काठमाडौँ ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा निर्माणस्थलमा कार्यरत कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार २२३ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका हुन् । त्रिशूली जलविद्युत् कम्पनीअन्तर्गत निर्माणाधीन त्रिशूली–३ ‘बी’को साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्रमा रहेका १ जना सम्पर्कविहीन भएका छन् । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत चेर्कु कम्पनीमा कार्यरत रही त्रिशूली–३ ‘बी’को निर्माणाधीन साइटमा खटिएका ११ जना पनि सम्पर्कबाहिर रहेको उल्लेख छ । रसुवागढी जलविद्युत् केन्द्रमा ९२ जना सम्पर्कमा नरहेको विवरणमा जनाइएको छ । त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४४ जना कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएका छन् ।
प्राधिकरणका त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत १÷१ जना कर्मचारीसमेत सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ । रसुवा वितरण केन्द्रमा रहेका चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत १ जना तथा गोसाइँकुण्डी मिटर रिडर पनि सम्पर्कमा नरहेको जनाइएको छ । त्यसैगरी, त्रिशूली–२२० केभी ३ ‘बी’ हबमा कन्ट्र्याक्टरतर्फबाट कार्यरत १६ जना र रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मत सम्भार तथा निर्माणमा खटिएका २९ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढीबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोली प्रभावित क्षेत्र पुगी अनुगमन गरेको छ । श्रेष्ठले हराइरहेकाहरूको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरेका छन् । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशील रहेको श्रेष्ठले बताए ।
निमित्त कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरूको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी छ ।
१५ जलविद्युत् आयोजनामा क्षति
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले रसुवा र नुवाकोटमा बाढीका कारण १५ वटा जलविद्युत् तथा सोलार आयोजनामा क्षति पुगेको प्रारम्भिक रिपोर्ट दिएको छ। इप्पानका अनुसार बिजुली उत्पादन गरिरहेका ३५९ मेगावाट क्षमताका १० जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस्तै, पाँच निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।
क्षति पुगेका निर्माणाधीन आयोजनाको कूल क्षमता ३९४ मेगावाट हो । बाढीका कारण रसुवा जिल्लाका माथिल्लो त्रिशूली १, रसुवागढी जलविद्युत् आयोजना, रसुवा भोटेकोशी, माथिल्लो मैलुङ ‘ए’, सान्जेन खोला, मैलङ खोला, लाङटाङ खोला, चिलिमे गरी कूल ८ वटा आयोजनामा क्षति पुगेको इप्पानले जनाएको छ । यो जिल्लामा माथिल्लो त्रिशूली १, रसुवा भोटेकोशी, माथिल्लो मैलुङ ‘ए’ गरी तीनवटा आयोजना निर्माणाधीन हुन् भने अरू आयोजना बिजुली उत्पादन गरिरहेका थिए ।
त्यस्तै, नुवाकोटमा रहेका सोलारसमेत गरी कूल ६ आयोजनामा क्षति पुगेको हो । त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली ३‘ए’, माथिल्लो त्रिशूली ३‘बी’ मिडल त्रिशूली गंगा र सोलार आयोजनामा क्षति पुगेको हो ।








प्रतिक्रिया दिनुहोस्