वागेश्वरी बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–११ स्थित वागेश्वरी बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच रोटरी क्लब अफ बाँके र क्याम्पसको समन्वयमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रम रोटरी क्लब अफ बाँकेका सन् २०२६–०२७ का अध्यक्ष इश्वरीजंग मल्लको अध्यक्षता र मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दानबहादुर हमालको प्रमुख अाितथ्यतामा सम्पन्न भएको हो ।

सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत क्लबसँगको समन्वयमा वृक्षारोपण गरिएको क्याम्पस प्रमुख हमालले बताए । उनका अनुसार कपुरसहित विभिन्न जातका ५० वटाभन्दा बढी बिरुवा रोपण गरिएको छ । क्याम्पस परिसरलाई हरियाली तथा स्वच्छ बनाउनको लागि वृक्षारोपण गरिएको उनको भनाइ छ ।

‘हामीले क्याम्पसलाई हरियाली तथा स्वच्छ बनाउने उद्देश्य लिएका छौँ । सोहीअनुसार रोटरी क्लब अफ बाँकेसँग समन्वय गरेर वृक्षारोपण गरिएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौँ,’ उनले भने । रोटरी क्लब अफ बाँकेका सन् २०२६–०२७ का अध्यक्ष इश्वरीजंग मल्लले क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै वागेश्वरी बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको बताए ।

उनका अनुसार क्लबले वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ‘हामीले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छौँ । सोहीअनुसार हामीले क्याम्पससँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरेका छौँ । आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गरिरहनेछौँ,’ अध्यक्ष मल्लले भने । वृक्षारोपणपश्चात् क्लबले क्याम्पसलाई मायाको चिनोसमेत प्रदान गरेको थियो । वृक्षारोपण कार्यक्रममा क्लबका प्रतिनिधि र क्याम्पसका प्रध्यापकहरु सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार