‘अत्यधिक ट्राफिक जरिबाना लगाउन खोजियो’



नेपालगन्ज ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सरकारले ट्राफिक नियम उल्लंघनमा अत्यधिक जरिबाना लगाउने तयारी गरिरहेको बताएका छन् । महासंघको ७औँ अधिवेशनबाट केन्द्रीय तथा प्रदेश कार्यसमितिमा बाँकेबाट निर्वाचितहरूलाई स्वागत तथा सम्मान गर्न नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै गौतमले सरकारले लगाउन लागेको जरिबाना स्वीकार गर्न नसकिने बताए ।

सवारी ऐन २०४९ लाई संशोधन गर्नका लागि तयार गरिएको विधेयकमा अत्यधिक जरिबानाको व्यवस्था गरिन लागिएको सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै उनले सरकारले त्यसरी उच्च जरिबाना लगाउने हो भने गुणस्तरहीन सडकका कारण हुने दुर्घटनामा राज्यले पनि क्षतिपूर्ति दिन सक्नुपर्ने बताए । राज्यले उच्च गुणस्तरका सडक भएका देशमाजस्तै नियम लगाउनुअघि त्यहाँकै स्तरको सडक पनि बनाउनुपर्ने उनले बताए ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सवारी दुर्घटनामा बीमाको सीमा १० लाख बनाउने घोषणा गरेकोमा पनि गौतमले आपत्ति जनाए । उनले बीमाको समयानुकूल सीमा वृद्धि गर्न आफूहरू तयार भए पनि सरकारले छलफलै नगरी उच्च सीमा कायम गरेको उनले बताए । यी समस्याबारे सरकारसँग संवादका लागि महासंघले पहल गरिरहेको पनि उनले बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै पेट्रोलियम डिलर्स एसोसियसनको लुम्बिनी प्रदेश संयोजक विश्वराज खनालले पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको र नेपालमा पनि त्यहीअनुसार घटाउनुपर्ने बताए । उनले अहिले कम्तीमा पनि पेट्रोलियम पदार्थको मूल्य ५० रूपैयाँँभन्दा बढीले घटाउनुपर्ने बताए । तर सरकारले त्यसभन्दा कम मात्रै घटाउने तयारी गरिहेको जानकारी पाएको पनि उनले बताए ।

महासंघमा निर्वाचितहरूलाई सम्मान 

नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघको ७औँ अधिवेशनबाट केन्द्रीय तथा प्रदेश कार्यसमितिमा बाँकेबाट निर्वाचितहरूलाई नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ । बागेश्वरी यातायात व्यवसायी प्रालि र भेरी बस व्यवसायी प्रालिको संयुक्त आयोजनामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको हो ।

भेरी बस व्यवसायी प्रालिका अध्यक्ष जुनबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय कार्यसमितिमा पुनः निर्वाचित महासचिव डेकनाथ गौतम, महासंघका सचिवमा नवनिर्वाचित टंकप्रसाद बस्याल, नवनिर्वाचित सहकोषाध्यक्ष शोभाकर पौडेललाई सम्मान गरिएको थियो । यसैगरी नवनिर्वाचित केन्द्रीय सदस्यद्वय अर्जुन श्रेष्ठ र कृष्णप्रसाद सुवेदी, नवनिर्वाचित प्रदेश सहसंयोजक सनत रेग्मी, नवनिर्वाचित प्रदेश सदस्यत्रय विनोद रिजाल, पदमबहादुर थापा र धनबहादुर बोहरालाई पनि सम्मान गरिएको थियो ।

उनीहरू जेठ २७ गतेदेखि ३० गतेसम्म पोखरामा भएको सातौँ महाधिवेशनबाट निर्वाचित भएका थिए । साथै सोही कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एसोसियसनको लुम्बिनी प्रदेश संयोजकमा नवनिर्वाचित विश्वराज खनाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले बाँकेबाट महासंघको केन्द्रीय समितिमा ऐतिहासिक रूपमा उल्लेखनीय सङ्ख्यामा प्रतिनिधित्व भएकोमा खुसी व्यक्त गरे । उनले अब यातायात व्यवसायीका समस्याहरू सम्बोधनमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले प्रभावकारी भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार