कोहलपुर (बाँके) ।
बर्दिया बाँसगढीका एकनारायण अधिकारी नाम एक परिचय अनेक भएका व्यक्ति हुन् । उनी विगत दुई दशकदेखि समाजसेवामा सक्रिय छन् । उनै अधिकारी बुधबार ‘नवीन राष्ट्रिय युवा स्वयंसेवक पुरस्कार–२०२५’ बाट पुरस्कृत भए । जुन अधिकारीको जीवनकै पहिलो पुरस्कार÷अवार्ड हो । वास नेपालले देशभर सामाजिक क्षेत्रमा सक्रिय युवाहरुलाई प्रदान गर्दै आएको उक्त अवार्ड अधिकारीले प्राप्त गरेका हुन् ।
उनी एक समारोहका बीच नगद ५० हजार राशीसहितको पुरस्कारले पुरस्कृत भए । उनले विभिन्न चरण पार गर्दै देशभरका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जितेका हुन् । अवार्ड प्राप्त गरेपछि उनले भनेका छन्, ‘जीवनकै पहिलो पुरस्कार हो । अवार्ड मेरो लागि ऊर्जा हो ।समाजसेवामा लागिरहनका लागि प्रेरणा र हौसला हो ।’
उनले हिजो पनि आफू समाजसेवामा लागेको, आज पनि सक्रिय रहेको र भोलि पनि यही क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । अवाडर्ले दूरदराजमा रहेका युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय हुन प्रेरणा प्रदान गरेको समेत बताए । उनले आफ्नो अवार्ड प्राप्त गर्न भूमिका खेलेको र आफू बाँचिरहेको समाजलाई समर्पित गरे ।
युवा समाजसेवी अधिकारी बर्दियाको बाँसगढीमा बसोबास गर्छन् । उनी स्वर्गीय रामप्रसाद अधिकारी र मीनादेवी अधिकारीका सुपुत्र हुन् । उनको जन्म २०४७ सालमा भएको थियो । स्नातक तहसम्म अध्ययन पूरा गरेका अधिकारी बाल्यकालदेखि नै समाजसेवामा सक्रिय थिए । उनी बाँसगढी क्षेत्रमा निरन्तर सामाजिक क्षेत्रमा खटिरहेका छन् । उनको मान्यता छ, ‘उद्यमशीलता र समाजसेवालाई सँगै लैजानुपर्छ ।’
युवासँग सीप हुनुपर्छ । सीप भयो भने जहाँ पनि टिक्न सकिन्छ भन्ने मान्यता राख्छन् उनी । ‘धेरै साथीहरु विदेशमा छन् । विविध कारण उनीहरु आज स्वदेशमा छैनन्,’ उनले भने । तर उनी बाँसगढीमै रमाएका छन् । किनभने उनीसँग सीप छ । देशमै केही गरौँ भन्ने ऊर्जा छ । बाचुञ्जेल देशको सेवा गर्ने आत्मविश्वास बोकेका छन् । उनी विद्यालयस्तरमा विद्यार्थीका माग प्रशासनसम्म लैजान्थे । माग पूरा गर्न पैरवी गर्थे ।
उनको सामाजिक सेवा यही विन्दुबाट सुरु भएको हो । सामाजिक कार्य गर्ने क्रममा २०७१ सालमा उनी बाँसगढी सामुदायिक पुस्तकालयमा निर्वाचन प्रक्रियामार्फत नेतृत्वमा पुगे । उनले त्यहाँ धेरै रचनात्मक कार्य गरे । त्यसपछि विस्तारै उनको परिचय सामाजिक व्यक्तिको रुपमा चिनिन थाल्यो । उनले बाँसगढी उद्योग वाणिज्य संघमा स्थापनाकालदेखि जोडिएर संस्थापकका रुपमा समेत काम गरे । क्याम्पसमा बृहत् हस्क्षातर अभियान, जनचेतनामूलक कार्यक्रम, प्रहरीसँगको साझेदारीमा विभिन्न काम सम्पन्न गरेका छन् ।
उनले युवा, व्यवसाय, लागूऔषध, खेलकुद लगायतका क्षेत्रमा योगदान दिएका छन् । कोभिड १९ को समयमा उनले धेरै परिवारको उद्धार र राहतमा उल्लेख्य भूमिका खेलेका थिए । बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी, बाँसगढी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस उपशाखा, नेपाल स्वयमसेवी रक्तदाता संघ अन्य सामाजिक संघ संस्थामा काम गरेको अनुभव छ । उनले नेपाल युवा परिषद् बर्दिया जिल्लाको समेत नेतृत्व गरिसकेका छन् । उनले विशेषगरी खेलकुद क्षेत्रमा समेत विकास गरेका छन् ।
उनले बाँसगढी रोयल टाइगर, विआरटी जुनियर डमरु र अन्डर १६ टिमलाई प्रशिक्षण गर्दै आएका छन् । ती समूहलाई सहयोग र खेलाडीहरुको क्षमता विकासमा उल्लेख्य योगदान दिएका छन् । बर्दिया र बाँसगढीबाट विभिन्न विधामा राष्ट्रिय खेलाडीलाई सम्मानसमेत गर्ने गरेका छन् । उनले ‘सक्षम छोरी’ अभियान सञ्चालन गरेर किशोरीहरुलाई फुटबल खेल्न प्रेरित गराए । जिल्लास्तरका प्रतियोगितामा पु¥याए । बर्दियालाई लुम्बिनी प्रदेशको च्याप्यिनसमेत बनाएका छन् ।
उनले रक्तदान महादान भन्ने नारालाई आत्मसात् गर्दै रक्तदान अभियानसमेत सञ्चालन गर्दै आएका छन् । अहिलेसम्म उनले आफैँ १५ पटकसम्म रक्तदान गरेका छन् । सामाजिक कार्यमार्फत धेरैलाई जीवनदानसमेत दिएका छन् । भ्रष्टाचारका विरुद्धमा शान्तिपूर्ण खबरदारी गर्दै आएका छन् । यस्तै उनले ‘हाम्रो प्रश्न ?’ नामक अभियानसमेत सञ्चालन गर्दै ‘मेयरसँग युवा संवाद’ कार्यक्रम गरेर जनप्रतिनिधिलाई जवाफदेही बनाउन उनले भूमिका खेलेका छन् ।








प्रतिक्रिया दिनुहोस्