कोहलपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोहलपुर नगर समितिले कोहलपुर नगरपालिकालाई होल्डिङ सेन्टरमा रहेका परिवारको व्यवस्थापन,ऐलानी जग्गाको पहिचान तथा नगरभित्र सडक सुरक्षासम्बन्धी विषयमा तत्काल आवश्यक पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख तथा कोहलपुर नगर विकास समितिका अध्यक्ष आचार्यलाई होल्डिङ सेन्टरमा लामो समयदेखि अस्थायी रूपमा बसोबास गरिरहेका परिवारको जीवनयापन कष्टकर बन्दै गएकाले उनीहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सुरक्षित र व्यवस्थित रूपमा बसोबासको व्यवस्था मिलाउन नगरपालिकाले प्राथमिकताका साथ काम गर्नुपर्ने रास्वपाको माग छ ।
होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकका लागि शुद्ध खानेपानी,व्यवस्थित शौचालय, बालबालिकाको शिक्षाको पहुँच तथा अन्य आधारभूत सेवा–सुविधाको अभाव रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधान गर्न आग्रह गरिएको छ । रास्वपाले नगर विकास समितिको समन्वयमा आवश्यक बजेट तथा योजना व्यवस्थापन गरी नागरिकको न्यूनतम आधारभूत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
त्यसैगरी, दीर्घकालीन समाधानका लागि कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐलानी तथा जंगल क्षेत्रका उपयुक्त जग्गाको खोजी गरी भूमिसम्बन्धी निकायसँग समन्वय गर्नुपर्ने सुझाव पनि पत्रमा समेटिएको छ । भूमि आयोग, प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाउन नगरपालिकाले पहल गर्नुपर्ने रास्वपाको भनाइ छ । नगर प्रमुख आचार्यले नगरपालिकाले सुकुम्बासीका लागि व्यवस्थापनिदेखि बसोबासरमा सहजताका लागि काम भइरहेको बताए ।
उनले वास्तविक कोहलपुरका सुकुम्वासी समस्या समधान गर्न र अन्य पालिका सुकुम्वासी समेत रहेकाले उनीहरुलाई उनीहरुकै पालिकासँग समन्वय गरेर व्यवस्थापनको लागि पत्रचार गरिएको जानकारी दिए । समितिले किसानलाई रासायनिक मल वितरणमा देखिएको अव्यवस्था, सहकारी संस्थाको भूमिकादेखि सडक सुरक्षासम्मका जनसरोकारका विषयमा कोहलपुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । बुधबार नगरपालिकाका उप–प्रमुखलाई पत्र बुझाउँदै समितिले सम्बन्धित विषयमा तत्काल आवश्यक पहल गर्न आग्रह गरेको हो ।
नगर समितिका सभापति राजेन्द्र कुमार श्रेष्ठले कोहलपुरका किसानले खेतीको मुख्य समयमा समेत सहज रूपमा रासायनिक मल नपाइरहेकाले मल वितरणमा सहजता ल्याउन आग्रह गरेका छन् । उनले मल बिक्रीका लागि आधिकारिक अनुमति प्राप्त सहकारी संस्थाहरूको वितरण प्रणाली व्यवस्थित हुन नसक्दा किसानले सास्ती खेप्नुपरेको र खेतीपाती नै प्रभावित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । नगरपालिकाले आधिकारिक रूपमा मल बिक्री गर्ने सहकारी संस्थाहरूको कार्यक्षेत्र स्पष्ट रूपमा विभाजन गरी किसानलाई पायक पर्ने स्थानबाट सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
विशेषगरी कोहलपुर वडा नम्बर ७ लाई पायक पर्ने वडा नम्बर १४ सम्मको क्षेत्रलाई समेत समेटेर आवश्यक व्यवस्थापन गर्न नगरपालिकासँग आग्रह गरिएको छ । यसका साथै वितरण प्रक्रियामा पारदर्शिता कायम गर्दै अनुगमनलाई प्रभावकारी बनाउन पनि रास्वपाले जोड दिएको छ। साथै नगरभित्र बढ्दो सडक दुर्घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण गराएको छ । पत्रमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका सवारीसाधन, ट्राफिक नियमको पालना नहुनु तथा चालकहरूमा पर्याप्त सचेतनाको अभावका कारण दुर्घटना बढिरहेको उल्लेख गर्दै नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्