सम्पादकीयः बजार अनुगमन आवश्यक



नेपालीहरूका ठूला चाडपर्वहरूमध्ये दसैँ सुरु भइसकेको छ । दसैँलाई सबैभन्दा ठूलो मानिन्छ । बजारमा विभिन्न खाद्य लगायतका उपभोग्य सामग्रीहरूमा मिसावट हुनुका साथै कालोबजारीसमेत चाडबाडका समयमा हुने गर्दछन् । देशको पछिल्लो अवस्थाका कारण कैयौँ ठाउँमा कालोबजारी गर्न पल्केका व्यापारीहरूले फाइदा लिँदै आएका पाइन्छन् । अवस्था हेरिकन कालोबजारी गर्न पल्केका व्यापारीहरू उपभोक्तालाई ठग्न तम्सिहाल्छन् । देशको हालको यो परिवेशमा देशका ठूला सहरहरूमा उपभोग्य सामग्रीमाथि मूल्यमा वृद्धि भएका समाचारहरू विभिन्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ । बजार अनुगमन गर्नका लागि जिल्लामा जिल्ला प्रशासन कार्यालयलगायतका विभिन्न सरोकारवाला संघसंस्थाहरू क्रियाशील रहेका हुन्छन् ।

तर, बाँकेमा पछिल्लो समयमा धेरै लामो समयसम्म बजार अनुगमन भएको पाइँदैन् । जसका कारण कालोबजारी गर्ने व्यापारीहरूले आफू मनलाग्दी मूल्यमा वृद्धि गर्नुका साथै अस्वस्थकर उपभोग्य सामग्री जबरजस्ती उपभोक्तामाथि थोपर्दा स्वास्थ्य समस्यादेखि चर्को मूल्य तिरेर उपभोग सामग्री खरिद गर्न उपभोक्ता बाध्य देखिन्छन् । चाडबाडका समयमा विशेषगरी माछामासु, दाल, तेल, चामल, तरकारीजन्य वस्तु, मसला, मिठाइजन्य वस्तु, पानीलगायतका दैनिक उपभोग्य वस्तुहरूको समयमा मूल्य ह्वात्ते बढ्ने गर्दछ । मूल्य मात्रै नबढाएर सडेगलेका, म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तुहरू बिक्री हुने गर्दछन् । जसका कारण आम उपभोक्ताको स्वास्थ्यमा दीर्घकालीनरूपमा समेत गम्भीर समस्या देखा पर्ने र बिरामीसमेत हुने गरेका छन् ।

तसर्थः तत्काल बजार अनुगमन गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र जीवनमा थि खेलबाड गर्ने त्यसता व्यापारीहरू पाइएमा नियमानुसार कारबाही गर्न सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण जरुरी छ । कालोबजारी नियन्त्रण गर्नका लागि मूख्यतः स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकार, उद्योगी व्यापारीका विभिन्न संस्थाहरू, अधिकारकर्मी, नागरिक समाज, उपभोक्ता हित संरक्षणसम्बन्धी काम गर्दै आएका विभिन्न संघसंस्थाहरू क्रियाशील भएर बजार अनुगमनलाई तीव्रता दिन आवश्यक छ । म्याद नाघेका, गुणस्तरहीन, हानिकारक वा भ्रामक विवरणमा दिइएका वस्तु वा सेवा बिक्री वितरण, कृत्रिम अभाव सिर्जना, अनावश्यक मूल्य वृद्धि, अनावश्यक मुनाफाखोरी कार्य, नक्कली वा भ्रामक विज्ञापन, नापतौलका यन्त्रमा कैफियतलगायतका कार्य गरेर उपभोक्तालाई ठगी गर्ने व्यापारीहरूविरुद्ध सरोकारवालाहरूले तत्काल एक्सन लिन आवश्यक देखिन्छ । आम सर्वसाधारण उपभोक्ता पनि सामग्री खरिद गर्दा सचेत हुनु पनि आवश्यक छ ।

सामग्री खरिद गर्दा खरिद गर्ने वस्तुमा मूल्य सूची, उत्पादन र म्याद सकिने मितिलगायत हेरेर मात्र उपभोक्ताले खरिद गर्नुपर्दछ । यदी कुनै कैफियत देखिएमा तत्काल स्थानीय प्रशासनलगायतका सम्बन्धित सरोकारवाला निकायमा उजुरी दिन पनि सक्नुपर्दछ । उपभोक्ता आफैँ जागरुक भए धेरैमात्रामा कालोबजारीबाट हुनसक्ने क्षतिबाट बच्न सकिन्छ । सम्बन्धित सरोकारवाला निकायले पनि आम सर्वसाधारण नागरिकलाई सचेत र जागरुक गराउनका लागि विभिन्न कार्यक्रमहरूसमेत गर्न र गराउन जरुरी छ । खाद्य वस्तुमा मात्रै नभएर औषधिजन्य वस्तुहरूमा समेत कालोबजारी हुने गरेको पाइन्छ । म्याद सकिएका औषधि बिक्री, तोकिएको मूल्यभन्दा बढी मूल्य लिइनु लगायतका कारणबाट औषधिजन्य वस्तु उपभोग गर्ने उपभोक्ताहरू पनि ठगिदै आएका पाइन्छ । यसतर्फ पनि गम्भीर हुनु जरुरी छ । माछामासु पसलहरूले पनि चाडपर्वका बेलामा मौकामा चौका हानेका पाइन्छन् ।

चाडबाडका समयमा बढी खरिदबिक्री हुने मासुजन्य वस्तुमा मिसावट, बासी र सडेगलेका माछामासु बिक्री, भारतबाट ल्याइएका प्रतिबन्धित मासुजन्य वस्तुको बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा समेत खेलबाड गरेका पाइन्छन् । चाडबाडका समयमा अर्को धेरै खरिदबिक्री हुने वस्तु भनेको मिठाइजन्य वस्तु हो । मिठाइजन्य वस्तु चाडबाडका समयमा अन्य समयमाभन्दा बढी खपत हुने गर्दछ । यसमा अखाद्य पदार्थको मिसावट, म्याद सकिएका वस्तुको मिसावट तथा धेरै बासी भएका पदार्थहरू मिसावट गरेर आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको हुन्छ । जसका कारण उपभोक्ताहरू दीर्घकालीन रोगी बन्नुका साथै आर्थिकरूपमा पनि घाटा व्यहोर्न बाध्य हुन्छन् । तसर्थः स्थानीय प्रशासनलगायतका सम्बन्धित सरोकारवालाहरूले गम्भीर भएर बजार अनुगमन गरि उपभोक्तालाई ठगिनबाट जोगाउन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार