नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा संक्रामक रोग नियन्त्रणको चुनौती अझै पूर्णरूपमा हट्न सकेको छैन । सल्यानको कालिमाटी गाउँपालिकामा भारतबाट फर्किएका एक युवामा औलो पुष्टि भएको छ भने दैलेखमा एक वर्षमै क्षयरोगका बिरामीको सङ्ख्या ह्वातै बढेको छ ।यी दुुई फरक संक्रमणले प्रदेशको जनस्वास्थ्य प्रणालीसामु सीमा क्षेत्रबाट भित्रिने संक्रमणदेखि स्थानीयस्तरमा फैलिरहेको क्षयरोगसम्मका चुनौती कायमै रहेको हो । सल्यानमा पुष्टि भएको औलो र दैलेखमा देखिएको क्षयरोग एउटै प्रकृतिका संक्रमण होइनन् । तर, दुवै घटनाले समयमै रोग पहिचान, जोखिम समूहको निगरानी, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण र स्वास्थ्य सेवामा पहुँचलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएपछि सल्यानमा पुनः औलोको जोखिमबारे स्वास्थ्य निकायको ध्यान गएको छ । भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि बिरामी परेका सुनार प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकी पुगेका थिए । स्वास्थ्य चौकीमा गरिएको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा औलो संक्रमण देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो ।जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट पनि संक्रमण पुष्टि भएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिए । उनका अनुसार भारतबाट फर्किएको छोटो समयमै बिरामी देखिनुका कारण संक्रमण भारतमै भएको हुन सक्ने अनुमान छ । तर, संक्रमण कहाँ र कहिले भयो भन्ने विषय परीक्षण तथा रोगको थप अनुसन्धानबाट मात्रै यकिन हुने उनले बताए ।
औलो पुष्टि भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यान, कालिमाटी गाउँपालिका र प्रदेश स्वास्थ्य निर्देशनालयको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । टोलीले संक्रमितलाई निःशुल्क औषधि उपलब्ध गराउनुका साथै उनको सम्पर्कमा रहेका तथा आसपासका शंकास्पद २५ देखि ३० जनाको परीक्षण गरेको छ । परीक्षण गरिएका अन्य व्यक्तिमा औलो संक्रमण नदेखिएको स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिए ।तर, कालिमाटीमा एक वर्षअघि वडा नम्बर ३ मा पनि एक जनामा औलो संक्रमण पुष्टि भएको थियो । यसले एकपटक संक्रमण देखिएपछि त्यसलाई छुट्टै घटनाका रूपमा मात्र नहेरी स्थानीयस्तरमा रोगको जोखिम र संक्रमणको स्रोत पहिचान गर्नुपर्ने देखिन्छ । कर्णालीका विभिन्न जिल्लाबाट भारतमा रोजगारीका लागि जाने र फर्किने क्रम निरन्तर हुने गरेको छ । यस्तो आवतजावतले भारतमा देखिने केही संक्रामक रोगको जोखिम नेपालमा समेत ल्याउन सक्ने चुुनौती थपिएको छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार औलो विशेषगरी संक्रमित एनोफिलिज लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले संक्रमित व्यक्ति नेपाल फर्किएपछि स्थानीय लामखुट्टेले टोक्दा संक्रमणको चक्र स्थानीयस्तरमा समेत विस्तार हुन सक्ने जोखिम रहन्छ । त्यसैले भारतबाट फर्किएका व्यक्तिमा ज्वरो, चिसो लाग्ने, पसिना आउनेजस्ता लक्षण देखिएमा समयमै परीक्षण गर्न सुुझाव दिइएको छ । एक वर्षमै २० जना क्षयरोगी थपिएउता दैलेखमा भने क्षयरोगको अवस्था फरक प्रकृतिको चुनौतीका रूपमा देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–०८२ मा १४४ जना क्षयरोगका बिरामी भेटिएकामा आर्थिक वर्ष २०८२–०८३ मा यो सङ्ख्या बढेर १६४ पुगेको छ । आर्थिक वर्ष २०८०–०८१ मा १९१ जना भेटिएका थिए ।
तथ्यांक हेर्दा एक वर्षको अवधिमा जिल्लामा क्षयरोगका २० जना बिरामी थपिएका छन् । तर, जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीका अनुसार १६४ जना क्षयरोगीमध्ये नौ जना १५ वर्षमुनिका बालबालिका छन् । उनका अनुसार संक्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कणसँगको सम्पर्कबाट क्षयरोग सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका बालबालिका जोखिममा पर्न सक्छन् ।‘दैलेखमा संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेका ३२ जना बालबालिकामा सम्भावित क्षयरोगको अवस्था देखिएको थियो,’ उनले भने, ‘थप अनुसन्धान तथा परीक्षणपछि तीमध्ये दुई जनामा क्षयरोग पुष्टि भएको छ ।’
आर्थिक वर्ष २०८२–०८३ मा दैलेखमा भेटिएका १६४ जना क्षयरोगी विभिन्न स्थानीय तहमा फैलिएका छन् । जसमा दुल्लु नगरपालिका २८ जना, आठबीस नगरपालिका २३, ठाँटीकाँध गाउँपालिका २१, गुराँस गाउँपालिका २१, नारायण नगरपालिका १७ र चामुण्डाविन्द्रासैनी नगरपालिकामा १६ जना रहेका छन् ।यस्तै, भगवतीमाई गाउँपालिकामा १५ जना, भैरवी गाउँपालिका आठ जना, डुङ्गेश्वर गाउँपालिका आठ जना, नौमुले गाउँपालिका चार जना र महाबु गाउँपालिका तीन जना भेटिएका हुन् । तथ्यांकले क्षयरोग कुनै एक स्थानीय तहमा मात्र सीमित नभएको देखाउँछ । विशेषगरी दुल्लु र आठबीसमा तुलनात्मक रूपमा धेरै बिरामी भेटिएका छन् । तर स्थानीय तहअनुसार बिरामीको सङ्ख्या तुलना गर्दा सम्बन्धित पालिकाको जनसङ्ख्या, परीक्षणको पहुँच र केस पहिचानको दरलाई समेत आधार बनाइएको थियो ।
एउटै प्रदेश, दुई फरक चुनौती
सल्यानको औलो र दैलेखको क्षयरोगका घटनाले कर्णालीमा संक्रामक रोग नियन्त्रणको चुनौती एकै प्रकारको नभएको देखाउँछन् । सल्यानको घटनामा सीमापार आवतजावत, रोगको प्रारम्भिक पहिचान र लामखुट्टेजन्य संक्रमणको सम्भावित स्थानीय जोखिम प्रमुख विषय बनेका छन् ।दैलेखमा दीर्घकालीन संक्रमण, परिवारभित्रको सम्पर्क, बालबालिकाको जोखिम, पोषण र सामाजिक–आर्थिक अवस्था मुख्य सरोकारका रूपमा देखिन्छन् । जनस्वास्थ्य अधिकृत किरण शर्माका अनुसार औलोको हकमा एउटा संक्रमित भेटिएपछि तत्काल परीक्षण र निगरानी बढाउनुपर्ने हुन्छ भने क्षयरोगमा बिरामी पहिचानसँगै लामो अवधिको उपचार, सम्पर्कमा रहेका व्यक्तिको खोजी तथा परीक्षण र उपचार निरन्तरतामा जोड दिनुुपर्छ ।
यसले कर्णालीको जनस्वास्थ्य रणनीतिमा एउटै रोग नियन्त्रणको ढाँचाभन्दा रोगअनुसार जोखिम पहिचान र लक्षित निगरानी प्रणाली आवश्यक रहेको उनी बताउँछन् । यी दुवै घटनाको साझा पक्ष भनेको समयमै रोग पहिचान गर्नु हो ।सल्यानमा औलो पुष्टि भएपछि प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्यकर्मी तत्काल प्रभावित क्षेत्रमा पुग्नु तथा दैलेखमा क्षयरोगीका सम्पर्कमा रहेका बालबालिकासम्म परीक्षण विस्तार हुनु त्यही समन्वयको उदाहरण हो । तर, एक–दुई घटना देखिएपछि मात्रै सक्रिय हुनेभन्दा जोखिम भएका क्षेत्रमा नियमित निगरानी गर्ने प्रणाली विकास गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्