खानेपानीको मुहान जोगाउन वृक्षारोपण अभियान



शिवु खनाल । दाङ ।

स्वच्छ र सुरक्षित खानेपानीको दीर्घकालीन सुनिश्चितताका लागि मुहान क्षेत्रको संरक्षण आवश्यक रहेको भन्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले हरेक वर्ष सञ्चालन गर्दै आएको वृक्षारोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित पारिजात महिला सामाजिक वन क्षेत्रमा संस्थाले विभिन्न प्रजातिका एक हजार बिरुवा रोपण गरेको हो ।

जलस्रोत संरक्षण, भू–क्षय नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै भावी पुस्ताका लागि सुरक्षित खानेपानीको स्रोत संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनमकुमार पौडेलले मुहान क्षेत्रको संरक्षणबिना स्वच्छ खानेपानीको दिगोपना सम्भव नहुने बताए ।

उनले भने, ‘वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र होइन, यो हाम्रो खानेपानीको भविष्य सुरक्षित गर्ने अभियान हो ।  प्रत्येक वर्ष स्थानीय समुदायसँग मिलेर यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ । रोपिएका बिरुवाको संरक्षणमा पनि उत्तिकै ध्यान दिनेछौँ ।’ ‘स्वच्छ र सुरक्षित खानेपानीको दीर्घकालीन सुनिश्चितताका लागि मुहान क्षेत्रको संरक्षण अत्यन्त आवश्यक छ । यही उद्देश्यलाई आत्मसात् गर्दै हाम्रो संस्थाले प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आज रोपिएका बिरुवाहरू भविष्यमा हरियाली मात्र होइन, खानेपानीका मुहानलाई संरक्षण गर्ने आधार पनि बन्नेछन् । वृक्षारोपणसँगै बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि हामी उत्तिकै प्रतिबद्ध छौँ । प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिताबिना दिगो सफलता सम्भव छैन । त्यसैले सबै उपभोक्तालाई रोपिएका बिरुवाको संरक्षणमा हातेमालो गर्न आग्रह गर्दछु,’ उनले भने ।

अध्यक्ष पौडेलले खानेपानी प्रणालीलाई अझ प्रभावकारी र दिगो बनाउन निरन्तर पूर्वाधार सुधार, पाइपलाइन विस्तार तथा चुहावट नियन्त्रणका कामहरू पनि अघि बढाइरहेको बताए । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदाय र संस्थाबीचको सहकार्य प्रशंसनीय रहेको बताए । उनले भने, ‘खानेपानीको मुहान जोगाउन वन संरक्षण अपरिहार्य छ । आज रोपिएका बिरुवाले भोलि वातावरण मात्र होइन, जनताको जीवन पनि सुरक्षित बनाउनेछन् । यस्ता अभियानमा सबैको सहभागिता आवश्यक छ ।’

संस्थाका सचिव बसन्त आचार्यले वृक्षारोपणसँगै संरक्षणलाई पनि प्राथमिकता दिइएको जानकारी दिँदै रोपिएका बिरुवाको नियमित अनुगमन, हेरचाह तथा संरक्षणका लागि स्थानीय उपभोक्ता र सामाजिक वन समूहसँग समन्वय गरिने बताए । उनले भने, ‘कार्यक्रमको सफलता बिरुवा रोपेर मात्र हुँदैन, तिनलाई हुर्काएर हरियालीमा परिणत गर्नु नै हाम्रो मुख्य लक्ष्य हो ।’

स्थानीयवासीहरूले पनि यस्ता अभियानले वातावरण संरक्षण, भू–क्षय न्यूनीकरण, जैविक विविधता संरक्षण तथा खानेपानीका मुहानहरूलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही वर्षदेखि नियमित रूपमा मुहान संरक्षण, वृक्षारोपण, सरसफाइ तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाको यो अभियानले स्थानीय समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक चेतना फैलाउँदै खानेपानी स्रोतको दिगो व्यवस्थापनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार