कृषि आधुनिकीकरण कार्यक्रमको अन्तरनिकाय संयुक्त अनुगमन



कोहलपुर ।

बर्दिया र बाँके जिल्लामा विभिन्न जोन तथा सुपरजोनहरुमा सञ्चालित कार्यक्रमहरुको अन्तरनिकाय संयुक्त अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाको आयोजनामा दुई जिल्लाका जोन तथा सुपरजोनहरुमा सञ्चालन कार्यक्रमको अनुगमन गरिएको हो । अनुगमन टोलीले कृषक तथा कृषि समूहलाई उपलब्ध गराइएका कृषि यन्त्र, उपकरण, पूर्वाधार र अनुदान कार्यक्रमको स्थलगत निरीक्षण गरी तिनको उपयोगिता तथा प्रभावकारिताबारे जानकारी लिएको थियो ।

कार्यक्रममा कृषि यान्त्रीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले वितरण गरिएका आधुनिक उपकरणको प्रयोग अवस्थाबारे समेत छलफल गरिएको थियो । अनुदानमा प्रदान गरिएका यन्त्रिकरणले कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा किसानको आयआर्जनमा आधुनिक प्रविधिको प्रयोगले सकारात्मक प्रभाव पारेको जिल्ला समन्वय समिति बाँके उपप्रमुख सिता कार्कीले बताइन् । उनले सरकारले प्रदान गर्ने अनुदानको दुरुपयोग भएको धेरै सुनिए पनि त्यसमा सत्यता नरहेको जानकारी दिइन् ।

अनुगमन गर्दा वास्तविक किसानले नै अनुदान पाएर मनग्य आम्दानी गर्नुका साथै रोजगारी सिर्जना समेत गरेको पाइएको बताइन् । अनुदानबाट कृषकहरु खुसी रहेको र उत्पादन कृषिजन्य बस्तुको बजार समस्या रहेकाले व्यवस्थापन गर्न माग गरेको जानकारी दिइन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बर्दियाका कृषि अधिकृत युवराज विकका अनुसार बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालन गरिएका कार्यक्रमहरुको संयुक्त अनुगमन गरिएको हो । उनका अनुसार अहिले ६ वटा जोन र १ सुरजोन सञ्चालनमा रहेको छ ।

कार्यालयले सूचाना जारी गरेर कृषकलाई सुचिकृत गर्ने र उनीहरुको मागका आधारमा अनुदान प्रदान गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार कार्यालयले साना सिँचाइ, यान्त्रीकरण, बीउ ,उद्यमशिलता विकास, धान खरिद लगायतका कामहरु गर्ने गर्छ । कार्यालयले गरेको अनुदानको सही सदुपयोग भएको र आत्मनिर्भर कृषक भएको देख्दा खुसी लागेको उनले बताए ।

बाँके र बर्दिया दुई जिल्लाको अन्तरनिकाय संयुक्त अनुगमन गर्दा सन्तोषजनक पाइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम खुमलटार ललितपुरका वरिष्ठ कृषि अधिकृत रबिन धितालले बताए । उनले १० वर्षदेखि सञ्चालन भइरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम आगामी वर्षहरुमा रुपान्तरण भएर आउने जानकारी दिए ।
उनले अनुगमनमा जाँदा कृषकहरुले ५० प्रतिशत अनुदान पारेर पनि आफैँले गरेको ठूलो लगानी र सफलताले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको ओज अझ बढाएको र वास्तविक कृषकहरुको श्रम र लगानी खेर जान नपाएको बताए ।

अनुगमनका क्रममा कार्यक्रम सञ्चालनमा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे सरोकारवालासँग अन्तरक्रिया गर्दै पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । स्थानीय कृषकहरूले समयमै प्राविधिक सेवा, गुणस्तरीय बीउबिजन तथा बजार व्यवस्थापनमा थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार