गत शुक्रबारदेखि देशका विभिन्न भागमा मौसम सक्रिय हुनुका साथै ठूलो बर्सातसमेत भयो । विशेषगरी देशको मध्यदेखि पूर्वीभागमा बढी मौसम सक्रिय रह्यो र वर्षा पनि बढी भयो । जल तथा मौसम विभागले असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । जल तथा मौसम विभागले भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेलगत्तै सरकार र सरकारी संयन्त्र सक्रिय रहे । सरकारले नागरिकलाई एसएमएसमार्फत सन्देश प्रवाह गर्नुदेखि लिएर स्थानीय प्रशासनमार्फत बाढी, पहिरो तथा डुवानको उच्च जोखिम रहेका स्थानहरूमा यात्रा गर्न बन्देजसम्म गरायो । सुरक्षा निकायका अंगहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना तथा स्थानीय प्रशासन सक्रिय रहे। स्थानीय नागरिकहरूलाई सूचना प्रवाह गर्नेदेखि लिएर आवश्यक तयारी, उद्दार तथा व्यवस्थापनमा सरकार र सरकारी संयन्त्र अब्बल देखिए जसका कारण गत सालभन्दा यस वर्षको वर्षायाममा जनधनको कम क्षति भयो । आवश्यक पूर्वतयारीका साथै योजना कार्यान्वयन गर्नाले हुनसक्ने सम्भावित जनधनको क्षतिबाट कमैमात्रामा क्षति व्यहोर्नुप¥यो । सरकारले वर्षाका कारण हुनसक्ने क्षतिबाट नागरिकलाई जोगाउनका लागि विभिन्न उपायहरू अपनाएको पाइयो ।
सबैभन्दा प्रभावकारी मोबाइल फोनमा मितिसहित बाढी पहिरोको जोखिम भएका कारण सतर्क रहन नागरिकलाई अनुरोध गरेको सन्देश महत्वपूर्ण देखियो । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक जानकारी, सूचनाहरू अपडेट तथा अद्यावधिक गरियो जसका कारण एकातर्फ नागरिकहरू पनि सचेत बने भने अर्कोतर्फ क्षतिमा कम भयो । सम्भावित जोखिम क्षेत्रहरू पहिचान गरि उक्त क्षेत्रमा आवतजावत बन्द गर्नुका साथै लामो दूरीका सबै सवारीसाधनहरू बन्द गरियो जसका कारण पनि मानवीय क्षति कम भयो । सरकारले नागरिकलाई सचेत बनाउनुका साथै नागरिकलाई साथ लिएर सबै संयन्त्रहरू परिचालन गरेका कारण यस वर्ष क्षति कम भएको देखियो । सरकार विपद् व्यवस्थापनमा सफल देखियो । यसका बाबजुद पनि पूर्वी नेपालका केही जिल्लाहरूमा भारी वर्षाका कारण रातिको समयमा पहिरो जाँदा गाउँनै बग्ने अवस्थाको सिर्जना भयो भने दर्जनौँ नागरिकको दुःखद् निधन हुन पुग्यो । जुन अत्यन्तै दुःखद् हो । तर पनि यसअघिका सरकारभन्दा यो सरकारले विपद् व्यवस्थापनमा गरेका पहल सराहनीय देखियो । नागरिकप्रति उत्तरदायी बनेको देखियो ।
गत वर्षको दसैँकै समयमा काठमाडौँ जस्तो सुविधासम्पन्न ठाउँमा समेत तत्कालीन सरकारले नागरिकको ज्यान जोगाउन सकेको थिएन ।तत्कालीन सरकारको अदूरदर्शी कार्ययोजना र फितलो तयारीका कारण देशकै राजनधानी काठमाडौँ जस्तो सुविधासम्पन्न स्थानमा पनि दर्जनौँ, सयौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको थियो । तर अहिले भने त्यसतो अवस्था आउन पाएन । यस वर्ष बाटोघाटोमा अलपत्र परेका यात्रुहरूलाई स्थानीय प्रशासनको समन्वयमा होटल व्यवसायीहरूले समेत खाना तथा बास बस्नका लागि कम मूल्यमै व्यवस्थापन गरे ।यात्रुहरूलाई सम्भावित जोखिमबाट सफलताका साथ सुरक्षित उद्दार गरेको देखियो । प्रहरीहरू माइकिङ गर्दै फिल्डमै पुगेर यात्रुहरूलाई जानकारी तथा सचेतनामूलक सन्देश प्रवाह गरिरहेको देखियो जसले सम्भावित जोखिमलाई टा¥यो ।
प्रधानमन्त्रीदेखि मन्त्रीहरू फिल्डमै खटिएर सूचना प्रवाह गर्ने, अवस्थाको जानकारी लिने तथा उद्दार र राहतमा नागरिकसँगै खटिएको पाइयो ।प्रधानमन्त्रीले नागरिकका नाममा सार्वजनिक सम्बोधन गरेर यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न अपिल गर्दै नागरिकलाई सरकार भएको पूर्णरूपमा आश्वस्त पारको पाइयो । जुन अत्यन्तै सकारात्मक पक्ष थियो । सरकारले नागरिकप्रति देखाएको जिम्मेवारी, लिएको पहलकदमी तथा उत्तरदायी बनेको आभास बनाउनुका साथै आवश्यक पूर्वतयारीका साथ योजना बनाएर कार्यान्वय गर्दा जनधनको कम क्षति भएको देखिन्छ । छोटो समयमै सरकारले विपद् व्यवस्थापनमा देखाएको तदारुकतालाई सकारात्मक रूपमा लिन सकिन्छ । आगामी दिनहरूमा पनि सरकारले यसैगरी उल्लेख्य काम गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्