कवाडी वैज्ञानिक मन्त्रीको आत्मकथा र अपेक्षा



जीतबहादुर शाह

राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महावीर अहिले नेपालको अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा भर्खर मात्र नियुक्त भएका छन् । उनकै शब्दमा भन्नु पर्दा उनी अहिले कवाडी वैज्ञानिक मन्त्री बनेका छन् । सरकारले वीरगञ्जको कृषि औजार कारखानाको मर्मत र पुनस्थापनाका लागि बजेट नदिएपछि आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गरेर कृषि औजार कारखानाको मर्मत गर्ने चक्करमा लागेका थिए । यस्तै बेला उनलाई मन्त्री हुने मौका जुरेको छ ।

पत्रकारहरूले ‘मन्त्री भएपछि तपाईँले के गर्ने योजना बनाउनु भएको छ ?’ भनेर प्रश्न सोध्दा जवाफ दिने क्रममा भनेका पनि छन्– ‘किताब बेच्दै हिँडेको मान्छेलाई मन्त्री बनाइदिएपछि के योजना बनाउनु ? सबैभन्दा पहिले मन्त्रालयमा गएर केकस्तो काम गर्नुपर्ने हो त्यो बारेमा बुझ्ने योजना छ ।’ उनले मन्त्रालयमा गएर गरेका एकदुईवटा निर्णयहरू बाहिरिएका पनि छन्– जस्तै माध्यमिकदेखि उच्च शिक्षासम्मका नतिजा प्रकाशनका कार्यहरू परीक्षा सम्पन्न भएको बढीमा तीन महिनासम्म गरिसक्नुपर्ने, अन्यथा अनुदान रोक्का गरिने, हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गर्ने आदि आदि ।

मन्त्री पुन सादा जीवन उच्च विचारका मान्छे हुन् । पसिना पुछ्दै र चप्पल पड्काउँदै पुस्तक बेच्न हिँडिरहेका दृश्यहरूले उनको जीवनशैलीलाई जोकोहीले बुझ्न सक्ने अवस्था छ । आफ्नो आत्मकथामा पनि लेखेकै छन्– ‘मैले सधैँ अरुहरूले दिएकै लुगा लगाउने गर्छु । आफूले किनेर लगाउन छोडेको त धेरै भइसक्यो ।’ उनी आफ्नो पुस्तक बिक्री गर्ने क्रममा पश्चिम नेपाल आउँदा उनीसँग साक्षात्कार हुने अवसर पनि यो पङ्क्तिकारले पाएको थियो । साक्षात्कारको क्रममा उनले भनेका थिए– ‘नेपाल आविष्कार केन्द्र सरकारसँग भएको सहमतिको आधारमा वीरगञ्ज कृषि औजार कारखाना पुनस्थापना गर्ने क्रममा छ । धेरै काम भइसक्यो । अहिलेसम्म डेढ करोड जति खर्च भएको छ । भुक्तानीका लागि कागजातहरू लिएर जाँदा प्रक्रिया पुगेन, यो भएन, त्यो भएन भन्छ सरकारले । त्यही भएर यो किताब बेचेर आएको रकमबाट कृषि औजार कारखाना पुनस्थापना गर्ने अभियानमा लाग्नुप¥यो ।’

किताब पढेपछि बोध भयो, उनले यी सबै कुरा आत्मकथामा बकेका रहेछन् । तीन करोड नेपालीमध्ये तीन लाख नेपालीले मात्र यो किताब किनिदिएमा सबै खर्च कटाएर पन्ध्र करोड बचाउन सकिन्छ र उक्त रकमले वीरगञ्ज कृषि औजार कारखानालाई पुनस्थापना गर्न सकिन्छ भन्ने उनको तर्क छ । उनी लक्ष्यको नजिक पनि पुग्न लागेको अवस्था छ । दुई लाख जति बिक्री भइसकेको कुरा उनी आफैँले पनि बकिसकेका छन् । यो लेखको उद्देश्य हामीले कस्तो व्यक्तिलाई शिक्षामन्त्रीको रूपमा पायौँ र उनको पुस्तकमा के छ भन्ने कुरालाई उल्लेख गर्नु रहेकोले यो लेख त्यसैअनुसार अघि बढ्छ ।

पुस्तक संघर्ष र साहसले भरिएको छ । गाउँ (म्याग्दी)को विद्यालयमा अध्ययन गर्दा कक्षा ७ सम्म पनि पुस्तकबिनै अध्ययन गरेको महावीर पुनको कथाले त्यतिबेलाको शैक्षिक अवस्था कस्तो थियो भन्ने कुरा झल्किन्छ । कक्षा ८ अध्ययन गर्न चितवन आउँछन् । चितवनबाटै एसएलसी पास गर्छन् । पछि उनका बुबालगायत परिवारहरू पनि चितवनमै बसाइँसराइ गरेर आउँछन् । एसएलसी गरेपछि त्रिचन्द्र कलेजमा अध्ययन गर्छन् र आइएससी गरेपछि चितवनकै दिव्यनगर र खैरहनी हाइस्कुलमा शिक्षक भएर काम गर्छन् । त्यतिबेला उनको मात्र होइन कुनै पनि विद्यालयमा विज्ञान प्रयोगशाला थिएन ।

उनले त्यतिबेलै खैरहनी हाइस्कुलमा अध्यापन गर्दा विद्यालयमा बेसारखेती, बङ्गुरपालन, माछापालन जस्ता आयआर्जनका काम गरेर आएको रकमबाट विज्ञान प्रयोगशाला स्थापना गर्छन् । तिहारमा भैली खेलेर आएको रकम पनि विज्ञान प्रयोगशाला निर्माणका निम्ति लगानी गर्छन् । पछि जिल्लामै उनले अध्यापन गर्ने विद्यालय गुणस्तरीय शिक्षा दिने सवालमा अब्बल मानिन्छ । एसएलसी परीक्षा सञ्चालनको क्रममा त्यतिबेलाको सिडिओसँग ठाकठुक परेपछि भने उनलाई अपमान बोध हुन्छ र १३ वर्षसम्म गरेको शिक्षण पेशा छोडेर काठमाडौँतिर हानिन्छन् । यही समयमा उनलाई अमेरिका जाने भूत चढ्छ र एकोहोरो लागिरहन्छन् ।

उनले काठमाडौँ बसेर अमेरिका जाने लक्ष्य पूरा गर्नका लागि हरेक दिन अमेरिकन ल्याइब्रेरीमा जान्छन्, अध्ययन गर्छन् र छात्रवृत्तिको व्यवस्था गरिदिनका लागि सयभन्दा बढी विश्वविद्यालय र ठुलठुला नाम कमाएका मानिसहरूको ठेगाना खोजेर चिट्ठी पठाउँछन् । यस्तै एउटा पत्र एपोलो ११ का कमाण्डर र चन्द्रमामा पाइला टेक्ने पहिलो अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङलाई ‘मलाई अमेरिकामा छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था मिलेमा अध्ययनपछि नेपाल फर्केर नेपालमै अपोलो ग्रुप अफ इन्स्टिच्युसन्स् नामबाट इन्जिनियरिङ, मेडिकल र नर्सिङ कलेजहरू खोल्ने सपना छ’ भनेर चिट्ठी लेख्छन् ।

जवाफमा निल आर्मस्ट्रङको सहयोगी भिभियन ह्वाइटले लेखेको जवाफ आउँछ,– ‘मिस्टर आर्मस्ट्रङ तपाईँको पत्र र नेपालको ग्रामीण शिक्षाको गुणस्तर सुधार्ने तपाईँको योजनाका लागि धन्यवाद दिनु भनेर मलाईँ भन्नुभएको छ । शिक्षाको महत्वपूर्ण साँचो भनेको एकदमै उत्प्रेरित शिक्षक हो भनेर मिस्टर आर्मस्ट्रङ विश्वास गर्नुहुन्छ । संसारभरिबाट सहयोगका लागि लेख्नेहरू सबैलाई आर्थिक सहायता दिन सक्ने स्थितिमा छैनौँ, तर पनि तपाईँको निरन्तर सफलताका लागि हामी हौसला र धेरै धेरै शुभकामना दिन चाहन्छौँ ।’ उनले अमेरिकन लाइब्रेरीमा गएर अध्ययन गर्ने क्रममा फ्रान्सका प्रसिद्ध विज्ञान कथा लेखक जुल भर्नले लेखेको ‘अराउण्ड द वल्र्ड इन एइटी डेज (असी दिनमा संसारको एक फन्को)’ नामको अंग्रेजी उपन्यास पढ्छन् । त्यस उपन्यासको काल्पनिक पात्रले उनलाई अमेरिका भ्रमणका लागि अझै उत्साहित बनाउँछ ।

यस्तैमा अमेरिकाको नेब्रास्काको कर्नी स्टेट कलेजबाट त्यहाँको प्राध्यापक डा. लियोनार्ड स्कोभबाट एउटा आशलाग्दो पत्र आउँछ । त्यसपछि उनी भिसा बनाउने र अमेरिकाको उक्त कलेजसम्म पुग्नका लागि पैसा जुटाउने काममा लाग्छन् । आफन्त र सबैको सहयोगले यी सबै काम पूरा गरेर कहिल्यै एयरपोर्टमा पाइला टेक्ने अवसर नपाएका महावीर पुन २०४५ साल पुस १६ गते अमेरिकाका लागि उड्छन् । मेलोमेसो नपाएर थाइल्याण्डको ट्रान्जिट फ्लाइट छुट्छ र त्यो दिन बैङ्ककको होटेलमा बसेर अर्को दिन अमेरिकाको लागि उड्छन् । अमेरिकाको डेनभर विमानस्थलबाट नेब्रास्का जाने ट्रान्जिट फ्लाइटमा पनि आफ्नो सामान खोज्दाखोज्दै छुटाउँछन् र भोलिपल्टको फ्लाइटमा नेब्रास्का उडेर त्यही दिन कलेजको होस्टेलमा पुग्छन् ।

जीवनको लक्ष्य पूरा भएको उपलक्ष्यमा होस्टेलमा पन्ध्र घण्टा सुत्छन् जुन उनको आत्मकथामा लेखिएको छ । उनी अमेरिका पुग्नेबित्तिकै उनलाई छात्रवृत्तिका लागि चिट्ठी लेख्ने प्रा.डा. स्कोभ उनलाई भेट्न आउँछन् । भलाकुसारी हुन्छ । भलाकुसारीको क्रममा डा. स्कोभ भन्छन् – ‘मैले तिम्रो देश नेपाल भूगोलको हिसाबले सुन्दर छ भन्ने कुरा भूगोलको प्राध्यापकबाट सुनेको थिएँ । सुन्दर देशको र त्यसमा पनि तेह्र वर्ष शिक्षण पेशा गरेको मान्छे कस्तो होला भन्ने सोची हेर्न मन लागेर छात्रवृत्तिको व्यवस्था गरी अध्ययन गर्न बोलाएको । किनभने यसअघि यो विश्वविद्यालयमा कोही पनि नेपाली विद्यार्थी अध्ययन गर्न आएको छैन ।’ अमेरिकामा गएर पढ्ने बाहेक महावीर पुनले अरु केही काम गर्दैनन् ।

साइन्स लिएर अध्ययन गर्छन् । टाइप गर्न नजानेको र अग्रेजी भाषाको कारणले सुरुसुरुमा केही समस्या हुन्छ । तथापि उनले कतै नलागी एकोहोरो अध्ययनमा जुटेपछि हरेक परीक्षामा जिपिए चार ल्याउन सफल हुन्छन् र तोकिएकै समयमा उनको अध्ययन सकिन्छ । उनी अमेरिकाबाट ब्याचलर डिग्री सकेर २०४९ सालमा नेपाल फर्किन्छन् । नेपाल फर्केर घुम्दै फिर्दै आफू जन्मेको थलो म्याग्दीको नाङ्गीमा जान्छन् । त्यतिबेला उनी अध्ययन गरेको विद्यालय हिमाञ्चल मिडिल स्कूललाई हाइस्कुल बनाउने छलफल चलिरहेको हुन्छ । गाउँलेले उनीबाट पनि के सहयोग गर्न सकिन्छ भनेर प्रस्ताव राख्छन् । पुनले म दुई वर्षसम्म कुनै पारिश्रमिक नलिएर पढाइदिन्छु भनेर बचन दिन्छन् । एवम् रितले उनी अब विद्यालयकै विकासका निम्ति अहोरात्र खट्छन् ।

विद्यालयको आयस्रोत बढाउनका लागि प्लाष्टिकको टनेलमा टमाटर खेती, गाउँको मेलामा ममः बनाएर बेच्ने, आरुबखडाबाट जाम बनाउने, पर्यटकहरूलाई बस्नका लागि क्याम्पिङ स्थल बनाउने, अङ्गोरा जातको खरायो पालेर त्यसको ऊन बेच्ने, गाउँमै हाते कागज बनाउने, माहुरीपालन र माछापालन गर्ने, गाईको दूधबाट चिज बनाउनेजस्ता कामहरू गरे । उनी यस्ता काममा कतै सफल पनि भए र कतै असफल पनि । एकपटक उनले चिनेका साथीहरू अमेरिकाकाबाट उनलाई खोज्दै नाङ्गीसम्म पुगे । त्यहाँ विद्यार्थीहरूले होस्टेलमा टुकीको बत्तीमा अध्ययन गरिरहेको देखेपछि विद्युत् निकाल्नका लागि एक किलोवाटको माइक्रो हाइड्रो जेनेरेटर किनिदिने बचन दिए । तत्पश्चात् केही समयपछि विद्यालयदेखि दुईसय मिटर तलको ठाडो खोलामा उक्त जेनेरेटर जोडेर बिजुली बत्ती बल्यो र बिजुली बत्तीको उज्यालोमा पढ्न पाउँदा विद्यार्थीहरू खुसी भए ।

विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्नका लागि केही स्रोत जुटाउन सकिन्छ कि भनेर उनी पुनः अमेरिका जान्छन् र नेब्रास्का अध्ययन गर्दाका साथी र शिक्षकहरूसँग भेट्छन् । त्यहाँबाट फर्किँदा पुराना बिग्रिएका कम्प्युटरका पाटपुर्जा बोकेर आउँछन् । नाङ्गीमा पुगेर ती कम्प्युटरका पाटपुर्जाहरूलाई काठको फ्रेम (बाकस) बनाएर जोड्छन् र कम्प्युटरहरूले काम गर्न थाल्छन् । त्यतिबेला पोखरातिर इन्टरनेट र इमेलले काम गथ्र्यो तर नाङ्गीसम्म यो सुविधा विस्तार भएको थिएन । महावीर पुनको नेतृत्वमा उनको टिमले पोखराबाट चौँतिस किमी टाढा रहेको मोहरे डाँडामा टावर राखेर त्यहाँबाट छ किमि टाढाको नाङ्गीको हिमाञ्चल हाइस्कुलका विद्यार्थीहरू र त्यहाँका मानिसहरूले इन्टरनेट र वाइफाइ चलाउन थाल्छन् ।

त्यो कुरा नेपाल सरकारलाई चासो नभए पनि विविसी समाचारका अनुसार त्यही समयमा बेलायतका एकजना सांसदले बेलायतको संसद्मा आवाज उठाउँछन्– ‘नेपालको हिमाली क्षेत्रमा बस्ने चौरी गोठालाहरूले इन्टरनेट चलाउन पाउँदा पनि स्कटल्याण्डको उच्च पहाडी भागमा बस्ने बासिन्दाहरूले किन इन्टरनेट चलाउन पाइरहेका छैनन् ।’ विविसीलगायत बेलायतको संसद्मा समेत नाङ्गीमा इन्टरनेट पुगेको कुरा उठेपछि मिडियाका पोर्टलहरू उक्त समाचारले भरिन थाल्छन् र उनलाई सम्मान र पुरस्कार दिनेको लर्को लाग्छ । म्यागासासे पुरस्कारबाट प्राप्त रकम उनले हिमाञ्चल हाइस्कुलको आयआर्जनको उद्देश्यले पर्यटकहरूका निम्ति निर्माण हुन थालेको सामुदायिक लजमा खर्च गर्छन् । उनले अध्ययन गरेको युनिभर्सिटी अफ नेब्रास्काले उनलाई अनरेरी डक्टरेरी उपाधीले सम्मान ग¥यो । त्यसैगरी क्यानडाले जोनाथन बि. पोष्टेल सर्भिस अवार्ड दियो भने अमेरिकाको इन्टरनेट सोसाइटीले अवार्ड इन्टरनेट हल अफ फेम दियो ।

त्यसैगरी नेपाल सरकारले दिएको उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक थियो । पछिपछि त उनले मलाई दिने पुरस्कारहरू आविष्कार केन्द्रलाई दिनु भनेर पनि अनुरोध गरेका थिए । उनका कतिपय योजनाहरू त्यत्तिकै कार्यान्वयन नभएर पनि थन्किएका छन् त्यस्ता योजनाहरूमध्ये पर्वत जिल्लाको लोप्रे गाउँ नजिकैको नाङ्गै रहेको फलामे डाँडालाई अष्ट्रेलियाको गुराँस पार्कबाट सात सयभन्दा बढी जातका गुराँसहरू ल्याएर गुराँस पार्क बनाउने र पर्यटकहरूको सुरक्षाका निम्ति उनीहरू पुगेको स्थानको जानकारी दिने गरी मेसिनको प्रयोग गर्ने कुरा अन्तिम चरणमा पुग्दा पनि कार्यान्वयन हुन सकेका छैनन् ।

अहिले महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्ज कृषि औजार कारखाना पुनस्थापना गर्ने अभियानमा अथक र अनवरतरूपमा लागिरहेको बेला मुलुककै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुने शौभाग्य पनि पाएका छन् । उनले मन्त्रालयमै डेरा गरेर पूरै समय मन्त्रालयको काममा खट्ने कुरा पनि सार्वजनिक गरिसकेका छन् । उनी वैज्ञानिक हुन् र स्वभाव पनि त्यस्तै छ, कुनै एउटा काममा लागेपछि फत्ते नगर्दासम्म लागिरहने । अहिले शिक्षा सचिव पनि शिक्षा बुझेका र शिक्षा सेवा र शिक्षा पृष्ठभूमिकै कर्मचारी छन् । उनको आत्मसंस्मरणमा अधुरा भनी उल्लेख गरेका कतिपय कार्यहरूका निम्ति सामान्य बजेटको जोहो गरेर पनि अगाडि बढाउन सक्ने अवस्था छ । निल आर्मस्ट्रङले चिट्ठीमा पेशाप्रति समर्पित एउटा शिक्षकले शिक्षामा धेरै गर्न सक्छ भनेझैँ शिक्षण पेशामा अन्तरमनदेखि समर्पित हुने चाह भएका व्यक्तिहरूलाई शिक्षण पेशामा आकर्षित गर्नका लागि शिक्षक सेवा आयोगको पाठ्यक्रममा समेत संशोधन गर्न जरुरी छ, मुलुकभरिका शिक्षक दरबन्दीहरूलाई मिलान गर्न जरुरी छ ।

शिक्षकका राजनीतिक आस्थाका आधारमा खोलिएका संघसंस्थाहरूको कारणले शिक्षामा सुशासनको प्रत्याभूति हुन नसकेको अवस्था छ । कतिपय आधारभूत तहका कक्षा १–३ सञ्चालित विद्यालयहरूलाई समायोजन गर्दा समस्या पर्ने हो भने एक शिक्षकीय विद्यालयरूपमा पनि शिक्षकलाई विशेष सुविधा दिएर सञ्चालन गर्नुपर्ने देखिन्छ । सत्तरी वर्षको पुग्न लाग्दा पनि आफ्नो घर नभएर डेरामा बसिरहँदा पनि पोखरामा डेरामा बसिरहेका पत्नी ओममाया र छोरीहरू जुना र झर्नाको कुनै गुनासो छैन, बरु गर्व गर्छन् । उनले आफ्नो किताबमा नेपाल सरकारले अनुसन्धान र अन्वेषणमा सरकारले लगानी नबढाउँदासम्म देशले प्रगति गर्न सक्दैन भनेका छन् । उनले त्यो भनेको मेरो बुझाइमा शिक्षामा लगानी बढाउनु भनेको हो । यत्तिबेला आपैmँ मन्त्री हुँदा यसबारेमा केही थिति बसाल्नसके राम्रै हुन्थ्यो ।

उनका पुस्तकको अन्तिम पृष्ठमा डायन आर्मस्ट्रङको किताबबाट साभार गरी लेखिएको छ– ‘हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त्य हुने छैन । अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे, गाउँका बालबालिकाहरूलाई शिक्षित बनाउनु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरुवात गर्नु ।’ मन्त्री महावीर पुनले नेपालीहरूलाई गरिबीको दुश्चक्रबाट मुक्ति दिलाउने हो भने यतिबेला सपना पूरा गर्न नसके पनि नीति र कार्यक्रमहरूमा सपनाको बिरुवा उमार्ने कामको थालनी गर्नुपर्छ भन्ने लाग्छ । बाँकी हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार