निबन्धः“रूपबजारका लेखकलाई बदिनीको पत्र”



नत रेग्मी

हे रूपबजारकथाका लेखक,
मेरो गगनगन्जका स्वनामधन्य साहित्यकार । तिमीले हाम्रो कथा लेख्यौ, रूप बजार भएको हाम्रो टोलको कथा । तर तिमीले हाम्रो आत्मा लेखेनौ, हाम्रो पीडा र संघर्ष लेखेनौ । हाम्रो कथा लेखेनौं । सुन, म सुनाउँछु हाम्रो कथा । म तिमीले चिन्न नसकेको एउटा पत्र हुँ । म कमला बदिनी मेरो नाम छ, मेरो अनुहार छ, मेरा सपना छन्, मेरा आँसु छन्, तर समाजले मलाई मेरो नामले कहिल्यै चिनेन् । उसले मलाई सधैँ एउटा जातको रूपमा चिन्यो—“बादी”। जब म जन्मिएँ, मेरी आमाले मलाई काखमा च्यापेर भनेकी थिइन्, “छोरी, तिमीले म जस्तो जीवन भोग्न नपरोस् ।” तर इतिहासको काँडेतारले हाम्रो बाटो पहिले नै घेरेको थियो । म केवल मेरो कथा सुनाइरहेकी छैन । म एउटा जातिको इतिहास सुनाइरहेकी छु—त्यो इतिहास, जो राज्यका दस्तावेजमा कम र आँसुका पानाहरूमा बढी लेखिएका छन् । हामी बादीहरू कहिलेदेखि नेपालका नदीकिनार, वनजंगल र बस्तीका छेउछाउमा बस्न थाल्यौँ ? यसको कुनै निश्चित लिखित इतिहास छैन । तर हाम्रा बुढापाकाहरू भन्थे—हामी कहिल्यै यौन व्यवसायी थिएनौँ । हामी कलाकार थियौँ । हाम्रा बाजेहरू सारङ्गी बजाउँथे, मादल ठोक्थे, बाँसुरी फुक्थे । बाद्य यन्त्र बनाउँथे, नदीकिनार बस्ने हामीहरू हाम्रा पुरूषहरू माछा मार्ने जालहरू वुन्थे । हाम्रा आमाहरू नाच्थे, गीत गाउँथे । गाउँका मेलापात, पर्व, विवाह, उत्सव र राजाहरूका दरबारसम्ममा हाम्रो कला पुग्थ्यो । दशैंमा मालश्री गाएर बक्सीस पाउँथ्यौं । त्यो नै हाम्रो जीविकाको साधन थियो । हाम्रो सम्पत्ति शरीर होइन, कला थियो । हाम्रो स्वर र हाम्रो नृत्य नै हाम्रो पहिचान थियो । तत्कालीन समयमा क्रूर जाति व्यवस्थाले हामीलाई निमुखा र राजा रजौटाको आश्रित बलाई दियो हामी समाजको सवैभन्दा तल्लो वर्गका तिरस्कृत र गरीवमा गनियौ । समयले कहिल्यै गरिबको पक्ष लिँदैन । हाम्रो कलाका पारखी त राजा रजौटा र जिमिदारहरू नै थिए । उनकै आश्रयमा बाँच्न बाध्य थिए हाम्रा पुर्खाहरू । हाम्रो बैंस र रूप नै हाम्रो शत्रु भैदिए । रजौटा र जिमिदारहरूले हाम्रो शोषण गर्न तम्सिए । हामी निरीह थियौं । सुरूमा केही रूपवती बदिनीहरू मात्र उनीहरूको रखैल हुन बाध्य भए ।

समय बदलियो, शासन बदलियो, समाज बदलियो, तर हाम्रो जीवन बदलिएन । जीविकाको अभाव र समाजको गिद्धे नजरको अगाडि हामी विवश भयौं । झन् दरबारका ढोका बन्द भए । मेलाहरू घटे । नाचगानबाट जीविका चल्ने आधारहरू हराउँदै गए । हाम्रो सारङ्गीको धुनलाई रेडियोले विस्थापित ग¥यो । हाम्रो नाचलाई चलचित्रले विस्थापित ग¥यो । हाम्रो गीतलाई बजारले विस्थापित ग¥यो । तर हाम्रो पेटलाई केसैले पनि विस्थापित गर्न सकेन । भोक त्यहीँ रह्यो । भोक जब बढ्छ, मान्छेले आफ्ना सपनाहरू बेच्न थाल्छ । जब सपनाहरू सकिन्छन्, ऊ आफ्ना रहरहरू बेच्न थाल्छ । र अन्त्यमा बेच्न बाँकी रहन्छ—मात्र आफ्नै शरीर । बाच्नैका लागि पनि हामी बाध्य भयौं । हामीसँग बचेको शरीर बेच्न । भोकले ग्रस्त हाम्रा पुरूषहरू पनि सबै सहन बाध्य भए । यौन हाम्रो लागि बाध्यकारी व्यवसाय हुन पुग्यो । हाम्रो जातिको इतिहासमा त्यो सबैभन्दा अँध्यारो मोड थियो । हामी कलाकारबाट बिस्तारै “मनोरञ्जनका वस्तु” बनाइयौँ । सुरुमा मानिसहरू गीत सुन्न आउँथे । पछि उनीहरू गीतभन्दा गायिकालाई हेर्न थाले । नाचभन्दा नाच्ने युवतीको यौवनलाई खोज्न थाले । समाजले हाम्रो कलालाई सम्मान गरेन, शरीरलाई मूल्य दियो । त्यसपछि हाम्रो संस्कृतिको मञ्च बिस्तारै यौन शोषणको बजारमा बदलियो । हामीले त्यो रोजेका थिएनौँ । हामी त्यहाँ धकेलिएका थियौँ ।

मलाई मेरी हजुरआमाको कथा याद छ । उनी भन्थिन् —“हामी नाच्थ्यौँ, गाउँथ्यौँ । तर गाउँलेहरूले हाम्रो गीत सुनेनन्, हाम्रो शरीर हेरे ।” त्यो एउटा वाक्य मात्र थिएन । त्यो हाम्रो इतिहास थियो । हाम्रो जातिको इतिहास । हामी नदीजस्तै थियौँ । आफ्नै धारमा बग्न चाहन्थ्यौँ । तर समाजले हाम्रो धार मोडिदियो । हामीलाई आफूले चाहेको समुद्रतिर होइन, उसले तोकेको दलदलतिर बगाइदियो । नेपालगन्जको गगनगन्जमा हुर्किँदा मैले यिनै कथाहरू सुन्दै हुर्किएँ । साँझ पर्दा मादल बज्थ्यो गीत गुञ्जन्थ्यो।तर ती गीतहरूमा उल्लास कम, पीडा बढी हुन्थ्यो । कुनै गीतमा छोरीको भविष्य रोइरहेको हुन्थ्यो । कुनै गीतमा अन्तरातमाको विवशता गाइरहेको हुन्थ्यो । हामी गीत गाउँथ्यौँ, तर अन्तरमा हामी आफ्नो इतिहास विलाप गरिरहेका हुन्थ्यौँ । हे रूपबजारका लेखक तिमी पनि यहीं जन्मियौ । म पनि यहीं जन्मिएँ । एउटै टोल एउटै गगनगन्ज । तिमी पनि विद्यालय जान्थ्यौ म पनि विद्यालय जान्थेँ । तर कत्रो विभेद । विद्यालयमा मेरो जात मभन्दा पहिले पुगिसकेको हुन्थ्यो । साथीहरूको नजरमा म छिछि दुरदुर हुन्थें । मलाई पर धकेलिथ्यो । म कहिल्यै उज्यालोमा कसैको साथी हुन सकिन । अँध्यारोमा सबैको साथी हुन्थें । मलाई लाग्थ्यो, सायद मेरो शरीरमा कुनै अदृश्य दाग छ, जुन म देख्न सक्दिनँ तर अरूले देख्छन् । पछि थाहा पाएँ—त्यो दाग मेरो शरीरमा थिएन, समाजको दृष्टिमा थियो । जब म किशोरी भएँ, मानिसहरूको दृष्टि फेरियो केटीबाट म एक्कासी बदिनी पो भए छु “बादिनी” त्यो शब्दभित्र कति घृणा थियो, कति पूर्वाग्रह थियो, कति अपमान थियो, त्यो केवल हामीले बुझ्यौँ । हामीलाई कसैले सोधेन—“तिमी के बन्न चाहन्छौ ? सबैले भनिरहे—“तिमी के बन्ने छौ, हामीलाई थाहा छ ।” कति क्रूर हुन्छ समाज ! उसले मान्छेलाई जन्मनुअघि नै उसको भाग्य लेखिदिन्छ।

यो गगनगन्जले धेरै छोरीहरूलाई आफ्नो इच्छा अनुसार जीवन रोज्न दिएन । कतिपयले पढ्न चाहेका थिए । कतिपयले नर्स बन्न चाहेका थिए । कतिपयले शिक्षिका बन्न चाहेका थिए । तर गरिबीले र यो यौनबजारले उनीहरूका पुस्तकहरू बन्द गरिदियो । अभावले उनीहरूका सपना च्यातिदियो । र समाजले उनीहरूलाई एउटा मात्र ढोका खुला छोड्यो । त्यो ढोका थियो गगनगन्जको रूपबजारमा डुल्नु । मलाई अझै सम्झना छ, पहिलोपटक मैले आफूलाई ऐनामा हेरेर रोएकी थिएँ । किनकि मैले आफ्नो अनुहार होइन, आफ्नो भविष्य देखेकी थिएँ । त्यो भविष्य, जुन मैले रोजेकी थिइनँ । तर मेरो कथा केवल पीडाको कथा होइन । हाम्रो समुदाय केवल यौन व्यवसायको कथा पनि होइन । हामीसँग गीत छन् । हामीसँग लोकस्मृति छ । हामीसँग सांस्कृतिक सम्पदा छ । हामीसँग संघर्षको गौरवपूर्ण इतिहास छ । आज पनि जब कुनै वृद्ध बादी कलाकारले सारङ्गी बजाउँछन्, मलाई लाग्छ—त्यो केवल संगीत होइन, त्यो एउटा जातिको आत्मा बोलिरहेको आवाज हो । जब कुनै वृद्धा बादिनी पुरानो लोकगीत गाउँछिन्, मलाई लाग्छ—त्यो केवल गीत होइन, त्यो इतिहासको घाउ बोलिरहेको स्वर हो । आज समय फेरिँदैछ । हाम्रा छोरीहरू विद्यालय जान थालेका छन् । कतिपय सरकारी सेवामा पुगेका छन् । कतिपय सामाजिक अभियन्ता बनेका छन् । कतिपयले पुरानो बाध्यता तोडेका छन् । हामी स्थानीय सरकारका सदस्य छौं, हामी प्रदेश सरकारकार सांसद र संघीय सरकारका मन्त्री पनि छौं तर घाउ अझै बाँकी छ । पूर्वाग्रह अझै बाँकी छ । भेदभाव अझै बाँकी छ । तिमीले लेखेको रूपबजार अहिले छैन । अब तिमीलाई कसैले बदनाम बस्तीका लेखक भन्दैन । हाम्रो गगनगन्ज राम्रो गगनगन्ज भै सक्यो । म समाजलाई भन्न चाहन्छु— हामीलाई हाम्रो अतीतले होइन, हाम्रो वर्तमानले हेर । हामीलाई हाम्रो जातले होइन, हाम्रो क्षमताले मापन गर । हामीलाई शरीरका रूपमा होइन, मानिसका रूपमा स्वीकार गर । म तिम्रै टोलकी कमला बादिनी हुँ । तर मेरो परिचय केवल यति होइन । म एउटा कलाकारको सन्तान हुँ । म एउटा संघर्षको सन्तान हुँ । म एउटा इतिहासको सन्तान हुँ । र म चाहन्छु—भोलि मेरी छोरीले जब आफ्नो परिचय दिओस्, उसले गर्वका साथ भन्न सकोस्—“म बादी समुदायकी छोरी हुँ, तर मेरो भविष्य मेरो आफ्नै हो ।” त्यो दिन शायद हाम्रा सारङ्गीका धुनहरू फेरि दुःखका होइन, उत्सवका गीत बन्नेछन् । त्यो दिन शायद हाम्रो इतिहासका आँसुहरू नदी बनेर बग्ने छैनन्, फूल बनेर फुल्नेछन् । र त्यो दिन म, गगनगन्जकी एक बदिनी, पहिलोपटक साँच्चिकै स्वतन्त्र भएर हाँस्ने छु । मेरा प्रिय लेखक अब फेरि तिमीले हाम्रो स्वतनत्रताको कथा लेख्नु पर्छ । वादी समुदायको उज्याको भविष्यको कथा लेखनु पर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार