शिवु खनाल । दाङ ।
डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत गणेश खड्काले युवाहरू परिवर्तनका संवाहक हुन् भन्ने विषयमा अब कुनै शंका नरहेको बताएका छन् । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न उनीहरूको भूमिका केन्द्रीय बनिसकेको भन्दै महिला समूह, शिक्षक, टोल विकास समिति, विद्यालय र स्थानीय निकायको संयुक्त प्रयास आवश्यक रहेको बताउँदै युवाको नेतृत्वमा ‘प्लास्टिक बैंक’ ‘रिसाइकल केन्द्र’ स्थापना गर्नुपर्ने कुरामा जोड दिए ।
लमहीमा दैनिक रूपमा प्रयोग हुने प्लास्टिकको झोलालाई पुनः प्रयोग हुन नदिन डिभिजन वन कार्यालय देउखुरीबाट एक हजार थान कपडाको झोला वितरण गरेको बताए । उनले भने, ‘लमहीमा ठूलो सङ्ख्यामा दैनिक रूपमा प्लास्टिकका झोलाहरू प्रयोग गरेको पाइएको छ । जसले गर्दा हाम्रो वातावरण, बाटोघाटो, गाउँ घर, सहर सबैतिर त्यसले प्रदूषण निम्त्याउँछ, जैविक विविधतासमेत नकारात्मक प्रभाव पार्ने गर्दछ । त्यस्ता प्लास्टिकको विकल्प हामीले रोज्नुपर्छ भनेर बजार क्षेत्रमा किनमेल गर्न आउने सबै नगरवासीहरूलाई एउटा एउटा पुग्ने गरि एक हजार कपडाको झोला वितरण गरेका छौँ ।’
‘यो भनेको हाम्रो आचारण हो, जिवनशैली हो, यस्तो जिवनशैलीमा हामी गयौँ भनेपछि हामीले हाम्रो समाजलाई प्लास्टिकमुक्त गर्न सक्छौँ र प्लास्टिकको कम मात्रामा प्रयोग गरेपछि वातावरण संरक्षण र जैविक विविधता संरक्षणमा महत्पूर्ण योगदान दिन सक्छौँ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । प्लास्टिकको विकल्प रोज्यौँ भने ठूलो टेवा पु¥याउँछ,’ उनले थपे ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले प्लास्टिक प्रदूषण आजको समयमा विश्वव्यापी वातावरणीय संकट बनेको बताए । उनले यसको अत्यधिक प्रयोग, गलत व्यवस्थापन र पुनः प्रयोग गर्दा प्राकृतिक स्रोतहरूमा गहिरो असर परिरहेको बताए । प्लास्टिक उत्पादन सस्तो, बलियो र प्रयोग गर्न सजिलो भए पनि यसको विघटन प्रक्रियामा हजारौँ वर्ष लाग्ने भएकाले यसले वातावरणीय क्षति पु¥याएको बताए ।
‘यसले हाम्रो वातावरण, वन्यजन्तु र मानव स्वास्थ्यलाई प्रत्यक्ष र परोक्ष रूपमा असर पार्दै आएको छ,’ उनले भने, ‘यदि हामीले यतिबेला आफ्नो सोच, व्यवहार र संरचनामा परिवर्तन गर्न सकेनौँ भने भविष्यको पुस्ताका लागि हामीले मात्र होइन, मानव सभ्यताले नै उत्तर दिन नसक्ने अपराधको बोझ बोक्नुपर्नेछ ।’ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले पर्यावरणमैत्री विकल्प खोज्न कपडा, कागज, वा बाँसजस्ता विकल्पहरूको उपयोगले प्लास्टिकको खपत घटाउने बताए ।
उनले जनचेतना अभियानअन्तर्गत विद्यालय, समुदाय र राष्ट्रियस्तरमा प्लास्टिक फोहर न्यूनीकरणसम्बन्धी कार्यक्रमको आयोजन गर्नुपर्ने कुरामा जोड दिए । उनले भने, ‘तीनै तहका सरकारले कडा नीति बनाएर प्लास्टिक उत्पादन र उपयोगमा कर लगाउने, पुनः प्रयोगलाई प्रोत्साहन नगर्ने र हरित प्रविधिमा लगानी बढाउनुपर्ने हुन्छ । सरकार र समाजको भूमिका सरकारले पुनः चक्रण उद्योगको प्रवद्र्धन र प्रदूषण नियन्त्रणका लागि सशक्त नीतिहरू ल्याउनुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्