सम्पादकीयः संयमता अपनाएर मनाऔँ तिहार



हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज लक्ष्मीपूजाको दिन । तिहार कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिने गरिन्छ । तिहारलाई दीपावली र दिवाली भनेर पनि भन्ने गरिन्छ । तिहारलाई नेपालमा धुमधामका साथ मनाइने गरिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरूले पनि तिहार पर्वलाई उल्लासमय तरिकाले मनाउने गर्दछन् । यही दिन भगवान् धनवन्तरीको जन्म जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भन्ने गरिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको छ ।यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु–गोवर्धन र भाइ पूजा गरिन्छ । तिहारमा हिन्दु धर्मावलम्बी नेपालीहरूले देउसी भैलो खेल्ने परम्परा रहिआएको छ । लक्ष्मीपूजाको दिनदेखि देउसी भैलो खेल्ने गरिन्छ ।

तिहारको पाँच दिनमध्ये तेस्रो दिन कात्तिक कृष्ण अमावश्या अर्थात् औँसीको दिन हो यो । यो दिनमा गाईको पनि पूजा गरिन्छ । राति धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यो दिन लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, श्रृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातोमाटोको प्रयोग गर्ने गरिनछ । राति लक्ष्मीको पूजा गरिसकेपछि देउसी भैलो खेल्ने प्रचलन रेहेको छ । गाउँगाउँ तथा टोलटोलका साथीभाईहरू मिलेर समूह बनाएर सामूहिकरूपमा देउसी भैलो खेल्ने गरिन्छ । तिहारले आफ्नै महत्व र पहिचान बोकेको छ । दाजुभाईहरूको आयु लामो होस् भनेर दिदीबहिनीहरूले निधारमा टीका र गलामा माला लगाइदिने गर्दछन् । लक्ष्मी पूजाको रातिबाट नै हिमाल, पहाड तथा तराईमा देउसी भैलो सुरु हुने गर्दछ । देउसी भैलो खेल्दा हरेक व्यक्ति सचेत र संयमित हुनु जरुरी छ । चाडबाडका नाममा मदिरा तथा नसालु पदार्थ सेवन गरेर झैझगडा गर्ने तथा ज्यानैसमेत जाने घटनाहरू हरेक तिहारका समयमा भएका पाइन्छन् ।

चाडबाड भनेको सबै जना मिलेर आफ्नो रीतिरिवाज, रहनसहन, संस्कार र संस्कृतिअनुसार मनाउनुपर्दछ । आफ्नो ऐतिहासिक संस्कार र संस्कृति तथा रीतिरिवाजलाई बचाइराख्न र निरन्तरता दिनका लागि पनि यो चाडको महत्व छ । देउसी भैलो खेल्दा उज्यालो समयमा मात्रै अर्थात् दिनको समयमा मात्र खेल्दा उचित हुन्छ । रातिको समयमा खेल्नुहुँदैन् । समूह समूहबीच झगडा हुने लडाइँ हुने गर्दा मानवीय क्षति हुनसक्छ । यसतर्फ गम्भीर हुनु जरुरी छ । एकले अर्कोलाई असर नपर्नेगरी खेल्नुपर्दछ । जाँडरक्सी खाने लागूपदार्थ खाने र देउसी भैलो खेल्ने गर्दा यसअघि कैयौँ ठाउँहरूमा एकआपसमा झगडा र लडाइँ हुँदा कैयौँको ज्यानसमेत गएका घटनाहरू छन् । यसतर्फ गम्भीर ध्यान दिनुपर्दछ ।

देउसी भैलोबाट उठेको रकमबाट समाजमा विकास तथा सकारात्मक कार्यमा खर्च गर्न सकिन्छ । सार्वजनिक ठाउँहरूमा विश्रामस्थल, स्कुललाई सहयोग, आफ्नो गाउँठाउँमा बाटोघाटोको निर्माण लगायतका विकासमा काममा उक्त पैसा खर्च गर्नसके अत्यन्तै राम्रो हुनेछ । साथै समाजमा रहेका अति विपन्न व्यक्ति तथा बिरामी भएका व्यक्तिहरूलाई उपचारमा सहयोग पनि गर्न सकिन्छ । अनुशासित भएर, एक पक्षले अर्को पक्षलाई असर नपारेर, सकारात्मक सोचबाट चाडबाड मनाउनु पर्दछ । प्रहरी प्रशासनले पनि देउसी भैलो खेल्ने समयसीमा तोकिदिनु आवश्यक छ । रातिको समयमा समाजमा अरुलाई असर पु¥याइनु हुँदैन् । तसर्थ सबैजनाले संयमता अपनाएर तिहार मनाऔँ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार