काठमाडौँ ।
नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी रकम कटौतीविरूद्व देशव्यापी आन्दोलन सुरू गरेको छ । लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधिको व्यवस्थाविपरीत पत्रपत्रिकाले प्राप्त गरिरहेको विज्ञापनबापतको रकममा भारी कटौती गरेको विरोधमा आन्दोलन सुरू गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गरिरहेको विज्ञापनबापतको रकममा भारी कटौती गर्ने व्यवस्था गरेको छ । यसअघि असोज २ गते महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको सरोकारवालासहितको बैठकले तीन दिनभित्र माग पूरा नभए असोज ५ गते सोमबारबाट देशव्यापी आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।
सो बैठकले विज्ञापनबापतको रकममा भारी कटौती गरेकोप्रति नेपाल पत्रकार महासंघले पूर्ण असहमति प्रकट गरेको छ । महासंघले उक्त कार्यविधि खारेज गर्न सूचना तथा सञ्चारमन्त्रीसमक्ष भदौ २५ गते राखिएको माग पूरा नभएको र समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते गरिएको पत्राचारलाई समेत बेवास्ता गरिएको भन्दै थप सशक्त विरोधका कायर्यक्रम सुरू गरेको हो । महासंघकी अध्यक्ष निर्मला शर्माले मन्त्रालयले जारी गरेको संशोधित कार्यविधि पूर्ण रूपमा खारेज गरी कटौती गरिएको रकम तत्काल फिर्ता गर्नुपर्ने बताइन् । उनका अनुसार मुद्रण, कागज र बजार खर्च बढिरहेको अवस्थामा विज्ञापन रकम कटौती गर्दा विशेषगरी साना तथा स्वरोजगारमूलक छापा माध्यमहरू बन्द हुने स्थितिमा छ । कटौती गर्नुको सट्टा समयअनुकूल पुनरावलोकन गरी विज्ञापनको रकम दोब्बर बनाउनुपर्ने माग महासंघले गरेको छ ।
यसअघि महासंघले महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेजुरु नदेखाएको र प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धिका सम्बन्धमा गरेको सिफारिससमेतका आधारमा समस्या समाधान गर्न महासंघले पुनः मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाइसकेको छ । पहिलो चरणको विरोध कायर्यक्रमअनुसार सोमबार नेपाल पत्रकार महासंघले विज्ञापन बोर्डमा धर्ना दिएको छ । छापा माध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती गर्ने गरी सरकारले जारी गरेको संशोधित कार्यविधि खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा छ । यसैक्रममा बाँकेमा पनि सोमबार बाँके शाखाको नेतृत्वमा जिल्ला हुलाक कार्यालयलाई लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको छ ।









प्रतिक्रिया दिनुहोस्