कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ । बिहान बिहान–करिब ९ बजेतिर वडा नम्बर ३ का स्थानीय दयाप्रसाद थारुको घरको आँगनमा निर्माणाधीन सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको निधन भएको हो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् ।
घरमै सटेको ट्याङ्कीमा दुई साताअघि निर्माण गरिएको थियो । ट्याङ्की उनीहरुले नै निर्माण गरेका थिए । थारुको घर निर्माणको जिम्मा लिएका उनीहरु सधैझैँ बुधबार बिहानै त्यहाँ काम गर्न पुगेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सेफ्टी ट्याङ्कीमा मानिस फसेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको कमाण्डमा १५ जनाको टोली खटिएको थियो ।
सेफ्टी ट्याङ्कीमा फसेका उनीहरुको उद्धार गर्न कठिन भएपछि जेसीबी मगाएर ट्याङ्की फुटाउनु परेको डमरपालले बताए । ‘तीन जनाको दुःखद निधन भएको छ । अहिले सबैजनाको उद्धार भइसकेको छ । उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान गरिनेछ,’ उनले भने ।कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष माधव रिजाल वडामा निकै दुःखद घटना घटेको बताउँछन् ।
उनका अनुसार तीनै जना मिस्त्रीको रुपमा काम गर्दै आएका थिए । मृतक कालु थारुले घर निर्माणको जिम्मा लिएको उनले बताए । अन्य दुई जना पनि उनीसँगै ज्यालादारीमा काम गर्दै आएका थिए । ‘हाम्रो वडामा निकै दुःखद घटना घटेको छ । ट्याङ्कीमा पहिला कालु दाई जानु भएको रहेछ । उहाँ आउनु भएनछ । त्यसपछि क्रमशः दुई जना भित्र छिरेका रहेछन् । अक्सिजनको कमी भएर निस्सास्सिएर मृत्यु भएको आशंका छ,’ उनले भने । तीनै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिनको माग
बुधबार बिहान तीनजना नगरवासीको मृत्यु भएपछि कोहलपुर नगरपालिकाले घटनाको सत्यतथ्य छानबिनको माग गरेको छ । घटनालगत्तै शोक वक्तव्य जारी गर्दै नगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन समन्वय गरिने जनाएको छ । कार्यबाहक नगरप्रमुख संगीता सुवेदीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा घटनाले कोहलपुरवासीलाई स्तब्ध र शोकाकुल बनाएको उल्लेख गरिएको छ ।
नगरपालिकाको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तप्रति गहिरो समवेदना प्रकट गरिएको छ । घटनालाई गम्भीर रुपमा लिँदै सेफ्टी ट्याङ्की, ढल तथा अन्य बन्द संरचनाका कार्य गर्दा आवश्यक सुरक्षा मापदण्ड, सुरक्षात्मक सामग्री तथा प्राविधिक सावधानीको पूर्ण पालना गर्न सबै पक्ष, निर्माण व्यवसायी, संघ संस्था तथा आम नगरबासीलाई अपिल गरिएको छ । ‘जीवनभन्दा ठूलो कुनै पनि काम हुँदैन । आवश्यक सुरक्षा अपनाएर मात्र त्यस्ता जोखिमपूर्ण काम गरौँ, ताकि भविष्यमा यस्ता दुःखद घटनाको पुनरावृत्ति नहोस्,’ नगरपालिकाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्