सम्पादकीयः सामाजिक सद्भावका साथ चाडबाड मनाऔँ



आज दसैँँको सुरुको दिन घटस्थापना । घटस्थापनासँगै नेपाली हिन्दुहरूको महान् तथा ठूलो पर्व विजया दशमी अर्थात् दसैँँ सुरु भएको छ । दसैँसँगै तिहार तथा छठजस्ता अन्य ठूला चाडबाडहरू पनि नजिकिएका छन् । नेपालमा विभिन्न धर्म, जातजाति, सम्प्रदायहरू मिलेर बसेका छन् । हरेक धर्मावलम्बीहरूले एकअर्काका चाडबाडहरूप्रति अपनत्व जनाउँदै सँगै मिलेर मनाउँदै पनि आइरहेका पाइन्छ । चाडपर्व सामाजिक सम्बन्ध र साँस्कृतिक सौहाद्रताको धरोहर पनि हो । एउटै समाजमा रहने विभिन्न धर्म, जाति, सम्प्रदायले एकअर्काका चाडपर्वका बारेमा जानकारी पाउन र साथसाथै मनाउन पाउनु सराहनीय विषय हो ।

यसले एउटै समुदायमा बस्ने विभिन्न धर्म, जाति तथा सम्प्रदायलाई एउटै छानामुनि राख्न मद्दत गर्दछ भने भाइचारा सम्बन्ध पनि कसिलो हुन्छ । यस्ता चाडपर्वहरूले सामाजिक सम्बन्ध र साँस्कृतिक सौहाद्रता, सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याउँछ । नेपाल विभिन्न चाडपर्व, धार्मिक एवम् साँस्कृतिक रीतिरिवाज भएको मुलुक भएको हुँदा यी प्रत्येक धार्मिक र साँस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने नेपालीपनको आफ्नै सद्भावयुक्त रहेको पाइन्छ । यस परम्परालाई निरन्तरता दिँदै जीवित बनाउँदै जानु आवश्यक छ । दसैँँ लगायतका ठूला चाडपर्वहरूका आफ्नै संस्कार, संस्कृति र मान्यता रहेका छन् ।

यी पर्वहरूलाई धार्मिकरूपमा मात्र नभएर साँस्कृतिक रूपमा सबैका लागि साझा रूपले मनाउन आवश्यक छ । जसका कारण समाजमा सामाजिक सद्भाव कायम हुन सकोस् । यी चाडबाडमा हुने र देखिने गरेका धेरै संस्कार, संस्कृति र परम्परा पछिल्ला वर्षयता हराउँदै जान लागेका छन् । नेपाली समाजमा यी चाडबाडहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नयाँ पुस्ताहरूलाई नेपाली चाडपर्वका रहनसहन, इतिहास, संस्कार, संस्कृतिका बारेमा समुदायका अगुवाहरूले अवगत गराउनु जरुरी छ । पछिल्ला नयाँ पुस्तालाई पुस्तान्तरण गर्न आवश्यक छ । नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राज्य हो ।

यहाँ हिन्दु, बौद्ध, इस्लाम, किरात, इसाईलगायतका धर्म मान्ने विभिन्न समुदाय र विभिन्न जातजाति रहेका छन् । नेपालमा बसोबास गर्ने सबै जातजातिको आआफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । सबै चाडपर्वका आआफ्नै महत्व र इतिहास रहेका छन्। आजबाट सुरु भएको दसैँँ पर्वको आफ्नै महत्व रहेको छ । दसैँँका अवसरमा रोजगारी, व्यापार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर तथा देश बाहिर गएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आआफ्ना घरमा फर्कने, गाउँघरमा रमाइलो गर्ने, मिठो मसिनो खाने, दसैँँको टीकाका दिनमा मान्यजनका हातबाट टीका र आर्शीवाद ग्रहण गर्ने प्रचलन रहेको छ ।

त्यसैगरी आजकै दिनदेखि विभिन्न स्थानमा रहेका कोटघरहरूमा सरसफाइ गरेर नित्य पूजाआजा गर्न सुरु गरिनछ । पूर्णिमाका दिनसम्म गरिने पूजाआजाका लागि आजैबाट ती कोटघरहरूमा ब्राह्मण, पुजारीदेखि त्यहाँ बस्ने आवश्यक सबै बन्दोबस्त पनि गरिन्छ । चाडपर्व आउँदा सबैमा एकखालको उत्साह तथा उमंग देखिन्छ । सबैजना हासीखुसी भएर एकआपसमा खुसीयाली साटासाट गर्दै एकले अर्काप्रति आदर र सम्मान व्यक्त गर्दै सामाजिक सद्भाव कायम गर्दै चाडपर्वहरू मनाउन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार