हरेक वर्ष जुलाई ३० मा मनाइने अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसले मानव सभ्यतामाथि लागिरहेको सबैभन्दा अमानवीय अपराधमध्ये एकको अन्त्यका लागि विश्व समुदायलाई पुनः सचेत गराउँछ । विज्ञान, प्रविधि र लोकतन्त्रको युगमा पनि मानिसलाई वस्तुसरह किनबेच गर्ने, श्रम, यौन शोषण, जबर्जस्ती विवाह, घरेलु दासता, अंग तस्करी तथा अन्य आपराधिक प्रयोजनका लागि प्रयोग गर्ने प्रवृत्ति अझै विद्यमान हुनु मानव अधिकारमाथिको गम्भीर चुनौती हो । नेपालजस्तो वैदेशिक रोजगारी, गरिबी र सीमापार आवागमनको उच्च जोखिम भएको मुलुकका लागि यो दिवस केवल औपचारिक कार्यक्रमको विषय होइन, गम्भीर आत्मसमीक्षा गर्ने अवसर पनि हो । मानव बेचबिखनको स्वरूप समयसँगै बदलिएको छ । पहिले गरिबी र अशिक्षाको फाइदा उठाउँदै गरिने तस्करी अहिले सामाजिक सञ्जाल, नक्कली रोजगारीका विज्ञापन, विवाहको प्रलोभन, अध्ययनको अवसर र आकर्षक आम्दानीको आश्वासनमार्फत हुने गरेको छ । अपराधी समूह प्रविधिमा झन् सशक्त बन्दै गएका छन् भने पीडितहरू पहिचान गर्न झन् कठिन हुँदै गएको छ । यसले राज्यका सुरक्षा निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र समाज सबैका लागि चुनौती थपेको छ । नेपालबाट विशेषगरी महिला, किशोरी, बालबालिका तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिक बढी जोखिममा पर्ने गरेका छन् । रोजगारीका नाममा विदेश पु¥याएर श्रम शोषण, घरेलु हिंसा, यौन शोषण वा बन्धक बनाइएका घटनाहरू पटक–पटक सार्वजनिक भइरहेका छन् ।
खुला सीमा र कमजोर निगरानीका कारण सीमावर्ती क्षेत्र पनि उच्च जोखिममा छन् । यसले मानव बेचबिखनलाई केवल कानुनी अपराध नभई सामाजिक, आर्थिक र राष्ट्रिय सुरक्षासँग जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने आवश्यकता देखाउँछ । यस अपराध नियन्त्रणका लागि नेपालमा कानुनी व्यवस्था, राष्ट्रिय कार्ययोजना र विभिन्न सरकारी तथा गैरसरकारी अभियान सञ्चालन भइरहेका छन् । सीमामा निगरानी बढाउने, उद्धार तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि भएका छन् । तर अपराधको प्रकृति परिवर्तन भइरहेका बेला परम्परागत उपाय मात्र पर्याप्त हुन सक्दैनन् । अनुसन्धानलाई प्रविधिमैत्री बनाउने, अन्तरदेशीय समन्वय सुदृढ गर्ने, पीडितमैत्री न्याय प्रणाली विकास गर्ने र दोषीलाई दण्डहीनता नदिने प्रतिबद्धता अझ बलियो हुनुपर्छ । मानव बेचबिखन रोकथामको सबैभन्दा प्रभावकारी उपाय जनचेतना हो । विद्यालयदेखि समुदायसम्म सुरक्षित वैदेशिक रोजगारी, साइबर सुरक्षाको ज्ञान, कानुनी प्रक्रिया र शंकास्पद गतिविधिबारे सचेतना फैलाउन आवश्यक छ । परिवारले पनि आकर्षक प्रस्तावका पछाडिका जोखिम बुझ्नुपर्छ । स्थानीय सरकार, सञ्चारमाध्यम, नागरिक समाज र निजी क्षेत्रबीचको सहकार्यले मात्र जोखिम न्यूनीकरण गर्न सकिन्छ । विशेषगरी सामाजिक सञ्जालमार्फत हुने ठगी र प्रलोभनबारे युवापुस्तालाई समयमै जानकारी गराउनु आजको आवश्यकता हो ।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको सन्देश यही हो कि कुनै पनि व्यक्ति किनबेचको वस्तु होइन, सम्मानित जीवन बाँच्ने अधिकार भएको नागरिक हो । त्यसैले मानव बेचबिखनविरुद्धको अभियानलाई एक दिनको औपचारिकतामा सीमित नराखी वर्षभरि प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ । कानुनको कडाइ, रोजगारीका सुरक्षित अवसर, गुणस्तरीय शिक्षा, जनचेतना, अन्तर्राष्ट्रिय सहकार्य र पीडितप्रतिको संवेदनशील व्यवहार एकसाथ अघि बढे मात्र यो अपराध नियन्त्रण सम्भव हुन्छ । सभ्य समाजको पहिचान कमजोरलाई संरक्षण गर्न सक्ने क्षमताले निर्धारण गर्छ । त्यसैले मानव बेचबिखन अन्त्य गर्नु सरकारको मात्र होइन, सम्पूर्ण समाजको साझा दायित्व र नैतिक जिम्मेवारी हो । मानव बेचबिखनविरुद्धको लडाइँ सफल बनाउन कानुन कार्यान्वयन गर्ने निकाय मात्र सक्रिय भएर पुग्दैन । नागरिक स्वयं सचेत हुनु, शंकास्पद गतिविधिको समयमै सूचना दिनु, वैदेशिक रोजगारी वा अन्य अवसरका नाममा आउने अविश्वसनीय प्रलोभनप्रति सतर्क रहनु र पीडितलाई सामाजिक बहिष्कार होइन, सम्मानपूर्वक पुनःस्थापनाको वातावरण सिर्जना गर्नु उत्तिकै आवश्यक छ । राज्यले पीडितलाई न्याय, सुरक्षा र आत्मनिर्भर जीवनको सुनिश्चितता दिन सके मात्र उनीहरू पुनः शोषणको चक्रमा फस्ने जोखिम घट्छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसले हामी सबैलाई एउटै सन्देश दिन्छ—मानिसको स्वतन्त्रता, सम्मान र जीवनभन्दा ठूलो कुनै पनि स्वार्थ हुन सक्दैन । त्यसैले मानव बेचबिखनमुक्त समाज निर्माणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनु आजको अपरिहार्य आवश्यकता हो ।









प्रतिक्रिया दिनुहोस्