल्याउने एउटा इमान्दार हुलाकी रहेछ । एउटा हिंस्रक जस्तो लाग्ने कैदी पनि आफ्नो बाल्यकालको सुन्दर तस्वीर देखेर मुस्कुराउन थाले झैँ बाल्यकालका सुखद प्रसङ्गहरूको फ्ल्यास ब्याकले अधिकांश व्यक्तिलाई स्वभाविक रूपमा फूर्तिलो बनाउँछ । यसले जीवनका झोलिएका तारहरूलाई कसकास पारेर सुमधुर साङ्गीतिक धुनका लागि सक्षम बनाउछ । झोलिएका सारङ्गीका तारहरूबाट सङ्गीत सिर्जना नभए झैँ कतिपयका जीवनका तारहरू पनि तनाव, चिन्ता, भागदौड, तँछाडमछाड आदिका कारणले झोलिने गर्दछन् र अन्ततः त्यस्ता जीवनहरूबाट सुमधुर सङ्गीत सिर्जना हुन सक्दैन् ।
यसका लागि स्फूर्ति चाहिन्छ र त्यो स्फूर्तिका लागि केही हदसम्म फ्ल्यास ब्याकले टेवा पु¥याउँछ । व्यक्तिलाई बाहिर भौँतारिएर होइन कि आफैँभित्र एकाग्रतापूर्वक सिंहावलोकन गरेर प्रशन्नता र प्रकाश खोज्दै खुसी हुने यो पद्धतिलाई राजयोगीहरू महत्वपूर्ण माध्यमको रूपमा स्वीकार गर्दछन् । त्यसो त फ्ल्यास ब्याक नै सुख र शान्तिका लागि सर्वस्व हो भन्ने कुरामा सर्वसम्मत विचारहरू भेटिन भने गाह्रो छ । फ्ल्यास ब्याक अर्थात् विगत सम्झेर खुसीले गद्गद् हुनका लागि त विगत पनि त्यही प्रकारले निर्माण गर्नु सक्नुपर्दछ । भनिन्छ मानिसले त्यस्ता दिनहरू बिताउनु पर्छ जुन दिनहरू सम्झेर कहिल्यै पनि पछुताउनु नपरोस् बरु खुसीले मुस्कुराउने स्थितिको सिर्जना होस् । यसका लागि त हामीले बाल्यकाल मात्र खुसी र रमाइलो बनाउने होइन कि जीवनका हरपल खुसी र रमाइलो हुने गरी सोँच्नुपर्ने हुन्छ र तदनुसारको कर्म गर्नुपर्ने हुन्छ । भोलिको लागि आज विगत हो, त्यसैले आज सम्झेर भोलि खुसीले मुस्कुराउनु छ भने हामीले आज पनि खुसी र गर्व गर्नलायक दिन बिताउन सक्नुप¥यो जुन दिन भोलि वा भविष्यमा सम्झिँदा खुसी र आनन्दको महसुस गर्न पाइयोस् ।
खुसी हुनुको मतलव जे गरेर पनि खुसी हुने होइन, कुनै खुसी यस्ता हुन्छन् जसले वर्तमानमा निमेषभरका लागि खुसी दिन्छन् तर त्यसैका कारणले विगत अँध्यारो हुन सक्छ, विगत विसङ्गतिपूर्ण हुन सक्छ र विगतमा खुसीको खडेरी पर्न सक्छ । त्यसैले आज खुसी त्यसरी हुनुपर्छ जसले भोलिको खुसीका निम्ति समेत इँटा थप्ने काम गरोस् । महाकवि देवकोटाले भनेर गए– ‘भन्छन् मानिस सुख भनी सुख त्यो कहाँ छ ? आफू मेटाइ अरुलाई दिनु जहाँ छ ।’ उनले भने झैँ अरुको सुख, शान्ति र अमनचयनका लागि मरिमेट्नेहरूलाई नजानिँदो तरिकाले आफ्नो निम्ति पनि सुखको वर्षा भइरहेको हुन्छ । सुख, शान्तिको स्रोतको रूपमा अरुको निन्दा भन्दा प्रशंसा र जीवन र जगतप्रतिको सकारात्मक सोच पनि महत्वपूर्ण माध्यमको रूपमा रहेका देखिन्छन् । कारण स्पष्ट छ कि अरुको प्रशंसा गरियो भने प्रशंसाका निम्ति निन्दा कहिल्यै पनि बर्सिँदैन बरु प्रशंसा नै बर्सिन्छ । निन्दाले मानिसलाई दुःखी बनाउँछ भने प्रशंसाले मानिसलाई आल्हादित ।
त्यसरी नै जीवन र जगतलाई सकारात्मक सोचले हेर्ने अनुहार पनि जीवनमा सधैँ खुसी र आल्हादित हुने गर्दछन् । विद्वानहरूले समेत भन्ने गरेका छन्– ‘सकारात्मक भावले हे¥यो भने यो दुनियाँमा खराबैखराब भन्ने चीज नै छैन, जबकि बिग्रेर चल्न छोडेको घडीले समेत दिनमा दुईपटक ठीक समय दिन्छ ।’ हामीले पनि परम्परादेखि भन्दै आएका छौँ– ‘ख्याल गर्नु है, रक्षानमा फालेको टपरी पनि काम लाग्छ ।’ यसैगरी सकारात्मक सोचका साथ हाम्रा प्रगतिका पाइलाहरू अघि बढे भने हामी आगतमा त खुसी हुन्छौँ नै विगतमा पनि खुसी हुने कुरामा विश्वास गर्न सकिने फराकिलो आधार देखिन्छ । बाँकी जो हजुरहरूको मर्जी ।









प्रतिक्रिया दिनुहोस्