
नन्दराम जैशी । सुर्खेत ।
बिहानैदेखि सुर्खेतका शिवालयहरूमा रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको भीड थियो । कसैको हातमा पूजा सामग्री थियो, कसैको निधारमा रातो टीका । कोही शिव–पार्वतीको पूजा गर्दै थिए, कोही परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै थिए । मन्दिर परिसरमा घण्टी बजिरहेका थिए, धूपको सुगन्ध फैलिएको थियो । तर विगतका तीजमा जस्तो सहरका सार्वजनिक स्थलमा गीतका भाका भने गुञ्जिएनन् ।
न त सुुर्खेत खुलामञ्चमा महिलाको बाक्लो भीड थियो, न देउडाको घेरो । न माइकबाट तीजका गीत बजिरहेका थिए, न औपचारिक कार्यक्रममार्फत शुभकामना र भाषणको सिलसिला थियो । स्थानीय धना कँडेलले भनिन्, ‘तीज आयो, पूजा भयो । व्रत पनि बसियो, शिवालयमा दर्शन गरियो । तर उत्सव भने यसपटक केही संयमित रह्यो ।’ यसको पछाडि थियो, विपत्तिले छोडेको पीडा । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गराएपछि देश शोक र पीडामा छ । विपत्तिमा परेका परिवारको दुःखसँगै रमाइलो र भड्किलो उत्सव मनाउनु उपयुक्त नहुने भन्दै विभिन्न संघसंस्था तथा समूहले यस वर्ष तीजका सार्वजनिक कार्यक्रम स्थगित गरे ।
त्यसको प्रत्यक्ष प्रभाव सुर्खेतमा पनि देखियो । हरेक वर्ष तीजका दिन गीत–संगीत, नृत्य र देउडाले भरिने सुर्खेतको खुलामञ्च यसपटक अस्वाभाविक रूपमा शान्त थियो । जहाँ अघिल्ला वर्षहरूमा महिलाको ठूलो जमघट हुन्थ्यो, त्यहाँ यसपटक सामान्य चहलपहलसमेत देखिएन । सुर्खेतमा हरेक वर्ष तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै आएको बागीना समूहले पनि यस वर्ष आफ्नो कार्यक्रम स्थगित ग¥यो । तीजको अवसरमा हुने सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनका रूपमा नभई महिला सहभागिता, सामाजिक सचेतना र सांस्कृतिक संरक्षणको माध्यमका रूपमा अघि बढाउँदै आएको समूहले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउन उत्सवलाई प्राथमिकता नदिने निर्णय गरेको हो ।
बागीनाका लागि यो निर्णय सहज भने थिएन । वर्षौँदेखि तीज आउँदा कार्यक्रमको तयारी गर्ने, कलाकार जुटाउने, मञ्च व्यवस्थापन गर्ने र महिलालाई सहभागी गराउने अभ्यास थियो । तर यसपटक परिस्थिति फरक थियो । ‘अरू बेला दुःख बिर्सेर उत्सव मनाउने तीज यसपटक अरूको दुःख सम्झने अवसर बन्यो,’ समूहकी सिता भण्डारीले भनिन्, ‘विपत्तिमा परिवार गुमाएका र घरबारविहीन भएका नागरिकको पीडाबीच हामीले ठूलो कार्यक्रम गर्नु उचित ठानेनौँ ।’
उनका लागि तीज रोकिएको थिएन । तीजको स्वरूप मात्रै बदलिएको थियो । ‘पूजा ग¥यौँ, व्रत बस्यौँ, परिवार र समाजको सुख–शान्तिको कामना ग¥यौँ । गीत बजाएर नाच्नैपर्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ मौनताले पनि ठूलो सन्देश दिन्छ ।’ तीज नेपाली महिलाका लागि धार्मिक पर्व मात्रै होइन । यो भेटघाट, माइतीसँगको सम्बन्ध, सुख–दुःख साट्ने अवसर र सांस्कृतिक अभिव्यक्तिको पर्व पनि हो । समयसँगै तीज मनाउने शैली पनि बदलिएको छ । पहिले घर, आँगन र माइतीमा सीमित तीज पछिल्ला वर्षहरूमा सार्वजनिक कार्यक्रम, सामूहिक दर, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनसँग जोडिँदै गएको थियो ।
