असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी



काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले सोमबार साँझ जारी गरेर मनसुन विशेष मौसम बुलेटिनअनुसार मौसममा आउने यस बदलाबले जनजीवन प्रभावित हुन सक्नेछ । यस्तो छ मौसमी प्रणाली उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ । महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी, मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

कृषि र पर्यटन क्षेत्रमा पनि प्रभाव पर्ने सम्भावित वर्षाका कारण ठूला तथा साना नदीनालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।हाल केही स्थानमा धानबाली भित्र्याउने मौसम रहेकोले सम्बन्धित कृषि विज्ञको सल्लाहमा मात्र कार्य गर्न अनुरोध गरिएको छ । साथै, उक्त मौसमी प्रणालीको प्रभावले देशको हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

राति यात्रा नगर्नुहोला

मौसम विभागको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सोमबार साँझ नै एक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले प्राधिकरणले केही पूर्वतयारी गर्न आग्रह गरेको छ ।प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ ।

जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ । प्राधिकरणले जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचनाअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई विपद् आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनेको छ । आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती तथा पहिरोको जोखिमयुक्त स्थानका बासिन्दाहरू बढी चनाखो रहन पनि प्राधिकरणले सचेत गराएको छ । वर्षा र बाढीबारे जानकारी लिन ११४९, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीलाई १०० र सशस्त्र प्रहरी बललाई १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार