नन्दराम जैशी । सुर्खेत ।
वीरेन्द्रनगर–११ को झुप्राखोला बादी बस्तीको छेउमै रत्नराजमार्ग छ । दिनरात सवारीसाधन गुड्छन्, धुलो र धुवाँ बस्तीभरी फैलिन्छ । माथिबाट कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार भइरहेको छ, तर बस्तीका धेरै घरमा अझै नियमित विद्युत् सुविधाको अनुभूति छैन । बस्तीको छेउमै खोला बग्छ, तर वर्षौँदेखि शुद्ध खानेपानीको अभाव थियो । केही समयअघि मात्र एक सामाजिक संस्था होसन्ना सेवकाइ नेपालले खानेपानी प्रणाली मर्मत गरिदिएको थियो ।
तर यहाँको सबैभन्दा अर्को ठूलो समस्या पनि स्वास्थ्य थियो । सामान्य ज्वरोदेखि जटिल रोगसम्मको उपचारका लागि स्थानीयलाई सिधै प्रदेश अस्पताल सुर्खेत पुग्नुपर्ने बाध्यता छ । दैनिक गुजारामै संघर्षरत परिवारका लागि अस्पतालको खर्च जुटाउनु सजिलो थिएन । यही वास्तविकताबीच पहिलोपटक फेरी होसन्ना सेवकाइ स्वास्थ्य सेवा लिएर बस्तीमै पुग्यो । संस्थाले जेठ ६ गते झुप्राखोला र जेठ ७ गते धुलियाबिटस्थित बादी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यो ।
दुई दिनसम्म सञ्चालन गरिएको शिविरबाट ३५० भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । झुप्राखोलामा मात्रै करिब २०० जनाले सेवा लिए भने धुलियाबिटमा १५३ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुजा बादीले बताइन् । ‘वर्षौँदेखि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायका लागि यो शिविर एक उपचार कार्यक्रम मात्र थिएन, स्वास्थ्यप्रतिको भरोसा जगाउने अभियान पनि हो,’ उनले भनिन्, ‘शिविरमा स्त्रीरोग, सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप जाँच, स्वास्थ्य परामर्श, औषधि वितरण तथा स्वास्थ्य शिक्षासम्बन्धी सेवा प्रदान गरिएको छ ।’
उनका अनुसार विशेषगरी महिलामा देखिने स्त्रीरोग तथा पाठेघरसम्बन्धी समस्याको परीक्षणलाई प्राथमिकतामा राखिएको थियो । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. भवानी सिल्पकारले शिविरका क्रममा समुदायभित्र गम्भीर प्रकृतिका स्वास्थ्य समस्या रहेको पाएको बताइन् । उनका अनुसार एक महिलाको पाठेघरको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ ।
‘धेरै कम उमेरका महिलामै पाठेघरसम्बन्धी समस्या देखियो,’ उनले भनिन्, ‘यस्ता समुदायमा स्वास्थ्य सेवा पुग्न नसक्दा रोगहरू जटिल बन्दै गएका छन् । बस्तीमै आएर शिविर सञ्चालन गर्नु अत्यन्त आवश्यक र प्रभावकारी काम हो ।’ स्वास्थ्यकर्मीका अनुसार धेरै महिलाले पहिलोपटक स्त्रीरोग परीक्षण गराएका थिए । आर्थिक अभाव र सामाजिक संकोचका कारण वर्षौँदेखि स्वास्थ्य समस्या लुकाएर बसिरहेका महिलाले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श पाउने अवसर पाए ।
शिविरमा बालबालिकादेखि ८० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकसम्मको सहभागिता थियो । स्वास्थ्य समस्या भए पनि उपचार नगराई बसिरहेका नागरिकको सङ्ख्या उल्लेख्य देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । शिविरका क्रममा पाठेघरलगायत अन्य जटिल समस्या भएका बिरामीको समेत पहिचान गरिएको छ । शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई उपयुक्त अस्पतालमा रेफर गरी थप उपचार तथा शल्यक्रियाका लागि सहयोग गर्ने तयारी रहेको आयोजक संस्थाले जनाएको छ । यसले स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायभित्र लुकेर बसेका रोगहरूको वास्तविक अवस्था बाहिर ल्याउन मद्दत पुगेको छ ।
शरीर दुखाइ बोकेर बाँचिरहेका नागरिक
बस्तीका अधिकांश परिवार श्रममुखी काममा निर्भर छन् । दैनिक ज्यालादारी, मजदुरी र अन्य शारीरिक श्रम गर्ने भएकाले हाडजोर्नीसम्बन्धी समस्या पनि व्यापक देखिएको चिकित्सकहरूले बताएका छन् । हाडजोर्नी रोग विशेषज्ञ डा. गणेश तिवारीका अनुसार शिविरमा शरीर दुखाइ, ढाड, घुँडा तथा जोर्नीसम्बन्धी समस्या भएका धेरै बिरामी आएका थिए ।
उनले भने, ‘शारीरिक श्रम गर्ने समुदायमा यस्ता समस्या सामान्य देखिए पनि उपचार र परामर्शको अभावले दीर्घकालीन समस्या बन्ने जोखिम हुन्छ । शिविरमार्फत बिरामीलाई उपचारसँगै आवश्यक स्वास्थ्य परामर्श पनि प्रदान गरिएको छ ।’ शिविरमा आएका बिरामीको स्वास्थ्य अवस्था हेर्दा समुदायले भोगिरहेका समस्याको चित्र स्पष्ट देखिन्थ्यो । आयोजक संस्थाकी सामुदायिक स्वास्थ्य नर्स संगीता बादीका अनुसार शिविरमा छाला रोग, भाइरल रुघाखोकी, दीर्घरोग, उच्च रक्तचाप तथा विभिन्न स्वास्थ्य समस्याका बिरामी आएका थिए ।
‘धेरैजसो बिरामीले नियमित स्वास्थ्य परीक्षण गर्ने अवसर नै पाएका रहेनछन्,’ उनले भनिन्, ‘कतिपयले पहिलोपटक आफ्नो रक्तचाप जाँच गराएका थिए भने कतिपयले लामो समयदेखि भोगिरहेको समस्याबारे चिकित्सकसँग खुलेर कुरा गर्न पाए ।’ स्वास्थ्यकर्मीहरूका अनुसार बस्तीमा रहेका धेरै रोगहरू समयमै परीक्षण हुन नसक्दा जटिल बन्ने जोखिम रहेको देखिएको छ । शिविरले त्यस्ता समस्याको प्रारम्भिक पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
नियमित शिविर गर्न माग
स्वास्थ्य परीक्षणपछि बिरामीलाई आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको छ । आयोजकका अनुसार अधिकांश बिरामीलाई कम्तीमा १५ दिनदेखि एक महिनासम्म पुग्ने औषधि वितरण गरिएको हो । यसले आर्थिक अभावका कारण औषधि किन्न नसक्ने परिवारलाई ठूलो राहत दिएको स्थानीय ८० वर्षीया झोपु विकले बताइन् । धेरैजसो बिरामीले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत अस्पताल पुग्न नसक्ने अवस्था रहेको भन्दै यस्तो सेवा आफ्नो समुदायका लागि जीवन्त सहयोग भएको प्रतिक्रिया दिएका छन् ।
बादी समुदाय सुर्खेतका सीमान्तकृत र आर्थिक रूपमा कमजोर समुदायमध्ये एक हो । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र रोजगारीजस्ता आधारभूत सेवाको अभाव अझै पनि यहाँको मुख्य चुनौती बनेको छ । ‘यस्तो अवस्थामा सञ्चालन गरिएको स्वास्थ्य शिविरले हामीलाई उपचार सेवा मात्र दिएको छैन, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसर पनि प्रदान गरेको छ,’ ६७ वर्षीया गोल्मा बादीले भनिन्, ‘स्वास्थ्य परीक्षण, परामर्श, रोगको पहिचान र उपचारबारे जानकारी पाएपछि स्वास्थ्यप्रतिको चासो झन् बढेको छ ।’
स्थानीयवासीले यस्ता शिविर एकपटकको कार्यक्रममा सीमित नराखी नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार अस्पतालसम्म पुग्न आर्थिक र भौगोलिक कठिनाइ झेलिरहेका समुदायका लागि यस्ता अभियान जीवनरक्षक सावित हुन सक्छन् । झुप्राखोला र धुलियाबिटका बादी बस्तीमा पुगेको यो अभियानअन्र्तगत अन्य जाति तथा बस्तीका नागरिकले पनि सेवा लिएका छन् । स्वास्थ्य सेवा अस्पतालमा मात्र सीमित हुँदा सीमान्तकृत समुदाय पछाडि पर्छन्, तर सेवा आफैँ समुदायसम्म पुग्दा उपचारसँगै आशा पनि बढेको छ ।









प्रतिक्रिया दिनुहोस्