गर्मीसँगै सुरु हुने वर्षायाम नेपालीका लागि हरियाली, कृषि उत्पादन र आशाको मौसम हो । तर यही मौसमसँगै अर्को गम्भीर चुनौती पनि जोडिएर आउँछ, सर्पदंश । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै देशका विभिन्न भाग, विशेषगरी तराई, भित्री मधेश र गर्मी बढी हुने क्षेत्रमा सर्पदंशका घटना उल्लेख्य रूपमा बढ्ने गरेका छन् । सयौँ नागरिकले अकालमै ज्यान गुमाउँछन्, हजारौँ उपचारका लागि अस्पताल पुग्छन् । यति ठूलो मानवीय क्षति हुँदाहुँदै पनि सर्पदंशलाई अझै मौसमी घटना मात्र ठान्ने प्रवृत्ति देखिन्छ । वास्तवमा यो जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौती हो, जसलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने समय आइसकेको छ । नेपाल कृषिप्रधान देश हो । वर्षायाम सुरु भएसँगै धान रोपाइँ, खेतबारीको काम र ग्रामीण जनजीवन अत्यधिक सक्रिय हुन्छ । यही समयमा सर्पहरू पनि आफ्नो वासस्थानमा आएको परिवर्तन, पानीको बहाव र आहारको खोजीका कारण मानव बस्ती र खेतीयोग्य जमिनतर्फ आउँछन् । किसान, मजदुर, बालबालिका र ग्रामीण समुदायका नागरिक सबैभन्दा बढी जोखिममा पर्छन् । रातिको समयमा टर्चको प्रयोग नगर्नु, खुला खुट्टाले खेतमा काम गर्नु, घर वरिपरि झाडी र फोहोर रहनु तथा भुइँमा सुत्ने चलनले जोखिम झन् बढाउँछ । चिन्ताको विषय के हो भने सर्पदंशबाट हुने धेरै मृत्यु विषको असरले मात्र होइन, उपचारमा हुने ढिलाइका कारण पनि हुने गरेको छ ।
अहिले पनि धेरै ठाउँमा सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टा झारफुक, धामी–झाँक्री वा अन्य अवैज्ञानिक उपचारमा समय खर्चिने गरिन्छ । यसले बिरामीको ज्यान झन् जोखिममा पार्छ । विषालु सर्पले टोकेको अवस्थामा समयमै स्वास्थ्य संस्थामा पुगेर आवश्यक उपचार गर्नु नै जीवन बचाउने एकमात्र भरपर्दो उपाय हो । यस तथ्यलाई समाजका हरेक तहसम्म पु¥याउनु आवश्यक छ । स्वास्थ्य प्रणालीको तयारी पनि उत्तिकै महत्वपूर्ण छ । सर्पदंशको जोखिम बढी रहेका जिल्लाका अस्पतालहरूमा पर्याप्त मात्रामा विषप्रतिरोधी औषधि (एन्टिभेनम), सघन उपचारका लागि आवश्यक उपकरण र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था अनिवार्य हुनुपर्छ । वर्षायाम सुरु भएपछि मात्र औषधि व्यवस्थापन गर्ने परम्परागत शैली पर्याप्त हुँदैन । जोखिमको पूर्वानुमानका आधारमा आवश्यक सामग्री र जनशक्ति समयमै तयारी अवस्थामा राख्नुपर्छ । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थालाई पनि सक्षम बनाइएन भने उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता धेरै नागरिकका लागि घातक बन्न सक्छ । यससँगै एम्बुलेन्स सेवा, आपत्कालीन उद्धार र रेफरल प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक छ । ग्रामीण क्षेत्रबाट जिल्ला अस्पताल वा विशेषज्ञ उपचार केन्द्रसम्म बिरामीलाई सुरक्षित र छिटो पु¥याउन सकिने व्यवस्था भए मात्र मृत्युदर घटाउन सकिन्छ । स्वास्थ्य बीमा, स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय पनि यसका लागि महत्वपूर्ण हुन्छ ।
सर्पदंश नियन्त्रणमा जनचेतनाको भूमिका सबैभन्दा प्रभावकारी मानिन्छ । विद्यालय, सञ्चारमाध्यम, स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक संघसंस्थाले संयुक्त रूपमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्छ । सर्पले टोकेपछि कसरी प्राथमिक उपचार गर्ने, के नगर्ने, बिरामीलाई कसरी सुरक्षित रूपमा अस्पताल पु¥याउने, घर र खेतबारीलाई कसरी सुरक्षित बनाउने भन्ने जानकारी समुदायसम्म नियमित रूपमा पुग्नुपर्छ । सचेतनाले जोखिम घटाउँछ, अन्धविश्वास कमजोर बनाउँछ र वैज्ञानिक उपचारप्रतिको विश्वास बढाउँछ । जलवायु परिवर्तन, अनियोजित सहरीकरण र प्राकृतिक वासस्थानको विनाशले पनि मानिस र वन्यजन्तुबीचको सम्पर्क बढाउँदै लगेको छ । सर्पको प्राकृतिक वासस्थान नष्ट हुँदै जाँदा मानव बस्तीमा यसको प्रवेश बढ्नु स्वाभाविक हो । त्यसैले दीर्घकालीन रूपमा वातावरण संरक्षण, जैविक विविधताको संरक्षण र सुरक्षित बस्ती विकासलाई पनि सर्पदंश न्यूनीकरणसँग जोडेर हेर्न आवश्यक छ । हरेक वर्ष वर्षायामसँगै दोहोरिने सर्पदंशका घटनालाई अब नियति मान्ने छुट राज्यलाई छैन । समयमै तयारी, पर्याप्त स्वास्थ्य सेवा, वैज्ञानिक उपचार, प्रभावकारी जनचेतना र सबै तहका सरकारबीचको समन्वयबाट सर्पदंशका कारण हुने अधिकांश मृत्यु रोक्न सकिन्छ । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो । त्यसैले सर्पदंशलाई केवल मौसमी स्वास्थ्य समस्या होइन, राष्ट्रिय जनस्वास्थ्य संकटका रूपमा स्वीकार गर्दै त्यसअनुसार नीति, बजेट र कार्यान्वयनमा प्राथमिकता दिनु आजको आवश्यकता हो । प्रत्येक बचाउन सकिने जीवन बचाउनु नै जिम्मेवार राज्यको वास्तविक सफलता हुनेछ ।









प्रतिक्रिया दिनुहोस्