कृषक समूहलाई निःशुल्क कृषि प्रशोधन मेसिन



शिवु खनाल । दाङ ।

देउखुरी क्षेत्रमा रहेका आठवटा कृषक समूहलाई लमहीमा रहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले विभिन्न कृषि प्रशोधन मेसिन निःशुल्क हस्तान्तरण गरेको छ। संस्थाले पिठो पिसाउने, मकै खोसाल्ने, मकै लगाउने तथा धान कुटाउने मेसिन वितरण गरेको हो । वितरण गरिएका मेसिनबाट समूहमा आबद्ध अति विपन्न, सीमान्तकृत तथा आर्थिक रूपमा कमजोर कृषक परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।

यसले कृषि कार्यलाई सहज, छिटो र कम खर्चिलो बनाउनुका साथै ग्रामीण समुदायको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । युएन ह्याबिटाट तथा गुड नेभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र (सीएसआरसी)ले भूमि कृषि कार्यक्रमअन्तर्गत किसानहरूलाई कृषि उपकरण वितरण गरेको हो । मेसिन प्राप्त गरेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन् ।

उनीहरूले वर्षौँदेखि हातैले गर्नुपर्ने कठिन काम अब सहज हुने बताएका छन् । मेसिन पाएपछि लमही नगरपालिका वडा नम्बर ७ कप्तानगंजका कृषक रविन केसीको अनुहारमा खुसी छाएको छ । उनले भने, ‘पहिले धान कुट्न र पिठो पिसाउन धेरै समय र खर्च लाग्थ्यो । अब आफ्नै समूहमा मेसिन भएपछि समय पनि बच्ने भयो र खर्च पनि घट्नेछ ।’ लमही ८ खोली गाउँकी रेजिना चौधरीले खेती गर्न मजदुर पाउन गाह्रो भइरहेको अवस्थामा यस्ता मेसिन किसानका लागि वरदान बनेको बताइन् । उनले अब छिटो काम गर्न सकिने भएकाले उत्पादन पनि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘हामीजस्ता विपन्न किसानले आफ्नै लगानीमा यस्तो मेसिन किन्न सक्दैनौँ । निःशुल्क सहयोग पाएपछि धेरै राहत मिलेको छ । अब कृषि पेशालाई अझ व्यवस्थित र व्यावसायिक बनाउन हौसला बढेको छ ।’ कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै जलवायु परिवर्तनका असरलाई न्यून गर्न र ग्रामीण समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यसहित गरिएको यो कार्यक्रम देउखुरीका कृषकका लागि आशाको नयाँ आधार बनेको स्थानीयवासीको विश्वास छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौतीलाई मध्यनजर गर्दै कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले मेसिन वितरण गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसि)का जलवायुमैत्री कृषि संयोजक निलम त्रिपाठीले बताइन् । उनले भनिन्, ‘हामीले वितरण गरेका यी मेसिन केवल उपकरण मात्र होइनन्, कृषकको आत्मनिर्भरता र जलवायु अनुकूल कृषि प्रणालीतर्फको महत्वपूर्ण कदम हुन् । अति विपन्न र सीमान्तकृत समुदायका कृषकले अब कम श्रम, कम समय र कम लागतमा उत्पादन गर्न सक्नेछन् ।’

उनका अनुसार समूहगत रूपमा मेसिनको उपयोग गर्दा सबै सदस्यले समान लाभ लिनसक्ने वातावरण बनेको छ । आगामी दिनमा पनि जलवायुमैत्री कृषि प्रवद्र्धन, सीप विकास र आधुनिक प्रविधिको पहुँच विस्तारका लागि निरन्तर सहयोग रहनेछ । ७१ जना कृषक आबद्ध रहेका लमही नगरपालिका वडा नम्बर ८ एकता भूमि अधिकार कृषक समूह खोली गाउँलाई धान कुटाउने र पिसाउने मेसिन, १८ जना कृषक आबद्ध रहेका लमही ८ बाघखोली भूमि अधिकार कृषक समूहलाई विद्युत्बाट सञ्चालन हुने धान कुटाउने, पिसाउने मकै खोसाल्ने मेसिन, ३० जना कृषक आबद्ध रहेका लमही ७ कप्तानगंज हरियाली भूमि अधिकार मञ्चलाई धान कुटाउने र पिसाउने मेसिन, ३० जना कृषक आबद्ध रहेका लमही ९ धवारी भूमि अधिकार कृषक समूहलाई पिठो पिसाउने मेसिन, ३० जना कृषक आबद्ध रहेका लमही ७ हस्नापुर हस्नापुर भूमि अधिकार कृषक समूहलाई विद्युत्बाट सञ्चालन हुने मकै खोसाल्ने मेसिन, २४ जना कृषक आबद्ध रहेका लमही ६ घोडेबास भूमि अधिकार कृषक समूहलाई मकै रोप्ने मेसिन र २४ जना कृषक आबद्ध रहेका लमही ९ पैते लौरि रिहार समूहलाई विद्युत्बाट सञ्चालन हुने मकै खोसाल्ने मेसिन निःशुल्क वितरण गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसि)को जलवायुमैत्री कृषि संयोजक निलम त्रिपाठीले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार