काठमाडौँ ।
सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रूपैयाँका दरले वृद्धि गर्ने निर्णय भएको जानकारी दिए । माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको सुरू तलब बराबर कायम गर्ने उनले बताए ।
उनका अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रूपैयाँबाट बढेर ४८ हजार ५८ रूपैयाँ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० बाट ३८ हजार २०३ रूपैयाँ कायम गरिएको छ । यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रूपैयाँ थप गरिएको छ ।
नयाँ व्यवस्था अनुसार इसिडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रूपैयाँ पुगेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले दूरदराजका विद्यालयमा अहोरात्र खट्ने कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधानको पहिलो चरण भएको उल्लेख गरे । पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रूपैयाँ थप दायित्व सिर्जना हुने शिक्षा मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्