कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिकाले भूमि समस्या सामाधान समितिका पदाधिकारीहरुलाई भूमि समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ । कोहलपुर नगरपालिकामा जेनजी आन्दोलनपछि रोकिएको लालपुर्जा वितरण प्रक्रिया फेरि सुचारु गर्न माग गर्दै नगरपालिकाको एक प्रतिनिधि मण्डलले समितिका केन्द्रीय पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिका पदाधिकारीहरुसँग भेट भएको जानकारी दिँदै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यलये सामाजिक सञ्जाल फेसबुकमा जेनजी आन्दोलनपछि रोकिएको कोहलपुर नगरपालिका क्षेत्रभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको कार्य यथाशीघ्र पुनःसुरु गर्न आग्रह गरिएको बताएका छन् ।
भूमि समस्या सामाधान समितिका केन्द्रीय पदाधिकारीहरुसँग अत्यन्तै अर्थपूर्ण र सकारात्मक भेटघाट सम्पन्न भएको उनको भनाइ छ । भेटका क्रममा कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रियाका लागि आफ्नो तर्फबाट पूरा गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी गराएको उनले बताए ।
साथै, जेनजी आन्दोलनपछि रोकिएको कोहलपुर नगरपालिका क्षेत्रभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको कार्य यथाशीघ्र पुनः सुरु गर्न, कोहलपुर नगरपालिका वडा नम्बर १ मा वितरण गरिएका जग्गाधनी प्रमाणपुर्जाको मालपोतमा श्रेस्ता कायम गर्न माग गरिएको नगरप्रमुख आचार्यले बताए ।
उनका अनुसार भेटका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर नम्बर २, १२ र १३ मा पर्ने मध्यवर्ती क्षेत्रसम्बन्धी समस्या समाधानतर्फ आवश्यक पहल गर्न भूमि समस्या समाधान केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण गराइएको छ । सो विषयमा समितिका अध्यक्षसहित पदाधिकारीहरुले कोहलपुर नगरपालिका र भूमि आयोगबीच आवश्यक समन्वय गरी सम्पूर्ण प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको आचार्यले बताएका छन् ।
‘भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने यो अभियान सामाजिक न्याय, सम्मान र नागरिक अधिकारसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्य हो । यस अभियानलाई यथाशीघ्र निष्कर्षमा पु¥याई वास्तविक लाभग्राहीको हातमा जग्गाधनी प्रमाणपुर्जा पु¥याउन कोहलपुर नगरपालिका सदैव प्रतिबद्ध रहनेछ । भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो, र यस लक्ष्य प्राप्तिका लागि हाम्रो प्रयास निरन्तर जारी रहनेछ ।’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नगरप्रमुख आचार्यले भनेका छन् ।
नगरपालिकाको डेलिगेसनमा कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यसहित कोहलपुर– २ का वडाअध्यक्ष हरी कठायत, ४ का वडाअध्यक्ष मुवारक अली, ५ का वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ, १२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाह, १३ का वडाअध्यक्ष डम्मर खड्का र १५ का वडाअध्यक्ष दीपेन्द्रकुमार चौधरीको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्