चिन्तामणि घिमिरे
साहित्य लेखन केही भिन्न तरिकाले चीजहरूलाई देख्नु हो । यसमा आँखा खोलेर हेर्नु महत्वपूर्ण हुन्छ । आलोचनाको अर्थ हुन्छ भित्री आँखाहरूले ध्यानपूर्वक देख्नु । भित्री आँखा भन्नाले चेतना, दृष्टिकोण, विचार र ज्ञान भन्ने बुझिन्छ । लेखकहरूमा एउटा यस्तो मनसाय हुन्छ कि अरुले उनको रचनाको प्रशंसा गरिदिउन् भन्ने हुन्छ । प्रायःले आलोचना सुन्न पनि चाहँदैनन् । आलोचना सुन्नको लागि चेतनशील र जागरुक हुनुपर्छ साथै वैज्ञानिक विश्वदृष्टिकोण उठेको पनि हुनुपर्छ । लेखकहरूमा आलोचनाको अर्थ केवल साहित्यिक कृतिहरूको व्याख्यालाई मात्र बुझ्ने चलन देखिन्छ । जुन उनको साहित्यिक बुझाइको संकट हो । आलोचना केवल साहित्यिक कृतिहरूको मूल्यांकनको मामिला होइन । यो पूरै जीवनको मामिला हो । दृष्टिकोणको मामिला हो । यो व्यवहारसँग जोडिएको सवाल पनि हो । आलोचनात्मक रुपबाट देख्नु वस्तुतः एक सिर्जनात्मक खोज हो, एक कल्पना हो । यो केही ध्यानपूर्वक देख्नु, सोच्नु तथा असहमति–सहमतिको मामिला हो ।
यो केही प्रश्नहरूलाई उठाउनु हो । वास्तवमा आलोचनात्मक दृष्टि सम्पूर्ण साहित्य तथा मानवजातिको जीवनको लागि हो । साहित्यलाई बौद्धिक विलासको साधन बनाउनु हुँदैन । यो समाज रुपान्तरणको सशक्त हतियार हो । समाजका बेथितिहरूलाई उधिन्ने काम पनि साहित्यमार्फत नै हुन्छ । साहित्य जहिले पनि सत्ताको आलोचक हुन्छ र खबरदारी गरिरहन्छ । स्तुतिगान र महिमामण्डन गरेर लेखिएको विषयवस्तु साहित्य हुन सक्दैन । साहित्यमा गुणगान र व्यक्तिपूजा हुँदैन । समाजलाई परिवर्तन र मार्गदर्शन गर्ने क्षमता साहित्यमा हुन्छ र हुनुपर्छ । साहित्यले पाठकको मनमा एउटा खुलदुली, जिज्ञासा र आँधीबेहरी सिर्जना गर्दछ । आज चारैतिर भौतिक समृद्धिको विकासमा निकै तीव्रता आइरहेको छ । तर बौद्धिक रिक्तताको समस्या पनि त्यतिनै बल्झिरहेको छ । मुख्य सवाल यो छ कि मानिसहरूमा आफैँलाई देख्ने र बुझ्ने कति शक्ति बचेको छ ? उनीहरू वस्तुतः यही देखिरहेका हुन्छन् कि जो उनीहरूलाई टेलिभिजन, सोसल मिडिया र चारैतिर धेरै पुँजीको ताकतमा निर्मित विम्बहरूद्वारा देखाइने गरिएको हुन्छ । यो मानिसहरूको देख्ने र बुझ्ने शक्तिलाई ठूलोस्तरमा नियन्त्रित गरिएको हुन्छ ।
मानिसहरूले स्वयं आफैँलाई देख्ने क्षमता, आफ्नो आलोचनात्मक दृष्टि गुमाउँदै गइरहेका छन् । उनीहरूले असहमति–सहमतिको विवेक मात्र होइन, बौद्धिक सहृदयता पनि गुमाउँदै गइरहेका छन् । आलोचनात्मक दृष्टिको अभावमा अन्धविश्वास फैलँदै जान्छ । अज्ञान नै ज्ञानको आसनमाथि बस्न पुग्छ । साहित्यले के भन्छ ? साहित्यले भन्छ कि देख्न, हेर्न सिक्नुस् अर्थात् प्रश्न उठाउन तर्क र कल्पना गर्न नछोडनुस् । साहित्य विभिन्न विविधताहरूलाई जोडने सङ्गीत हो । साहित्यले भन्दछ, बौद्धिक सहृदयता राख, आफ्नो संवेदनालाई आफ्नै अनुभवले विस्तृत गर र दुःखद् स्थितिहरूलाई अधिक संवेदनशीलतासँग बुझ । हरेक शब्दको चयनको पछाडी एउटा सौन्दर्यबोध हुन्छ । साहित्यमा हरेक खोज एउटा यस्तो महत्त्वपूर्ण कडी हो जसले रचनाकारलाई अगाडी बढ्न प्रेरणा मिल्छ । आज सबैभन्दा ठूलो संकट आलोचनात्मक दृष्टिमा छ । जब विचारमा अस्पष्टता देखापर्छ, त्यहाँ उल्झनहरू थपिन पुग्छन् । आलोचनामा जति बौद्धिक स्पष्टता हुन्छ त्यति नै वैचारिक गहिराइ पनि । साहित्य जीवनको आलोचना हो । आज आलोचना जीवनको आलोचना नभएर अरुको आलोचना भएको छ । आलोचनाको संसार अन्ध आरोप– प्रत्यारोप र निन्दाले भरिएको हो या अन्ध प्रशंसाबाट । आलोचना गर्नु भनेको निन्दा गर्नु होइन । आलोचक निन्दक होइन ।
हाम्रो यहाँ आलोचनात्मक दृष्टि नै छैन । तर्क र सहृदयताको पनि व्यापक क्षय हुँदै गएको छ । अहिलेको समयमा विचारमा बहस र छलफल हुन छाडेको छ । पार्टी निकट साहित्यकार र लेखकहरू अनुशासनको नाममा बौद्धिकता गुमाइरहेका छन । अब तिनको ध्यान नयाँ साहित्य रचनातिर होइन कि कतै नयाँ राजनीतिक नियुक्ति पाइन्छ कि भनेर ढुकेर बसेको पाइन्छ । पार्टीको नेतालाई रिझाएर महत्त्वपूर्ण पद हासिल गर्न मरिहत्ते गर्नेहरूबाट देश र जनताले के आशा गर्ने ? अहिलेको समयमा समाजमा प्रश्नकर्ताहरूको खडेरी देखिन्छ । वर्तमान सत्ताको चरित्र कस्तो देखिन्छ भने ऊ प्रश्नकर्ताहरू जन्मेको देख्न चाहँदैन । उसलाई अन्धभक्तहरू मन पर्छ र चाहिन्छ । उसका कानले आलोचना होइन जयजयकार सुन्न चाहन्छ । सत्ताले जहिले पनि र जहाँ पनि आफ्नो वरिपरि अन्धभक्तहरू जम्मा गरेर राखेको हुन्छ । अन्धभक्तको काम भनेको शासक वर्गको जयजयकार गरेर आफ्नो स्वार्थ पूरा गर्नु हो । शासकले गरेको अपराधलाई ढाकछोप गरि सही छ भनी प्रमाणित गरि लालमोहर लगाउनु हो । उनीहरूसँग आफ्नो मौलिक विचार हुँदैन शासक वर्गको विचार नै उनीहरूको विचार हुन्छ । आफ्नो स्वतन्त्र र मौलिक विचार नभएपछि मान्छे मानसिक दासमा परिणत हुन्छ । यस्ता तत्वहरू देशका लागि निकै हानिकारक हुन्छन् र यिनैले नै देशलाई आर्थिक बर्बादीतिर धकेल्छन् ।
देशमा अहिले अन्धभक्तहरू होइन बागी चेतना भएका प्रतिभाहरूको आवश्यकता छ । बागीहरूसँग नवीन सोच, चेतना र दृष्टिकोण हुन्छ । देशलाई पश्चगमनतर्फ होइन कि अग्रगमनतर्फ लैजाने सोच हुनुपर्छ । अहिलेको यो गणतन्त्र ठिक भएन भनेर पुरानो व्यवस्थातिर फर्कने होइन कि योभन्दा अझ झन् राम्रो उच्चस्तरको वैज्ञानिक समाजवादको यात्रातर्फ लम्कनु नै उचित देखिन्छ । समाजवादले नै अहिले देखापरेका यी अन्तरविरोधहरूलाई हल गर्ने सामथ्र्य राख्दछ । साहित्यकारहरूले पश्चगमनको होइन कि अग्रगमनको वकालत गर्नुपर्दछ । यथास्थितिमा रहिरहने सोचले देशलाई अग्रगमनतर्फ होइन कि पश्चगमनतर्फ धकेल्छ । लेखक, साहित्यकारहरूमा आध्यात्मिक र पुरातन सोच होइन कि नवीन र वैज्ञानिक भौतिकवादी सोच एवं दृष्टिकोण हुनु जरुरी हुन्छ । विडम्बना यो छ कि लामो समयदेखि नै रचनाकारले सोच्दछन् कि आलोचकको कार्य हो उनीहरूका कृतिहरूको व्याख्या गर्नु । केही त आलोचकलाई आफ्नो प्रचारकभन्दा बढी बुझ्दैनन् अर्थात् सम्झँदैनन् । यो उनीहरूको साहित्यप्रतिको बुझाइको अभावको चिन्ह हो । जबकि एक आलोचक आफ्नो उचाइमा रचनाकार हुन्छ र एक रचनाकार आफ्नो उचाइमा आलोचक । साहित्यले भन्छ कि देख्न सिक्नुस् अर्थात् प्रश्न गर्नुस्, व्याख्या गर्नुस्, तर्क खोज्नुस् र कल्पना गर्नुस् । रचनाकारले प्रश्न गर्न र तर्क गर्न छाड्यो भने मान्नुस् उसको विचारको पनि मृत्यु भयो । त्यसकारण साहित्य लेखन र आलोचनात्मक दृष्टि एक आपसमा अन्तरसम्बन्धित र अन्तर्निहित छन् । यिनीहरूलाई एक आपसमा अलग गर्न सकिँदैन् ।
आलोचना गर्नुको अर्थ शत्रु बन्नु हो भन्ने मानसिकता हाम्रो समाजमा अहिलेसम्म पनि जबर्जस्तीरूपमा रहिआएको छ । जसले आलोचकलाई शत्रु मान्छन् तिनले समाजमा केबल पिछलग्गु मात्र उत्पादन भएको देख्न चाहन्छन् । लोकतन्त्रको मेरुदण्ड नै आलोचना हो र यही मेरुदण्डलाई नै भाँच्ने काम भइरहेको छ । आलोचनाले कमीकमजोरीहरूलाई सच्याउन सहयोग गर्दछ । साहित्य बफादार मस्तिष्कको सट्टा विद्रोही मस्तिष्कको रचना हो । साहित्य कुनै पनि युगमा सत्ताको पछाडि लाग्दैन । विज्ञानको दुनियाँमा यो उसको विशिष्टता हो । वास्तवमा साहित्यिक श्रेष्ठता र बौद्धिक स्वतन्त्रताको बीच गहिरो सम्बन्ध हुन्छ । लेखकसँग न्याय र अन्याय के हो ? भन्ने कुरा सुँघ्ने क्षमता हुनुपर्छ । रचनात्मकता मानिसको सामाजिक अस्तित्वको एउटा अनिवार्य हिस्सा हो । यो सभ्यतागत विकासको पनि चिन्ह हो । रचनात्मकताले नै मानिसलाई रुढीवाद र पूर्वाग्रहहरूबाट मुक्त गर्दछ । यसले मानिसको दृष्टिकोणमा व्यापकता ल्याउँछ र उसको अन्तरजगतलाई समृद्ध पार्छ । साहित्यको सिधा सम्बन्ध सभ्यता र भाषासँग छ । सामान्यतः भाषा तथा सिर्जनशीलताले साहित्यलाई जन्म दिएको हो ।









प्रतिक्रिया दिनुहोस्