भेरीमा ५० शय्याको प्रसूति भवन बनाउने घोषणा



DCIM103MEDIADJI_0213.JPG

नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा लुम्बिनी प्रदेश सरकारले ५० शैय्याको प्रसूति वार्ड सञ्चालन मिल्ने गरी भवन निर्माण गर्ने भएको छ । अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले सो घोषणा गरेका हुन् । मन्त्री खत्रीले मुख्यमन्त्री चेतनारायण आचार्यसँगको सल्लाहबाट ५० शैय्याको प्रसूति वार्ड सञ्चालन गर्न मिल्ने भवन निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

उक्त भवन निर्माणपछि हाल रहेको प्रसूति वार्डमा बेड नपाउने र बिरामीको सेवाका लागि हुने असहजता अन्त्य भई आमा तथा शिशु मृत्युदर न्युनीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । खत्रीले भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाएका थिए ।

बिग्रेको सिटी स्क्यान सञ्चालनमा आउँदै

लुम्बिनी, कर्णाली, सुदूरपश्चिमको रेफर सेन्टरको रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा साढे २ वर्षभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको सिटी स्क्यान मेसिन सञ्चालनमा आउने भएको छ । अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड डा. नवीन दर्नालले सो जानकारी दिएका हुन् ।

अस्पतालको सिटी स्क्यान मेसिन साढे २ वर्षभन्दा बढी समयदेखि बिग्रिएर थन्किएकोमा अहिले मर्मत गरी परीक्षणको क्रममा रहेको र अब केही दिनमा उक्त मेसिन सञ्चालनमा आउने डा. दर्नालले जानकारी दिए । डा. दर्नालका अनुसार यससँगै अस्पतालमा डेक्सा स्क्यान मेसिन पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सिटी स्क्यान बिग्रिएको धेरै लामो समय बिते पनि मर्मतसम्भार पनि नगर्ने र नयाँ नयाँ खरिद नगरिँदा विपन्न, गरिब र दुर्गम जिल्लाबाट आएका बिरामीले महंगो शूल्क तिरे निजी संस्थाबाट सेवा लिइरहेका छन् ।

सिटी स्क्यान नहुँदा दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीले सबैभन्दा बढी दुःख पाउने गरेको र उपचारमा समेत ढिलाइ हुने गरेको छ । दुर्घटनामा परेर आएका बिरामीहरूलाई पनि सिटी स्क्यान गर्नका लागि निजीमै पठाउनुपर्ने अवस्था छ । करिब १४ वर्षअघि खरिद गरिएको उक्त मेसिनले पनि पूर्णरूपले काम गर्ने नगर्ने भने अझै यकिन भने नभएको दर्नालले बताएका छन् ।

अस्पतालमा पूर्वाधार र जनशक्ति थप्न पहल गर्ने सांसदको प्रतिबद्धता

आफ्नो स्थापनाको १३६ वर्ष पूरा गरेको भेरी अस्पतालमा भौतिक पूर्वाधार तथा जनशक्ति थप्नका लागि पहल गर्ने प्रतिनिधिसभामा बाँके र कैलालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रतिबद्धता जनाएका छन् । १३६औँ वार्षिकउत्सवका अवसरमा अस्पतालमा आयोजित समारोहमा बोल्दै बाँकेबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यद्वय मो. इश्तियाक राई र सुरेशकुमार चौधरी तथा कैलालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य केपी खनालले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका राईले अस्पतालको विकासमा पश्चिम क्षेत्रका सांसदहरूको सामुहिक पहल हुनुपर्नेमा जोड दिए । उनले भने, भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकहरूको उपचार गर्ने प्रमुख केन्द्र हो । त्यसकारण यस क्षेत्रका सबै सांसदहरूले साथ दिनुहोस् । अगुवाई मै गरौँला ।’ कार्यक्रममा सहभागी हुन आएका कैलालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य केपी खनालले पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अस्पतालको स्तरउन्नतीका लागि आफूले पनि पहल गर्ने बताए ।

बाँकेबाट प्रतिनिधित्व गर्ने चौधरीले अस्पतालमा मानव अंग प्रत्यारोपण जस्ता विशिष्टिकृत र अत्यावश्यक सेवाहरू थप्न आफ्नो तर्फबाट लागिपर्ने बताए ।
अस्पतालको वार्षिकोत्सवकै अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारी तथा २५ वर्ष सेवा पूरा गरेका डा. निर्माण शाहसहितका कर्मचारीलाई सम्मान, स्मारिका विमोचन, सचेतनामूलक नाटक एवं साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रम अस्पताल विकास समितिका कार्यबाहक अध्यक्ष डक्टप्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो ।

भेरी अस्पतालमा हरेक वर्ष सेवा लिन आउने सेवाग्राहीहरूको सङ्ख्या बढिरहेको छ । आव २०८०–०८१ मा एक लाख ९९ हजार एक सय ७२ जनाले सेवा लिएकोमा २०८१–०८२ मा २ लाख १२ हजार तीन सय र गत आर्थिक वर्ष २०८२–०८३ मा २ लाख २९ हजार नौ सय ३३ जनाले सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्षमा मात्रै पाँच हजार एक सय ७२ जनाले सर्जरीमार्फत उपचार सेवा पाएका छन् भने ६ हजार पाँच सय ९७ जना आमा सुत्केरी भएका छन् । यसैगरी, अस्पतालमा सञ्चालित विशिष्टकृत सेवा क्याथ ल्याबबाट आठ सय ५३ मुटुका बिरामीहरूले सेवा लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार