विचारःराष्ट्रका लागि अविराम संघर्ष



सूर्य ढकाल

नेपाल संसारकै प्राचीनतम मुलुकहरूमध्ये एक हो । नेपालको इतिहास हजारौँ वर्ष पुरानो छ । नेपाल आजसम्म कसैको उपनिवेश बनेन् । कसैको दासत्व स्वीकार गरेन् । नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो । नेपालमा हजारौँ वर्षदेखि मानव जातिको बसोबास रहँदै आएको छ । नेपाल प्राचीनकालदेखि नै ज्ञान र अन्वेषण र विमर्शको थलोका रूपमा चिनिँदै आएको छ । मानव जातिले हासिल गरेका योग, आयुर्वेद र तन्त्र जस्ता ज्ञानका विधाहरूमा नेपालको महत्वपूर्ण योगदान छ । नेपाल गौतम बुद्धको जन्मस्थल मात्र होइन बौद्ध दर्शनको उद्गमस्थल समेत हो । तर आज लुसिफरहरूले विदेशीको इसारामा अस्थिरता मच्चाउन खोजिरहेका छन् । देशलाई चक्रव्यूहमा फसाउन खोज्दै छन् । अर्थतन्त्रलाई कोमामा पुराउन र सुरक्षा संयन्त्र असफल बनाउन खोज्दै छन् । प्राचीन सिँजा साम्राज्यबाट विकसित भएको सभ्यता र यहीँबाट जन्मिएको नेपाली भाषाले नेपाल राष्ट्रको निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । सिँजा खसहरूद्वारा शासित साम्राज्य थियो । र त्यो बेला निकै ठूलो भूभागमा फैलिएको थियो । नेपाली भाषाको उत्पत्ति त्यहीँबाट भएको तथ्यलाई दैलेखको दुल्लुमा रहेको नेपाली भाषाको १००० वर्ष पुरानो शिलालेखमा उल्लेख गरिएको छ ।काठमाडौँ उपत्यका हजारौँ वर्षदेखि मानव जातिको बसोबास भएको थलोको रूपमा रहेको छ । यसले वस्तुकला, कृषि र मानव ज्ञानमा ठूलो योगदान गरेको छ ।
प्राचीन समयमा चिनिया बौद्ध यात्रीहरूले गरेको कैलासकुट दरबारको वर्णले त्यस युगमा वस्तुकला र सभ्यताको दृष्टिले नेपाल निकै अगाडि थियो भन्ने स्पष्ट गर्छ ।

लिच्छवीकालसम्म पनि काठमाडौँ उपत्यका भारत र चीनबीच मध्यस्थ व्यापार बिन्दुको रूपमा महत्वपूर्ण भूमिका खेलेको थियो । चलनचल्तीमा नेपाललाई सानो देश भन्ने गरिए पनि यो भनाइ सही होइन । दुई ठूला छिमेकी देशहरूको कारण नेपाल सानो मानिएको हो । यथार्थमा नेपाल मध्यम आकारको मुलुक हो । यो भूगोलका हिसाबले संसारको ९५औँ र जनसङ्ख्याको हिसाबले ४९औँ ठूलो मुलुकका रूपमा रहेको छ हामीले यसमा गर्व गर्नुपर्छ । नेपाल कहिले कसैको उपनिवेश नहुनु र सधैँ स्वतन्त्र रहनु नेपालको इतिहासको गौरवशाली पक्ष हो । यो लुसिफरहरूलाई मन परिरहेको छैन । दक्षिण एसियाका कतिपय मुलुकहरू विदेशीहरूको नियन्त्रणमा हुँदा समेत नेपाल भने सधैँ स्वतन्त्र रहनुमा हाम्रा वीर पुर्खाहरूको योगदान अविस्मरणीय छ । लुसिफरहरू आगो लगाएर यो इतिहास ध्वस्त बनाउन चाहन्छन् र खोजिरहेका छन् ।
शासकहरूको असक्षमता र बहादुरीका कारण यो कहिले खुम्चियो र कहिले विस्तारित भयो । यद्यपि सुगौली सन्धि १८१६ ले यसलाई खुम्चाएर आजको मेची महाकालीको सीमामा पु¥याएको छ । यस बीचमा हाम्रो सिमाना र आन्तरिक जीवनमा बाह्य हस्तक्षेप बारम्बार सामना गर्दै आएको छौँ । यही भदौ २३ र २४ गते जेनजीका नाममा भएको हमला बाह्य योजना, आन्तरिक हमलाको रूपमा प्रहरको निशाना बन्न पुग्यो । नेपालको अस्तित्व सधैँभरि एउटा सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा रहँदै आएको छ । संयुक्त राष्ट्रसंघका प्रारम्भिक सदस्यमध्ये एक नेपालले स्वतन्त्र ढंगले अन्तर्राष्ट्रिय मञ्चबाट शान्ति स्थापनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका र स्वाधीनताको निम्ति आवाज उठाउँदै आइरहेको छ । नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको संस्थापक र बिमेस्टेक सक्रिय सदस्य हो । केपी ओलीको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल सुनिन र देखिन थालेको थियो यो लुसिफरहरूलाई मन परेको थिएन ।

नाकाबन्दीलाई असफल बनाउनु, चीनसँग पारवाहन सन्धि गर्नु, कालापानी, लिपुलेख, लिम्पुयाधारा हाम्रो हो भन्नु, भूगोल ठूलो होस् वा सानो, जनसङ्ख्या धेरै होस् वा थोरै देश धनी होस् वा गरिब, दुई देशको राष्ट्रियता सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता सार्वभौमसत्ता दुवैको बराबर हुन्छ भन्नु लुसिफरहरूको लागि टाउको दुखाइको विषय थियो । बफादारी निभाउन नसकेको प्रमाण थियो । त्यो प्रमाणित देखाउनको निम्ति लुसिफरहरूले हाम्रो इतिहासमाथि आगो सल्काउने काम गरे । हाम्रो आत्मामाथि प्रहार गरे । लामो संघर्ष आन्दोलन र क्रान्तिको जगमा हामी नेपालीहरू आफ्नो संविधान आफैँ निर्माण गर्ने काम सम्पन्न गरेका थियौँ । कस्तो राजनीतिक प्रणाली, राज्य संरचना, सामाजिक र आर्थिक नीतिहरू मनन गर्ने औपचारिक निर्णयहरू हामी आफैँ निर्णय गर्दै थियौँ । लुसिफरका मालिकहरूलाई यो कुरा मन परेको थिएन । लुसिफरहरूलाई लागेको होला नेपालको स्वाधीनता र स्वतन्त्रताको संघर्ष समाप्त भयो । हामी खबरदारी गर्न चाहन्छौँ हाम्रा अग्रजहरूले लँडेर बलिदान गरेर निर्माण गरेको यो राष्ट्रको लागि एकमुठी रगत रहेसम्म हामी लडिरहने छौँ । हाम्रा निर्दोष र कलिला भाइबहिनीहरूलाई गुमराहमा पारेर जे गर्न खोजिरहेका छौ, एकदिन तिमीलाई सडकमा नाङ्गेझार पारेर जनताका बीचमा नङ्गाएर जनताले तिमीलाई दण्डित गर्नेछन् । विगतका कतिपय शासकहरूले आफ्नो तानाशाही सत्ताको रक्षाको लागि राष्ट्रवादको दुरुपयोग गरे । यस विषयमा हामी सचेत छौँ । अन्धराष्ट्रवाद र अर्कोतिर आत्मसमर्पणवाद जस्ता गलत प्रवृत्तिको हामी डटेर आलोचना र विरोध गर्छौँ । जननेता मदन भण्डारीले अगाडि सार्नुभएको प्रगतिशील राष्ट्रवादको अवधारणामा हामी अगाडि बढ्छौँ । प्रगतिशील राष्ट्रवाद भनेको आफ्नो राष्ट्र हितहरूको रक्षा हो ।

हाम्रो राष्ट्रवाद कुनै अमुक राष्ट्रको विरोधमाथि आधारित छैन । हामी स्वतन्त्र सार्वभौम र स्वाधीन राष्ट्रको रूपमा सम्मानित ढंगले विश्व राजनीतिक रङ्गमञ्चमा उभिन चाहन्छौँ । हाम्रा छिमेकीहरूसँग सार्वभौम समानता हस्तक्षेप पारस्परिक लाभ र स्वतन्त्रतामाथि आधारित सम्बन्ध विकास गर्न चाहन्छौँ । हामी नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न अरुको भूमिबाट हाम्रो विरोध कुनै पनि गतिविधि नहोस् भन्ने चाहन्छौँ । छिमेकीहरूसँगको पुरानो सम्बन्धलाई थप बलियो र विश्वासिलो बनाउन चाहन्छौँ ।नेपालको प्राकृतिक स्रोतमाथि नेपाली जनताको अधिकारलाई यसको लाभ र अन्य छिमेकी मुलुकसँग पनि साझेदारी गर्न चाहन्छौँ । हामी सुरक्षा, परराष्ट्र सम्बन्ध, राजनीतिक व्यवस्था र आर्थिक विकासको लागि आफ्नो लागि निर्णय गर्न आफैँ तयार छौँ । हामी कसैको पक्ष या विपक्षमा कुनै गठबन्धनमा सामेल हुँदैनौँ । श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा हामी सर्वहारा अन्तर्राष्ट्रियवादका सैद्धान्तिक मान्यतालाई समर्थन गर्छौँ । साम्राज्यवाद उपनिवेशवाद र एकाधिकार पूँजीवादका विरोधमा उभिन्छौँ । र विश्व शान्ति न्याय समानता स्वतन्त्रता र समाजवादको पक्ष लिन्छौँ । तर हाम्रो परराष्ट्र सम्बन्ध निश्चित राजनीतिक विचारधाराबाट होइन आधारभूत राष्ट्रिय हितबाट निर्देशित हुनेछ । राष्ट्रिय स्वाधीनता स्वाभिमान र स्वतन्त्रताको यो गौरवशाली गाथालाई चिरास्त राख्न राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने पुर्खाहरूले लडेर बचाएको देशलाई लुसिफरहरूको हातबाट बचाउन राष्ट्रिय हित स्वाभिमान र समृद्धिका लागि अडेर अगाडि बढ्नु आजको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार