कोहलपुर–३ मा दुई कार्यकाल अध्यक्ष निर्वाचित भएका रिजालले भदौ २४ गते राजीनामा दिएका थिए । राजीनामा घोषणा गरेयता उनी जनप्रतिनिधिको रूपमा कुनैपनि औपचारिक काममा सक्रिय छैनन् । केही दिनमा वडा र नगरपालिकामा औपचारिक राजीनामा दिने तयारी गरिरहेका उनलाई राजीनामा फिर्ताको दबाब छ ।
शुभाकर विश्वकर्मा ।कोहलपुर (बाँके) ।
यही भदौ २४ गते कोहलपुर–३ का वडाअध्यक्ष माधव रिजालले फेसबुकमार्फत राजीनामा घोषणा गरे । भदौ २३ गते जेनजी आन्दोलनमा सरकारले बर्बरतापूर्वक १९ जनाको हत्या गरेपछि देश रुवाएर आफू वडाध्यक्ष पदमा बस्न नहुने भन्दै राजीनामा दिएका थिए । फेसबुकमा उनले लेखेका थिए, ‘युवाहरूले देशप्रतिको माया र भविष्यको चिन्ता लिई भइरहेको आन्दोलनले नयाँ निकास दिनुपर्ने माग गर्दैगर्दा म त्यस्को सम्मान गर्दछु । आदरणीय वडावासीहरूमा हालसम्म यहाँहरूले देखाउनु भएको माया र स्नेहा समर्थनको लागि धन्यवाद ।’
अवोध भाइबहिनीको अन्योल स्थिति र वर्तमान स्थितिलाई मध्यनजर गर्दै देश रुवाएर आफू वडाध्यक्ष पदमा बसिरहन सही नहुने निष्कर्षमा पुगी पदबाट राजीनामा दिएको उनको भनाइ थियो । उनले राजीनामा घोषणा गरेको ६ दिन पुगेको छ । त्यसयता उनी जनप्रतिनिधिका रूपमा कुनै पनि कार्यमा सक्रिय भएका छैनन् । आन्दोलनका क्रममा कोहलपुर नगरपालिकाको कार्यालयमा आगजनी भयो । सवारीसाधनमाथि क्षति पु¥याइयो ।
चार वटा वडा कार्यालयमा समेत आगजनी र तोडफोड गरियो । त्यहाँबाट अझै सेवा प्रवाह सुरु हुन सकेको छैन । सोमबार कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकसमेत बसेको थियो, रिजाल बैठकमा सहभागी भएनन् । मंगलबार मिसन टुडेसँग कुराकानी गर्दै रिजालले आफूले स्वास्थ्य लाभ गरिरहेको बताए । केही दिनदेखि स्वास्थ्यमा समस्या आएका कारण घरमै बसेर रेष्ट गरिरहेको उनको भनाइ थियो । तपाईँ वडाध्यक्ष कि निवर्तमान वडाध्यक्ष ? भन्ने प्रश्नमा उनले भने, ‘राजीनामा घोषणा गरेको छु । यस विषयमा चौतर्फी प्रतिक्रिया आएको छ । स्वास्थ्य अवस्था राम्रो भयो भने वडा र नगरपालिकामा औपचारिकरूपमा राजीनामा दिने योजना छ ।’
जिम्मेवारीमै फर्किन चौतर्फी दबाब
वडा नम्बर ३ मा अहिले कार्यबाहक अध्यक्षको रूपमा कालीराम थारूले जिम्मेवारी सम्हालिरहेका छन् । कुराकानीको क्रममा रिजालले आफूलाई वडाका जनता, वडाका जनप्रतिनिधि र पार्टीबाट राजीनामा फिर्ताको माग भइरहेको बताए । उनले भने, ‘जनताले मान्नु भएको छैन ।वडा सदस्यहरू त तपाईँ नआउने हो भने हामीपनि राजीनामा दिन्छौँ भन्नुहुन्छ । पार्टीले समेत राजीनामा फिर्ता लिन भनिरहेको छ ।’
वडाअध्यक्षमा फिर्ता हुन आफूलाई चौतर्फी दबाब आएपनि आफूले सबैलाई आफ्नो राजीनामाको पृष्ठभूमि, राजनीतिक जीवन र अन्य विषयमा बुझाउने कोशिस गरिरहेको रिजालको भनाइ छ । उनले आफूले ऊर्जावान समय जनताको सेवाको लागि बिताएको तर केन्द्रीय राजनीति र नेताहरूले गरेका बेथितिका कारण दुःख पाउने अवस्था आएको बताए । नसुध्रिने नेताहरूका कारण आफूहरूले समेत सास्ती पाएको उनले बताए ।
उनले भने, ‘हामी जनताको कामको लागि दिनरात नभनी लागेका छौँ । तर, हामीले पनि जस पाएनौँ । अँस्ती हेर्नुहोस् त हाम्रो घर जलाउन खोजे, वडा कार्यालयमा आगजनीको प्रयास गरियो । आन्दोलनका नाममा व्यक्तिगत रूपमैै आक्रमणको प्रयास गरियो ।’ जनप्रतिनिधिका रूपमा राज्यको तलबसमेत नलिएर गरिब, दुःखीलाई बाँड्दा, वडा विकासमा एक रूपैयाँ भ्रष्टाचार नगर्दासमेत धम्कीहरू ब्यहोर्ने अवस्था रहेकोले आफूलाई चिन्तित बनाएको रिजालले बताए ।
वडा नम्बर ३ का जनताप्रति आफ्नो कुनै गुनासो नभएको, आगामी दिनमा पनि वडाको विकासमै सक्रिय हुने र देशको विषम परिस्थितिमा सोचेअनुसार काम गर्न नसकिने निष्कर्षसहित आफूले राजीनामा दिएको उनको भनाइ छ । ‘जनताले दुईपटक जिताए । मैले उहाँहरूको मागअनुसार नै काम गरेँ । अहिले देशको अवस्था विषम बनेको छ । यस्तो अवस्थामा पदमा बस्न उचित नहुने ठानेर राजीनामा दिएको हो । तर, म सधैँ जनताको सेवामै रहनेछु,’ रिजालले मिसन टुडेसँग कुराकानी गर्दै भने ।
रिजाल भन्छन्, ‘वडा विकासको लागि सक्दो काम गरेँ’
आफू वडाध्यक्ष नभएपनि राजनीतिक व्यक्तिका रूपमा वडा विकासमा सदैव जनताको साथमा हुने उनले बताए । उनले कोहलपुर–३ का जनताले विश्वास गरेर दुईपटक जिताएको भन्दै उनीहरूको अमूल्य मतलाई न्याय गरेको बताएका छन् । उनी भन्छन्, ‘वडा विकासका लागि सक्दो कोशिस गरेँ । आफूले सक्नेजति काम गरेको छु । वडाको मुहार फेरिएको छ । अबपनि वडा विकासमा सक्रिय हुन्छु ।’ आफू पढ्दापढ्दै जनताको लागि काम गर्नुपर्छ भनेर जिम्मेवारीमा आएको भन्दै कुनैपनि लाभ नदिएको दाबी गरे ।
‘पहिलोपटक आउँदा एक मिटर पीच थिएन । पक्की नालीसमेत थिएन । स्वास्थ्य केन्द्र, वडा कार्यालय विद्यालय बनेका थिएनन्,’ उनले भने ।अहिले गाउँगाउँमा पक्की नाला, कालोपत्रेका साथै विद्यालयहरूमा टिनको छानामुक्त गरिएको उनको दाबी रहेको छ । वडाको मात्रै नभएर प्रदेश र संघमा समेत समन्वय गरेर वडाको विकास गरिएको उनले बताए । वडा नम्बर ३ मा लालपुर्जा बाँड्ने ठूलो संकल्प गरिएको तर अब देशको परिस्थितिका कारण काम सम्पन्न गर्न नसकिने अवस्था सिर्जना भएको रिजालले बताए ।
उनले भने, ‘अब सबै पक्षलाई भेट्छु । त्यसपछि अन्तिम निर्णय लिन्छु । राजीनामा फिर्ता गर्दिनँ होला ।’ वडाध्यक्ष पदमा नरहेपनि आफू राजनीतिमै सक्रिय रहने बताए । नेकपा एमाले बाँकेका जिल्ला कमिटी सदस्यसमेत रहेका रिजालले राजनीतिमै रहेर जनतासँग नजिकै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही वडाको अध्यक्ष निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा समेत उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्