गत हप्ता राजधानीको मुटुमा ‘पठाउ’को बाइक चलाएर जीविकोपार्जन गरिरहेका मुगुका युवा गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाह गरेको घटनाले त्यही केभिन कार्टर मृत्युको नजिक पुगेको बालक र मृत्युको प्रतीक्षामा पर्खिबसेको गिद्धको याद आइरहेको छ ।
जीतबहादुर शाह
फोटो पत्रकारको नाम थियो केभिन कार्टर । उनी दक्षिण अफ्रिकाका एक प्रख्यात फोटो पत्रकार थिए । उनले खिचेको एउटा फोटोका लागि उनलाई सन् १९९४ मा पत्रकारिता जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘पुलित्जर पुरस्कार’ प्रदान गरिएको थियो र त्यही फोटोको कारणले उनले आफ्नो निम्ति आत्महत्याको बाटो पनि रोज्नुपरेको थियो । त्यत्तिबेला सुडान गृहयुद्धका कारण चरम भोकमरीको पीडामा थियो । केभिन कार्टर संयुक्त राष्ट्र संघको खाद्यान्न सहायता केन्द्र नजिकै तस्बिरहरू खिचिरहेका थिए । त्यही क्रममा उनले भोकमरीले गर्दा हिँड्नसमेत नसकी भुइँमा टाउको राखेर रोइरहेको एउटा सानो बच्चा (पछि अनुसन्धानबाट ऊ बालक भएको र उसको नाम कोङ न्योङ भएको खुल्यो)लाई देखे । बच्चाको पछाडि केही दूरीमा एउटा गिद्ध उसको मृत्युको प्रतीक्षामा बसिरहेको देखियो । कार्टरले करिब २० मिनेटसम्म पर्खिएर गिद्धले पखेटा फैलाउने सही समयको प्रतीक्षा गरे, तर गिद्ध त्यही बसिरह्यो । अन्त्यमा उनले तस्बिर खिचे र गिद्धलाई धपाए । त्यही फोटोको कारण उनी पुरस्कृत भए । यही तस्बिरले गर्दा संसारभरि सुडानको भोकमरीप्रति सहानुभूति त जाग्यो, तर सँगसँगै केभिन कार्टरमाथि गम्भीर नैतिक प्रश्नहरू पनि उठाइए ‘कार्टर, तिमीले तस्बिर त खिच्यौ, तर त्यो बच्चालाई किन बचाउन सकेनौ ? तिमीसँग क्यामेरा त थियो, तर तिम्रो मानवीय संवेदना कहाँ थियो ?’ कतिपयले त उनलाई गिद्धसँगै तुलना गर्दै भने पनि, ‘त्यहाँ एउटा होइन, दुई वटा गिद्ध थिए— एउटा मांसाहारी गिद्ध र अर्को क्यामेरा बोकेको गिद्ध ।’ सुडानमा आफ्नो आँखाअगाडि देखेका हजारौँ मानिसहरूको मृत्युको बीभत्स दृश्यले उनलाई त्यसै पनि भित्रभित्रै दुखाइरहेको थियो ।
त्यसैमा पुरस्कार पाएको फोटोप्रति गरिएको टीकाटिप्पणी र आलोचनाले उनी झनै गम्भीर डिप्रेसनमा परे । पुलित्जर पुरस्कार पाएको केही महिनापछि नै २७ जुलाई १९९४ मा ३३ वर्षको उमेरमा केभिन कार्टरले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आफ्नो कारभित्र कार्बन मोनोअक्साइड ग्यास भरेर आत्महत्या गरे । उनले मर्नुअघि एउटा ‘सुसाइट नोट’ छोडेका थिए, जसमा लेखेका थिएः ‘म साँच्चै नै धेरै माफी चाहन्छु । जीवनको पीडाले मेरो खुसीलाई यसरी जितेको छ कि अब खुसीको कुनै अस्तित्व नै बाँकी छैन । मलाई भोकमरी, हत्या, लासहरू र रोइरहेका भोका बच्चाहरूका ती विभत्स सम्झनाहरूले सधैँ लखेटिरहन्छ ।’ गत हप्ता राजधानीको मुटुमा ‘पठाउ’को बाइक चलाएर जीविकोपार्जन गरिरहेका मुगुका युवा गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाह गरेको घटनाले त्यही केभिन कार्टर मृत्युको नजिक पुगेको बालक र मृत्युको प्रतीक्षामा पर्खिबसेको गिद्धको याद आइरहेको छ । प्रत्यक्षदर्शीहरूले भनेका छन्, ‘उनले आफ्नै बाइकबाट पेट्रोल निकालेर आत्मदाह गरेका हुन् ।’ कारण देखिन्छ, ट्राफिक प्रहरीले उनलाई गलत ठाउँमा बाइक रोकेको कारण एक हजार रुपैयाँको चिट काट्यो, त्यसैले । यसले मेरो मानस्पटलमा विभिन्न प्रश्नहरू उब्जिरहेका छन् – ‘गणेशलाई बाइकबाट पेट्रोल निकाल्नका लागि समय लाग्यो होला, पेट्रोल राख्ने भाँडो खोज्न पनि समय लाग्यो होला । पेट्रोल सल्काउनका लागि पनि सलाई वा लाइटरको जोहो गर्न पनि समय लाग्यो होला । त्यत्ति समयसम्म राजधानीको मुटुमा त्यो पनि दिउसोको समयमा के हेरे मानिसहरूले ? के उनीहरूसँग फोटो खिच्ने मोबाइलबाहेक मानवता बुझ्ने मन थिएन ? के उनीहरूसँग फोटो पोष्ट गरेर भाइरल हुने अभीष्टबाहेक गणेशलाई बचाएर आत्मिक हिसाबले सन्तुष्टि हुने संवेदना थिएन ? के प्रहरी घटनाको साक्षी हुन र जरिबानाको प्रतिशत हिसाब गर्न मात्र सडकमा उभिएको हो ? के ऊभित्र मानिसलाई बचाउनका लागि पदीय जिम्मेवारी र मानवीय भावना हुनुपर्दैन ?’
मलाई लाग्छ, गणेश नेपालीले आत्मदाहका लागि तयारी गर्दैगर्दा देख्ने मानिसहरू तमाम थिए । तथापि उनलाई बचाउनतिर कोही पनि लागेनन् । यसबाट एउटा कुरा प्रष्ट के हुन्छ भने वरिपरिका मानिसहरू त थिए तर उनलाई राम्रोसँग चिन्ने कोही थिएनन् । यो जमाना यस्तै छ । सहयोग पाउन पनि चिनजान हुनुपर्दछ, उद्धारको अवसर प्राप्त गर्नु पनि कसैले आफ्नो सम्झेको हुनुपर्दछ । यहाँ चिनजान र आफ्नोपन भएन भने कसैको फोटो खिचेर आफ्नै अनुहार पुस्तिकामा आफ्नै लाइक र भ्यूज बढाउने हरकतबाहेक अरु हिसाबले मानिसले सहयोग गर्दैन । आफैँले मत दिएर सत्तामा पुगेको जनप्रनिनिधिले पनि चिन्दैन । यस्तो हुन अस्वाभाविक पनि होइन, किनभने जसले चिन्नु पर्ने हो, ऊ त्यहाँ पुग्नका लागि समेत कसैले चिनेकै कारणले सम्भव भएको हो । त्यसैले उसले पनि आफूले सुविधा र सत्ता प्राप्त गरेको फरमुला आफूले पनि अरुलाई सुविधा र सहयोग प्रदान गर्न प्रयोग गर्दछ । आज पियनदेखि मन्त्री हुनसमेत विभिन्न किसिमले चिनजान हुन आवश्यक छ । अन्यथा, भौतिक सम्पन्नताका लागि प्रतिस्पर्धामा दौडिरहेको दुनियाँमा चिनजान र सिफारिसबिना कसैको सहयोग पाउनु भनेको चिट्ठा परेपछि मात्रै हो । मान्छेजस्ता देखिने सबै मान्छेहरू आफ्नै हुन् भन्ने सम्झेर व्यवहार गर्ने समय त बाकी रहेनछ अब । मनमा भौतिक सम्पत्तिको मोह पलाउँदै गयो भने मानवताको सिंहासन क्रमशः भत्किँदै जाने क्रम बढ्छ । आज भएको छ त्यही । भारतको उत्तरप्रदेशमा केही दिन पहिले मात्रै आफ्नो प्रेमको अवरोध सम्झेर एउटा डेढ वर्षको बालकलाई सडकमा पटकपटक पछारेर हत्या गरेको दृश्य देखिन्छ, जसलाई उत्तर प्रदेश अदालतले फासीको सजायसमेत सुनाइसकेको छ । चल्ती सडकमै एकजना युवालाई अर्को युवाले हात हालाहाल गर्ने क्रममा छुरी रोपेर हत्या गरेको दृश्य पनि असरल्ल भएको छ ।
एउटा गुम्बामा अध्ययन गर्न गएको बालकलाई त्यहाँको शिक्षिकाले पशुवत व्यवहार गरेको दृश्य पनि यी आँखाहरूले देख्नुपरेको छ । त्यत्तिमात्र नभइ समथिङ ब्रोले आफ्नै सन्तानलाई जन्म दिने आफ्नै पत्नी एक जना नेपाली सेनाको क्याप्टेनलाई लखेटीलखेटी हतियार प्रयोग गरी हत्या गरेको दृश्य पनि सामाजिक सञ्जालमा खोज्दा भेटिन्छ । गणेश नेपालीलाई कसैले नचिनेर पनि सहयोग नगरेको होला तर मैले माथि उल्लेख गरेका घटनाहरू भने राम्रोसँग चिनेर भएका घटनाहरू हुन् । यत्ति हो कि मित्रताको परिचय समय र कालखण्डका कारणले गर्दा दुश्मनीमा बदलियो । जे होस्, यी सबै घटनाक्रमले प्रमाणित गरेको छ कि मानिस दया, माया, करुणा, प्रेम, सद्भाव, सहयोग, सहानुभूति र हार्दिकता अब घट्दै गइरहेको आभास हुन थालेको छ । बादलभित्र पनि चाँदीको घेरा भएझैँ मानवताको महासागर सुकिसकेको भन्ने अवस्था भने छैन र भन्यौँ भने अलि हतार गरेको ठहर्छ । गतवर्ष साउन ५ गते (जुलाई २१)को घटना हो, बङ्लादेशको ढाकाको उत्तरास्थित एउटा विद्यालयमा एउटा लडाकु बिमान दुर्घटना भई खस्दा विद्यालयमा आगो लागेको थियो । त्यत्तिबेला एउटा ४६ वर्षीय शिक्षिका महरिन चौधरी कक्षामा पढाइरहेकी थिइन । विद्यालयमा आगलागी भयो । उनी झटट्पट्ट बाहिर आइन् तर उनका विद्यार्थीहरू कक्षाबाट बाहिर आउन सकेनन् । आगोको मुस्लोबाट रुनकराउन थाले । उनी कक्षाभित्र गएर २० जना विद्यार्थीहरूलाई बाहिर निकालेर बचाउन सफल भइन् । उनलाई यत्तिबेला घरबाट श्रीमान्ले फोन गरेर ‘तिमीलाई आफ्ना बच्चाले घरमा पर्खेर बसेका छन् । प्लिज छिटो आउ’ भनेर फोन गर्दा उनको जवाफ थियो – ‘यिनी पनि मेरै सन्तान त हुन् । यिनलाई यो अवस्थामा छोडेर म कसरी आउँ ।’ उद्धारको क्रममा उनको असी प्रतिशत शरीर आगोले खाइसकेको थियो । उनले बिस जना विद्यार्थीलाई बचाउन सफल भए पनि उनको भने त्यही राति आठ बजे अस्पतालमा निधन भयो । आज बङ्गलादेशमा उनलाई अमर शिक्षिका र उनका सन्तानलाई अमर आमाका सन्तान भनेर सम्मान गरिएको छ ।
मानवताको क्षेत्रमा उत्कृष्ट काम गर्नेहरू पनि धेरै छन् तथापि बहुमत भने निकृष्टहरूकै छ । सन् १९३८–१९३९ मा जब नाजी जर्मनीले चेकोस्लोभाकियामाथि नियन्त्रण जमाउँदै थियो र यहुदीहरूमाथि सङ्कट मडारिएको थियो, तब बेलायतका एक सामान्य बैंक क्लर्क निकोलस विन्टनले एउटा विशाल उद्धार कार्यको नेतृत्व गरे । उनले एक्लै पहल गरेर, कानुनी झन्झटहरू झेल्दै, नक्कली कागजपत्र बनाएर बेलायती परिवारहरूलाई फकाउन सफल भई चेकोस्लोभाकियाबाट ६६९ जना बालबालिका (जसमध्ये धेरैजसो यहुदी थिए)लाई रेलमार्फत सुरक्षित रूपमा बेलायत पु¥याए । उनले यो कार्य कुनै प्रचार वा प्रशंसाका लागि गरेका थिएनन् । युद्ध सकिएपछि पनि उनले यसबारे कसैलाई भनेनन् र आफ्नी श्रीमतीलाई समेत पनि भनेनन् । घटनाको ५० वर्षपछि उनकी श्रीमतीले घरको बुइँगलमा एउटा पुरानो डायरी फेला पारिन्, जसमा ती उद्धार गरिएका बालबालिकाहरूको सूची र फोटोहरू थिए । विश्वमा यस्ता मानवीय कार्य गरेर विश्वविख्यात हुनेहरूमा मदर टेरेसा, नेल्सन मण्डेला, हेलेन केलार, वैज्ञानिक लुइशपाश्चर आदिलाई सम्झिन सकिन्छ । लुइशपाश्चरले त भनेका पनि छन् ः ‘विज्ञानको कुनै देश हुँदैन, किनकि ज्ञान मानवताको साझा सम्पत्ति हो र यसले विश्वलाई उज्यालो पार्छ ।’ गणेश नेपालीको आत्मदाहलाई लिएर अहिले वर्तमान सरकारको समेत आलोचना, टीकाटिप्पणी र विरोध भइरहेको छ । मलाई पनि यस्तो लागिरहेको छ कि सरकार सत्तामा गएको सयदिन पुग्दा पनि नागरिकको पक्षमा खासै उल्लेख्य काम गर्न सकिएको देखिएन । अहिले नेपालमा सानासाना कुराहरूले पनि ठूलो सन्देश दिइरहेको अवस्था छ । गाउँबस्तीतिर अटोरिक्सा र सहरतिर पठाउ र इनड्राइभ यातायात सेवाले नागरिकलाई अप्ठ्यारो पर्दा यत्ति सहयोग गरेको देखिन्छ कि त्यत्ति सहयोग त सरकारले पनि गर्न सकेको देखिँदैन ।
यिनीहरूले नागरिकलाई सहयोग मात्र होइन विदेशतिर जानसक्ने सम्भावना भएका मलाई लाग्छ मुलुकभरिका पाँच–छ लाख युवाहरूलाई समेत विदेश जानबाट रोकेको अवस्था छ । निजी क्षेत्रबाट पहल भएका यस्ता कार्यक्रमहरूमा सरकारले समेत सहकार्य गर्नुपर्नेमा उल्टै निहुँ खोजेकोझै गर्नु राम्रो हुँदैन कि । सरकार सशक्तहरूको भन्दा अशक्तहरूको हुनुपर्ने हो । तर धेरै मानिसहरूले ठूलो अपेक्षा गरेर दुईतिहाइ पुग्नेगरी मत दिएर विश्वास गरेका नेताहरू सत्तामा गएपछि विपन्न र अशक्तहरूको पक्षमा के काम भयो त भन्ने बारेमा बखान गर्न सरकारका प्रशंसकहरूलाई समेत अलि मुश्किल भइरहेको छ । वायाँ मस्तिष्क चलाउने विद्वान भनिएकाहरू सरकारमा गएपछि केही होला भनेको त करुणा, दया, माया, मानवता आदि क्षेत्रमा सक्रिय हुने सरकारको दायाँ मस्तिष्क त प्यारालाइज्ड देखिएको छ । सुकुम्वासी र पठाउ राइडरहरूले आत्महत्याको बाटो समात्नु, अपाङ्गता भएकाहरूप्रति दुव्र्यवहार गर्नु जस्ता कार्यहरू यसकै दृष्टान्तको रूपमा देखिएका छन् । अझै केही बिग्रेको छैन । बल्ल सयदिन कट्यो । मानवताको उत्कृष्ट नमुना हुने वा निकृष्ट ? आफूलाई करेक्सन गरेर अघि बढ्न सकिन्छ । विश्वमा नेल्सन मण्डेला, अब्राहम लिङ्कन र लि कुवान युले नेतृत्व गरेको जस्तो मानवता र विकासप्रेमी सरकार हुने वा हिटलर र मुसोलिनीहरूले नेतृत्व गरेको जस्तो हुने ? सरकारले आफ्ना क्रियाकलापहरूलाई पुनरावलोकन गरेर अघि बढ्न सकिने समय अझै छ । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्