सन्नाटा र अन्यौलताबाट पूर्ववत अवस्थामा फर्कँदै बाँके



३ दर्जन बढी सरकारी कार्यालय, चार स्थानीय तहका कार्यालय र ६ वटा वडा कार्यालयका साथै तीन प्रमुख दलका नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कार्यालय जलाइएका थिए । आन्दोलनका कारण सरकारी कार्यालय, स्थानीय तह, विद्यालय, व्यवसाय मात्रै ठप्प भएनन् केही दिन त कफ्र्यु र निषेधाज्ञासमेत जारी भयो । सरकारी कार्यालयहरूले बिस्तारै सेवा प्रवाह सुरु गर्न थालेका छन् । बन्द शैक्षिक संस्था खुलेका छन् । केहीदिन अन्यौलग्रस्त भएको जिल्लाको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

भदौ २३ र २४ गते दुई दिन चलेको जेनजी आन्दोलनमा सिंगो देशले अपूरणीय क्षति व्यहो¥र्यो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, संसद् भवन, प्रमुख पार्टीका केन्द्रीय कार्यालय, नेताहरूका निवाससहित निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भयो । देशभरका बहुसंख्यक जिल्लास्थित सरकारी कार्यालय, पार्टी कार्यालय, व्यक्तिका घर, प्रहरी कार्यालय, स्थानीय तहका कार्यालयदेखि वडाध्यक्षसम्मका घरमा आगजनी, तोडफोड र लुटपाट गरियो । जेनजी आन्दोलन उद्देश्यविपरीत उग्र र नियन्त्रणभन्दा बाहिर जाँदा अकल्पनीय क्षति व्यहोरेकोमध्ये बाँके जिल्लासमेत एक हो ।

जहाँ ५० भन्दा बढी सरकारी कार्यालय, स्थानीय तह कार्यालय, सुरक्षा निकाय र व्यक्तिगत सम्पत्तिमा अपूरणीय क्षति पुग्यो । त्यतिमात्रै होइन आन्दोलनका क्रममा बाँकेका दुई युवाले ज्यान गुमाउनुप¥यो । भदौ २३ गते काठमाडौँमा भएको आन्दोलनमा बाँके नेपालगन्ज–१ का २३ वर्षीय शुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापा मगरको निधन भएको थियो । उनीहरूको शव काठमाडौँबाट शुक्रबार नेपालगन्ज ल्याइएको थियो । शुलभको शुक्रबार नै अन्त्येष्टि गरियो भने आयुषको शनिबार अन्त्येष्टि गरिएको छ ।

भदौ २४ गते आन्दोलनका क्रममा ३ दर्जन बढी सरकारी कार्यालय, चार स्थानीय तहका कार्यालय र ६ वटा वडा कार्यालयका साथै तीन प्रमुख दलका नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कार्यालय जलाइएका थिए । आन्दोलनका कारण सरकारी कार्यालय, स्थानीय तह, विद्यालय, व्यवसाय मात्रै ठप्प भएनन् केही दिन त कफ्र्यु र निषेधाज्ञासमेत जारी भयो । अहिले कफ्र्यु र निषेधाज्ञा हटेको छ । सरकारी कार्यालयहरूले बिस्तारै सेवा प्रवाह सुरु गर्न थालेका छन् । बन्द शैक्षिक संस्था खुलेका छन् । केही दिन अन्यौलग्रस्त भएको जिल्लाको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ ।

क्षतिग्रस्त कार्यालयमा अझै सेवा अनिश्चित 

बाँकेमा कूल ७३ वटा सार्वजनिक निकाय रहेका छन् । आन्दोलनका क्रममा करिब ५० वटा भन्दा बढी निकायमा क्षति पु¥याइएको छ । आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरिएका कार्यालयहरूमा अझै सेवा सुचारु हुन सकेको छैन । अझैसम्म पनि क्षतिको विवरण आउन सकेको छैन । धेरै कार्यालयमा क्षति पुगेकोले क्षतिको विवरण आउन केही समय लाग्ने देखिन्छ । अर्कातिर आन्दोलनका कारण बन्द भएका र क्षति नभएका सरकारी कार्यालय भने बिस्तारै सेवा सुचारु गर्न थालेका छन् ।

आइतबार कार्यालय खुल्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आन्दोलनपछिको अवस्थाका बारेमा छलफल गर्न शुक्रबार प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा आकस्मिक कार्यालय प्रमुखहरूको बैठक बसेको थियो । नियमितरूपमा हरेक महिनाको ५ गते कार्यालय प्रमुख बैठक बस्ने गरेपनि एक हप्ताको असामान्य स्थितिपछिको अवस्थाका विषयमा छलफल गर्न कार्यालय प्रमुखहरूको बैठक बसेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार पछिल्लो जिल्लाको विषय परिस्थितिका विषयमा छलफल गर्न कार्यालय प्रमुखहरूको बैठक बसेर छलफल भएको थियो । कार्यालय प्रमुखहरूको बैठकले जेनजी आन्दोलनकाका क्रममा क्षति नभएका सरकारी कार्यालयहरूबाट तत्काल सेवा सुरु गर्ने निर्णय भएको छ । क्षति भएका सरकारी कार्यालयबाट सेवा प्रवाहका विषयमा समेत व्यापक छलफल भएको उनले बताए ।

‘जिल्लाका धेरै सरकारी कार्यालय ध्वस्त भएका छन् । ती कार्यालयबाट तत्काल सेवा सुचारु गर्न असम्भव जस्तै छ । बैठकमा कार्यालयमा भएको क्षतिको विवरण संकलन, मुचुल्का र सरसफाइपछि सेवा सञ्चालनका विषयमा छलफल भएको छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । देशैभरीको अवस्था उस्तै भएको र माथिल्लो निकायबाट हालसम्म कुनैपनि जानकारी र निर्देशन प्राप्त नभएकोले तत्काल सेवा सुचारु गर्ने वा नगर्ने विषयमा अन्यौल रहेको बताए ।

अहिले जिल्लास्थित सरकारी कार्यालयहरूमा भएको क्षतिको वितरण संकलन र मुचुल्का उठाउने काम नेपाल प्रहरीले गरिरहेको उनले बताए । प्रहरीले क्षतिको विवरण संकलन र मुचुल्का उठाएपछि क्षति यकिन हुने र सेवा प्रवाह हुने उनले बताए । यता, आन्दोलनको क्रममा लुटपाट भएका सामान फिर्ता गर्न विभिन्न कार्यालयहरूले सार्वजनिक रूपमा आह्वान गरिरहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका सेवामा फर्किँदै

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि सामान्य सेवा सुचारु गर्ने भएको छ । भदौ २४ गते अपराâ आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिका कार्यालयको भोलिपल्टैबाट सरसफाइ सुरु गरिएकोमा अब आधारभूत सेवा सञ्चालनका लागि तयारी भएको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए । तत्काललाई टिनको टहरामुनी अस्थायी सेवा प्रवाहस्थल खडा गरेर सिफारिस लगायतका आधारभूत सेवा सुचारु गरिने शर्माले बताए ।

अहिले केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने उनको भनाइ छ । शर्माका अनुसार कार्यालयका नापी र घरनक्सा सम्बन्धिका कागजपत्रहरू जोगिएका छन् भने योजना शाखाका कागजपत्रहरू पनि जोगिएका छन् । तर पाँच करोड बढी मूल्यको औषधि, अन्य शाखाका कागजपत्र र सबै जिन्सी सामानहरू जलेर ध्वस्त पारिएका उनले बताए । उपमहानगरको स्वास्थ्य शाखा भने क्षति हुनबाट जोगिएकोले सुचारु रहेको अवस्था छ ।

क्षतिको वितरण संकलन गर्दै प्रहरी 

जेनजी आन्दोलनका क्रममा मातहतका प्रहरी युनिटहरूमा भएको क्षतिको वितरण संकलन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा बाँकेका चार वटा प्रहरी युनिटमा आगजनी र तोडफोड गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले कार्यालय मातहतका इलाका प्रहरी कार्यालय जयसपुर, इलाका प्रहरी कार्यालय कोहलपुर, अस्थायी ट्राफिक पोष्ट नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जमा क्षति भएको थियो ।

सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय जयसपुरमा भएको उनले बताए । त्यहाँ आन्दोलनका क्रममा कार्यालय भवनमा आगजनी गरिएको थियो । आगजनीका कारण फर्निचर, एउटा कम्प्युटर, कुर्सी, टेबलहरू र कार्यालय स्टाफहरूले चलाउँदै आएको सरकारी मोटरसाइकलसमेत जलाइएको डीएसपी पालतीले जानकारी दिए । यसैगरी चोरी तथा दुर्घटनाका कारण जफत गरिएका तथा अनुसन्धानका लागि कार्यालयमा राखिएका ६०–७० वटा मोटरसाइकल जलेको उनको भनाइ छ । तर कार्यालयले नियमित सेवा दिइरहेको उनको भनाइ थियो ।

यसैगरी, वडा प्रहरी कार्यालय नेपालगन्जको करिव ६० लाख पर्ने स्कारपियो गाडी जलाइएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जको भवनमा आगजनी गरिएको र अनुसन्धानका क्रममा रहेका ४० वटा मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । यस्तै आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरको मिनी ट्रकमा आगजनी भएको उनले बताए । ‘आन्दोलनका क्रममा हाम्रा केही संरचनामा क्षति भएको छ ।

मुचुल्का उठाएर क्षतिको यकिन गर्ने कार्य सुरु भएको छ । केही दिनमा विस्तृत विवरण आउला,’ डीएसपी पातलीले भने । बाँकेमा जेनजी आन्दोलनका क्रममा पाँच जना नेपाल प्रहरीलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकाय एवं सरकारी, गैरसरकारी र निजी संघ संस्थासमेतको हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, दस्ताबेज, लिखत वा अन्य कुनै सामग्री नियन्त्रणमा लिएको भए वा कहीँ फेला पारेको भए जिल्ला प्रहरी वा नजिकैका प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई अपिल गरेको छ । साथै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरी पोसाक एवं अन्य प्रहरी सामाग्रीको दुरुपयोग नगर्न र बुझाइदिन आग्रह गरेको छ ।

आजदेखि अधिकांश विद्यालय खुल्ने 

बाँके जिल्लामा रहेका सरकारी र निजी तथा आवासीय विद्यालयहरू आज आइतबारदेखि सञ्चालन हुने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले शनिबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा बन्द रहेका जिल्लाका सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरू आइतबारदेखि पुनः सुचारु हुन लागेका हुन् ।

उनले भने, ‘आन्दोलनका कारण लामो समयसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द भएका कारण भविष्यका राष्ट्रका कर्णधार विद्यार्थीहरूको पठनपाठनमा असर पर्ने हुँदा आइतबारदेखि जिल्लाका सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’ साथै उनले विद्यालय पूर्ववत अवस्थामा सञ्चालन गर्ने वातावरण बनाइदिन पनि सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।

त्यसैगरी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन प्याब्सन) बाँकेका अध्यक्ष किशोरराज मल्लले पनि आइतबारदेखि जिल्लामा पठनपाठन सुरु गर्न लागिएको जानकारी दिए । ‘सबै पालिकामा समन्वय गरिसकेका छौँ, अवस्था सामान्य बन्दै गएकाले भोलि आइतबारदेखि सम्पूर्ण विद्यालयहरू सञ्चालन गर्ने तयारी गरेका छौँ ।’ अध्यक्ष मल्लले भने । जिल्लाका सामुदायिक विद्यालयहरू भने कहिलेदेखि खुल्ने हुन् भन्ने कुरामा अझै अन्योलता रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी लोकेन्द्रबहादुर शाहीले विद्यालय सञ्चालनका विषयमा अन्यौल रहेको बताए । विद्यालय कहिलेबाट खुलाउने भन्ने विषयमा आइतबार बैठक बसेर निर्णय लिइने उनको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले सामुदायिक विद्यालयहरू सञ्चालनका बारेमा आज आइतबार स्थानीय तहसँग समन्वय गर्न लागिएको जानकारी दिए ।

‘सामुदायिक विद्यालयहरू सञ्चालनका सम्बन्धमा स्थानीय तह नै प्रमुख भूमिकामा हुनुहुन्छ, उहाँहरू नै कार्यकारी हुनुहुन्छ, हामीले केवल समन्वय मात्र गर्ने हो, आज आइतबार सम्पूर्ण स्थानीय तहसँग समन्वय गर्दैछौँ, अवस्था बुझेर सोहीअनुसार हुनेछ ।’ प्रमुख चौलागाइँले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार