नेपालगन्ज (बाँके) ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाललाई तथ्यपरक, संवेदनशील र मर्यादित ढङ्गले आम नागरिकसमक्ष पु¥याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् । नेपालगन्जमा मंगलबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजमा अझै पनि विभेद, पूर्वाग्रह र गलत बुझाइ विद्यमान रहेकाले सञ्चारमाध्यमले तथ्यमा आधारित समाचार तथा सामग्रीमार्फत सकारात्मक जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालले स्थानीय साझेदार संस्था पश्चिम तारा नेपालसँगको समन्वयमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका कानुनी अधिकार, सामाजिक अवस्था, सञ्चारमाध्यमको भूमिका तथा जिम्मेवार पत्रकारिताका विषयमा छलफल गरेका थिए। कार्यक्रममा डिसिए प्राइडकी परियोजना प्रमुख (ट्रान्सवुमन सी हर) मनिला न्यौपानेले महासंघले सन् २००७ देखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धि, मानवअधिकार संरक्षण, समानता प्रवद्र्धन तथा संस्थागत सञ्जाल विस्तारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिइन् ।
हाल महासंघमा देशका सातवटै प्रदेशमा कार्यरत ३२ सदस्य संस्था आबद्ध रहेका उनले बताइन् । उनले यो समुदायलाई हेर्ने दृष्टिकोणमा पहिलाको अवस्थाभन्दा अहिलेको अवस्थामा धेरै परिवर्तन आए पनि सामाजिक राजनीतिक रूपमा अझै पनि सहभागिता हुन नसकेको उल्लेख गरिन् । संविधानका विभिन्न धाराहरूमा यौनिक तथा अल्पसंख्यक समुदायका हक अधिकारका बारेमा उल्लेख गरिए पनि सामाजिक संरचनामा अझै पनि विभेद कायम हुनु दुःखद भएको बताइन् ।
कानुन र ऐन नबन्दा संंविधानले दिएको अधिकार उपभोग गर्न नपाएको उनले गुनासो गरिन् । बनेका ऐन कानुन पनि व्यवहारमा लागू हुन नसकेको उनको भनाइ थियो । यौनिक तथा अल्पसंख्यक समुदायका हरेक व्यक्तिलाई समुदायले तेस्रो लिङ्गीका रूपमा बुझ्ने गरेको भन्दै उनले यस समुदायका सबै व्यक्ति तेस्रो लिङ्गी नहुने धारणा राखिन् । यौनिक तथा अल्पसंख्यक समुदायका बारेमा समाजमा सकारात्मक धारणा निर्माण गर्नका लागि नागरिक समाज, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग, मन्त्रालय, राजनीतिक दल, सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका रहने बताइन् ।
कार्यक्रममा ट्रान्सवुमन सी हर सिम्रन सेरचनले नेपालमा संविधानले समानता र विभेदविरुद्धको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि सामाजिक बहिष्करण, अपमान, हिंसा, रोजगारी, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचका चुनौतीसँग जुधिरहेको बताइन् । उनले पछिल्ला वर्षहरूमा सर्वोच्च अदालतका ऐतिहासिक फैसला, नागरिकता, पहिचान तथा समावेशिताका विषयमा केही सकारात्मक प्रगति भए पनि ती अधिकारको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको धारणा राखिन् ।
सञ्चारमाध्यम केवल सूचना प्रदान गर्ने माध्यम मात्र नभई समाजको सोच, धारणा र व्यवहार निर्माण गर्ने महत्वपूर्ण शक्तिशाली माध्यम भएकाले पत्रकारहरूले प्रयोग गर्ने शब्द, चित्र, शीर्षक र कथावाचन शैलीले समाजमा सकारात्मक परिवर्तन ल्याउने र उल्टो रूपमा हानि पु¥याएर विभेद, डर र गलत बुझाइलाई थप बलियो बनाउन पनि सक्ने उनले बताइन् । उनले एलजीबिटीआइक्यु प्लस समुदायसम्बन्धी विषयमा रिपोर्टिङ गर्दा मिडियाको भूमिका झनै संवेदनशील र जिम्मेवार बन्ने उल्लेख गरिन् ।
यस समुदायका धेरै व्यक्तिहरूले पहिले नै समाज, परिवार र संस्थागत संरचनाबाट बहिष्कार, हिंसा र अपमानको अनुभव गरिरहेका भन्दै उनले यस्तो अवस्थामा असावधानीपूर्वक तयार गरिएको समाचार गलत शब्दको प्रयोग वा सहमतिबिना पहिचान खुलाउनु उनीहरूको व्यक्तिगत सुरक्षा र सामाजिक जीवनमा गम्भीर असर पार्न सक्ने भएकाले यसतर्फ गम्भीर हुन आग्रह गरिन् ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका माया मगर र परिना चौधरीले आफ्नो जीवन भोगाइ, समाजमा भोग्नुपरेका विभेद तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारका विषयमा अनुभव सुनाउँदै सबै तहबाट समान व्यवहार र अवसरको अपेक्षा रहेको बताएका थिए । सहभागी सञ्चारकर्मीहरूले समुदायसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा अपमानजनक भाषा प्रयोग नगर्ने, व्यक्तिगत गोपनीयताको सम्मान गर्ने, सनसनीपूर्ण प्रस्तुति नदिने तथा मानवअधिकारमैत्री पत्रकारितालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
उनीहरूले सञ्चारमाध्यमले समुदायका समस्या मात्र नभई उनीहरूको उपलब्धि, क्षमता र समाजमा पु¥याइरहेको योगदानलाई पनि स्थान दिनुपर्ने आवश्यकता औँल्याए । आयोजकका अनुसार यस्ता अन्तक्र्रियाले सञ्चारकर्मीमा विषयगत बुझाइ अभिवृद्धि हुनुका साथै समुदायप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । महासंघले आगामी दिनमा पनि देशका विभिन्न जिल्लामा सञ्चारकर्मी, स्थानीय सरकार तथा सरोकारवालासँग यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार प्रवद्र्धनका लागि सहकार्यलाई विस्तार गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्