सुर्खेत ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतअन्तर्गत यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा वितरण गरिने भएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेबीच समझदारी पत्रमा हस्ताक्षर गरी सवारी चालक अनुमतिपत्र नागरिकको घरदैलोमा पु¥याउने कार्यको औपचारिक आरम्भ गरिएको हो ।
नेपाल सरकार मन्त्रीपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवा घरमा नै उपलब्ध गराउने कुरा उल्लेख भएअनुरुप नै हुलाक सेवाले यस कार्यको थालनी गरेको हो । कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम पश्चिम जानुपर्ने झन्झट नहुने भएको छ ।
यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायतका मापदण्ड पूरा गरी सवारी चालक अनुमतिपत्र प्राप्त योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा आउनुपर्ने बाध्यता हट्ने भएको हो । ४० रुपैयाँ हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्नेछ । यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घरघरमा पु¥याउने काम गर्दैआएको छ ।
यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छाला लगायतका नमुना परीक्षणका लागि हवाईसेवाद्वारा छिटोछरितो काठमाडौँ पठाउने, स्वास्थ्य बीमा बोर्ड, खुला विश्विवद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायतका संस्थाका सामग्रीहरुसमेत हुलाकमार्फत आदानप्रदान हुने कामको सुरुवात भएको हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्