कोहलपुर (बाँके)।
बाँके बैजनाथ–६ का लोकबहादुर पुनमगर एक महिनापछि वैदेशिक रोजगारीका लागि सर्विया जाँदै थिए । परिवार र सन्तानको सुनौलो भविष्यका लागि विदेश जाने तयारी गरिरहेको सपना असार २६ गते सधैँका लागि टुट्यो । जब पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–बाँसगढी सडकखण्डको बैजनाथ–५ वनकटवामा ट्रकको ठक्करबाट लोकबहादुर सधैँका लागि अस्ताए ।
अन्दाजी दिउँसो साढे १ बजेतिरको समयमा बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको यूपी ६२ बिटी ०१८८ नम्बरको ट्रकले लोकबहादुर सवार भे११प ९२१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा लोकबहादुर एक्लै थिएनन् । उनकी श्रीमती सुशीला पुनमगर र १८ महिने छोरी सुलोचना पुनमगर पनि सँगै थिए । दुर्घटनापछि लोकबहादुरको तत्कालै उद्धार गरिए पनि बचाउन असफल भएको उनका दाजु भुपाल पुनमगर बताउँछन् ।
उनका अनुसार विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा लोकबहादुर गम्भीर घाइते भएका थिए । दुर्घटनास्थलबाट उद्धार गरेर नेपालगन्ज मेडिकल कलेजमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनका दाजुले बताए । सँगै गम्भीर घाइते सुशीलाको अहिले काठमाडौँस्थित वि एण्ड वि अस्पतालमा उपचार भइरहेको भुपाल बताउँछन् । उनको बायाँ खुट्टा भाँचिएको छ । १८ महिने छोरी सुलोचनाको अवस्था सामान्य रहेको उनले बताए ।
बैजनाथ–६ का वडाअध्यक्षसमेत रहेका पुनमगरले भने, ‘भाई वैदेशिक रोजगारीमा जाने तयारीमा थियो । सम्पूर्ण प्रक्रियासमेत पूरा भइसकेको थियो । एक महिनापछि उड्दै थियो ।’ एक महिनापछि विदेश जाने भएपछि आफन्त भेटघाटको क्रममा असार २५ गते कोहलपुरस्थित ससुरालीमा दम्पतीसहित आएका थिए, लोकबहादुर ।
२६ गते बिहान ससुरालीमा खाना खाएर दिउँसो घर आउने समयमा दुःखद घटना घटेको भुपालको भनाइ छ ।
ट्रकको लापरबाहीका कारण आफ्नो परिवारमा ठूलो दुर्घटना भएको समेत उनले बताए । लोकबहादुर होटल तथा निर्माण व्यवसायमा संलग्न थिए । लोकबहादुरले कोहलपुरको गोलपार्कमा ‘डि’ क्याफे सञ्चालन गर्दै आए पनि विदेश जानकै लागि उक्त व्यवसाय एक महिनाअघि मात्रै छोडेका थिए । निर्माण व्यवसायसमेत परिवारको जिम्मा छोडेर जन्मथलो छोड्ने तयारीमा रहेका उनी अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् ।









प्रतिक्रिया दिनुहोस्