27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

गाईको बाच्छीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ १२, २०७९  

बाँके । 

गाईको बाच्छीलाई बलात्कार गरेको आरोपमा बाँके राप्तीसोनारीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ दंगपुरर्वाका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाच्छीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका हुन् ।

युवकलाई ईलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको हो । गाईको बाच्छी बाँधेको ठाउँमा युवकको कट्टु र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका युवकले गाईको बाच्छीलाई बलात्कार गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको धामपुरका प्रहरी इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण डाँगीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका युवकको नाम गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामबहादुर घर्तीमगरले आरोप पुष्टि भए पक्राउ परेका युवकलाई कानुनअनुसार कारबाही हुने बताए । स्थानीयहरुले लक्ष्मी माताको रुपमा पूजा गर्ने गाईलाई बलात्कार गर्ने युवकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग राखेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले कुन मुद्दा चलाउने भन्नेबारे छलफल भइरहेको बताए । ‘प्रहरीले यस्तोखालको मुद्दा चलाउन मिल्ने कि नमिल्ने भन्नेबारेमा अहिले छलफल चलिरहेको छ,’ उनले भने, ‘कसरी अगाडि भन्नेबारे सरकारी वकिलसँग छलफल गरेर टुङ्गोमा पुग्छौं ।’

प्रकाशित मितिः आइतवार, भदौ १२, २०७९     1:02:40 PM  |