कलाकारहरूलाई राष्ट्रको गहनाका रूपमा चिनिन्छ । कलाकारहरूले आफ्ना विभिन्न कला, गला तथा सीपमार्फत समाजमा रहेका विभिन्न जातजाति, धर्म, सम्प्रदाय, रहनसहन, रीतिरिवाज, संस्कृति, संस्कार, भाषा, भेषभूषा, पहिचान लगायतसँग जोडिएका विषयहरूलाई बाहिर ल्याएर संसारभर फैलाउन मद्दत गरिरहेका हुन्छन् । कलाकारहरूले प्रस्फुटन गर्ने यस्तै विविध विषयहरूले गर्दा देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको हुन्छ । सायद यसैकारणले होला कलाकारहरूलाई राष्ट्रको गहनाका रूपमा चिन्ने गरिन्छ । आफ्नो कलामार्फत इतिहासदेखि हालसम्म कलाकारहरूले देशलाई चिनाइरहेका छन् । कलाकारहरूलाई राष्ट्रले चिन्न सक्नुपर्दछ । आवश्यक पर्दा सहयोग गर्न सक्नुपर्दछ ।समाजले पनि कलाकारहरूले सिर्जना गरेका विभिन्न विधा र कलालाई सम्मान गर्दै आवश्यक सहयोग गर्न आवश्यक छ । समाजमात्रै नभएर समग्र देशले नै कलाकारहरूले सिर्जना गरेका विषयहरूलाई गर्वका साथ सम्मान गर्न आवश्यक छ । बाँकेको नेपालगन्जका स्थायी बासिन्दा वरिष्ठ सञ्चारकर्मी एवम् वरिष्ठ लोकगायक कमल विके निर्माेही एउटा ऐतिहासिक नाम हो । निर्मोहीले समाजमा रहेका संस्कार र संस्कृतिसँग जोडिएका विभिन्न ऐतिहासिक लोकलय र लोकगीतलाई आम सर्वसाधारण नागरिकसमक्ष पस्किएका छन् । ति विषयहरूलाई उनले जीवन्त दिएका छन् । उनी लोकगायकसँगै असल कार्यक्रम उद्घोषक र सञ्चालकसमेत हुन् ।
उनको सुमधुर आवाजले आम मानिसलाई मन्त्रमुग्ध गराउँछ । वरिष्ठ कलाकार निर्मोही अहिले रोगसँग लडिरहेका छन् । दुवै मृगौलाले काम गर्न नसकेपछि निर्मोही यतिखेर ओछ्यान परेका छन् । यस्ता स्थानीय माटो र भाकामा आवाज दिएका ६६ वर्षीय वरिष्ठ कलाकार निर्माेही यतिखेर अस्वस्थ भएर ओछ्यानमा सीमित हुन पुगेका छन् । निर्माेहीको परिचयको समष्टि रुप उनको आवाज हो, वजनदार र नदीजस्तै सलल बग्ने आवाज । त्यो आवाज कहिले गीतमा सुनियो, कहिले रेडियो प्रस्तोताको रूपमा सुनियो, कहिले माइक्रोफोन हुँदै हजारौँ दर्शकहरूमाझ भव्य स्टेजहरूमा सुनियो । स्वरसम्राट नारायण गोपालले गीत गाएका स्टेजदेखि पछिल्लो पुस्ताका गायकहरूका स्टेजसम्म उद्घोषण गरेका र आफ्ना गीत सुनाएका निर्माेहीको जिब्रो अहिले सामान्य शब्दहरू उच्चारण गर्दा पनि लर्बराउने स्थितिमा पुगेको छ । उनी दुवै मृगौला काम नलाग्ने भएर उपचाररत अवस्थामा छन् । मान्छेहरू भेटिरहने, बोल्न मन पराइरहने, आवाज सुनाउन पाउँदा सबैभन्दा बढी खुसी हुने कलाकार निर्माेही यतिखेर अस्वस्थता र मानिसहरू माझबाट एक्लिनुको बोझमा छन् । उनले अपेक्षा गरिरहेका छन्, उनका सहृदयी र सुभेच्छुकहरूको साथ । मृगौला प्रत्यारोपणको सम्भावना खोजिरहेका निर्माेही आवश्यक परे आर्थिक साथको अपेक्षा पनि गरिरहेका छन् ।
अहिले हप्तामा दुईदिन डायलासिस गराइरहेका निर्माेहीले छोराछोरीहरूले उपचारमा भरमग्दुर साथ दिइरहेका छन् । तर, ठूलो रकम चाहिने भएमा त्यसका लागि सुभेच्छुकहरूले साथ दिने उनको अपेक्षामा हामी सबै मिलेर सहयोग गर्नु आवश्यक छ । मृगौला प्रत्यारोपणका लागि आवश्यक सहयोग गरी उनलाई पुनः यस क्षेत्रमा ल्याउन जरुरी छ । देशले पनि कलाको सम्मान गर्दै निर्मोहीको सम्पूर्ण उपचार खर्च व्यहोर्न आवश्यक छ । चाहिँदा देशको गहना भन्ने र नचाहिँदा वा नसक्ने अवस्थामा वास्ता नगर्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । सुमधुर आवाज निर्माेहीको पहिलो परिचय भएपनि उनी बहुप्रतिभाशाली कलाकार हुन् । उनको जति सुरिलो स्वर छ, त्यसभन्दा बढी उनको उद्घोषण कला प्रभावशाली छ । रेडियो हुँदै स्टेजसम्म उनको उद्घोषण कलाले मानिसहरू उनका प्रशंसक बन्ने गरेका थिए । तर त्यतिमात्रै होइन उनी सुरुमा वाद्यवादक पनि हुन् । निर्मोहीलाई प्रोत्साहन गर्न र आवश्यक सहयोग गर्नका लागि कला र कलाकारसम्बन्धी विभिन्न संघसंस्था, पत्रकारजन्य संघसंगठन, सामाजिक संघसंस्था तथा सरकारले मिलेर उनलाई रोगबाट जोगाउन आवश्यक छ । देश र समाजलाई अझै धेरै वर्षसम्म निर्मोहीको खाँचो छ । निर्मोही राष्ट्रका गहना हुन् । उनलाई सम्मान गर्दै आवश्यक सहयोग गरौँ ।









प्रतिक्रिया दिनुहोस्