सुर्खेतकी रमिता थापालाई पनि यसपटकको तीज विगतभन्दा फरक लाग्यो । उनका अनुसार तीजको मूल भावना नै परिवार, समाज र सम्बन्धको सुख–शान्तिको कामना गर्नु हो । ‘हामीले आफ्नो सुख मात्र होइन, दुःखमा रहेका मानिसका लागि पनि सोच्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैले यसपटक सार्वजनिक रूपमा नाचगान नभए पनि तीजको अर्थ कम भएको छैन । बरु सामाजिक संवेदना बढेको छ ।’
अर्की महिला मञ्जु अधिकारीका लागि यसपटकको तीज ‘संयमको पर्व’ बन्यो । उनले भनिन्, ‘विपत्तिको समयमा उत्सव मनाउँदा पनि मर्यादा र संवेदनशीलता आवश्यक हुन्छ । तीज मनाउनु हुँदैन भन्ने होइन, तर कसरी मनाउने भन्ने कुरा महत्वपूर्ण हो ।’
कर्णालीमा तीजका अवसरमा विगतमा सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए । नृत्य, देउडा, सचेतनामूलक प्रस्तुति तथा अन्तरक्रियाका कार्यक्रम हुन्थे । यस्ता कार्यक्रमहरूमा राजनीतिक दलका नेता, जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी तथा सामाजिक क्षेत्रका व्यक्तिको उपस्थिति रहने गरेको थियो । मञ्चबाट तीजको शुभकामना दिइन्थ्यो । महिलाका अधिकार, हिंसा न्यूनीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक विकृतिविरुद्धका सन्देश पनि प्रवाह गरिन्थे । त्यसका लागि कतिपय संघसंस्थाले वार्षिक बजेटसमेत छुट्याउने गरेका थिए । तर यस वर्ष ती बजेट र कार्यक्रम उत्सवमा खर्च भएनन् ।
देशभर उस्तै दृश्य
सुर्खेतको दृश्य प्रतिनिधिमूलक मात्रै हो । कर्णालीका अन्य जिल्लासँगै देशका विभिन्न स्थानमा पनि तीज धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइयो । तर विपत्तिको पृष्ठभूमिका कारण विगतजस्तो भड्किलो सार्वजनिक उत्सवको स्वरूप धेरै ठाउँमा देखिएन । विगतमा तीजका सार्वजनिक कार्यक्रमसँगै ठूलो भीड व्यवस्थापन, सवारी आवागमन नियन्त्रण र सुरक्षा चुनौती थपिने गरेको थियो । सार्वजनिक स्थलमा हुने कार्यक्रमले प्रहरी प्रशासनलाई पनि अतिरिक्त सुरक्षा व्यवस्थापन गर्नुपर्ने अवस्था आउँथ्यो । तर यसपटक त्यस्ता कार्यक्रम नहुँदा भीड व्यवस्थापनको चुनौती तुलनात्मक रूपमा कम रह्यो ।
मन्दिरमा भने श्रद्धालुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुर्खेत प्रहरीले तीजलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने नागरिकप्रति धन्यवाद व्यक्त गरेको छ । सामाजिक अभियन्ता लक्ष्मीकन्या बुुढाका अनुसार विपत्तिका बेला तीज मनाउने तरिका बदलिनु स्वाभाविक हो । ‘तीज महिलाको सांस्कृतिक अधिकार र पहिचानसँग जोडिएको पर्व हो । त्यसैले विपत्ति आयो भन्दैमा तीज मनाउनै नहुने भन्ने होइन,’ उनले भनिन्, ‘तर उत्सवमा खर्च गर्ने रकम, समय र ऊर्जालाई सामाजिक सहयोगतर्फ मोड्नुु राम्रो कार्यहो ।’
यसपटक सार्वजनिक कार्यक्रम स्थगित हुनु सांस्कृतिक गतिविधिको अन्त्य नभएको उनले बताइन् । बरु यसले तीजको सामाजिक पक्षलाई अझ बलियो बनाएको उनको भनाइ छ । ‘दुःखमा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संयमित ढंगले पर्व मनाउनु पनि संस्कृति संरक्षणकै एउटा रूप हो’ उनले भनिन् । यता कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले तीजको अवसरमा शुभकामना दिँदै तीजलाई संस्कृति, परम्परा र आपसी मायाको पर्व मान्नुुपर्ने बताइन् । तीजको आफ्नै मौलिकता र महत्व भएकाले आगामी वर्षहरूमा पनि यसलाई तडकभडकबिना पुरानै ढंगले मनाउनुुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्