नौ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरअन्तर्गतको सडक



सुर्खेत ।

जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल तथा चारवटा घर बगाएपछि अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले मर्मत तथा निर्माण गरेपछि यातायात सञ्चालनमा आएको हो ।

ताक्सुगाडमा आएको बाढीले सडक, पुल तथा घर बगाएको थियो । बाढीले सडक संरचनामा क्षति पु¥याउनुका साथै पुलसमेत बगाएपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो । सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए । नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोरले तत्काल सडक मर्मतको काम अघि बढाएर यातायात सञ्चालन गर्न मिल्ने बनाएको हो ।

सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा समस्यामा परेका यात्रु तथा स्थानीयलाई सडक खुलेपछि केही राहत मिलेको नलगाड १२ का तेजबहादुर विकले बताए । बाढीका कारण ताक्सुगाडमा सडक र पुलमा मात्रै क्षति पुगेको छैन । रोली ज्यूलामा ल्याइएको नहरमा समेत बाढीले ठूलो क्षति पु¥याएको छ । नहर क्षतिग्रस्त भएपछि स्थानीयको सिँचाइ सुविधामा समेत असर परेको छ ।

नहर पुनर्निर्माणका लागि नगरपालिकाले लागत अनुमान तयार गरी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत निर्माण गर्ने तयारी गरेको नगरप्रमुख डम्बर रावतले जानकारी दिए । उनका अनुसार बाढीका कारण क्षतिग्रस्त भएका संरचनाको तत्काल मर्मतसँगै दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण गर्न आवश्यक रहेको छ । वर्षायाममा पानीको बहाव बढ्दा सडक तथा नहरमा पटक–पटक क्षति हुने भएकाले आगामी दिनमा बाढीको जोखिमलाई ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने नगरपालिकाको भनाइ छ ।

फेरि सडक अवरुद्ध हुने जोखिम

ताक्सुगाडमा सडक खुले पनि यातायात पूर्ण रूपमा सुरक्षित भएको अवस्था भने छैन । ताक्सुगाड खोलामा पानीको मात्रा बढेपछि सडक पुनः अवरुद्ध हुने क्रम उस्तै रहेको स्थानीयले बताएका छन् । वर्षा निरन्तर भइरहेकाले माथिल्लो क्षेत्रमा पानी पर्दा एक्कासि खोलामा पानीको बहाव बढ्ने गरेको छ । भेरी करिडोरअन्तर्गत पर्ने विभिन्न खोलामा पानीको बहाव बढ्दा वर्षायाममा सडक सञ्चालनमा समस्या हुँदै आएको छ ।

सडक निर्माण गरे पनि खोलामा स्थायी पुल तथा कल्भर्ट निर्माण नहुँदा सवारीसाधनलाई जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ । अहिले ताक्सुगाडमा सडक सञ्चालनमा आए पनि ठूलो वर्षा भएमा पुनः सडक अवरुद्ध हुन सक्ने जोखिम कायमै रहेको छ । स्थानीयका अनुसार सडक अवरुद्ध हुँदा डोल्पाका विभिन्न क्षेत्रमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, औषधि तथा अन्य आवश्यक सामग्रीको ढुवानी प्रभावित भइरहेको छ । सडक खुलेपछि यी सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

छलगाडमा पुल नहुँदा डोल्पाको यातायात अझै जोखिममा

भेरी करिडोरले जाजरकोटलाई डोल्पासँग जोडेको भए पनि सडकखण्डका केही स्थानमा पुल निर्माण नहुँदा वर्षायाममा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । भेरी करिडोरमा रहेका खोलाहरूमा पानीको बहाव कम भएको समयमा जाजरकोटबाट डोल्पाको त्रिपुराकोट हुँदै छलगाडसम्म सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

तर, छलगाडमा आवश्यक पुल निर्माण नहुँदा वर्षायाममा डोल्पाको सदरमुकाम दुनैसम्म नियमित रूपमा यातायात सञ्चालन गर्न कठिन हुने गरेको छ । खोलामा पानीको बहाव बढेपछि सवारीसाधन रोकिने र यात्रुले पैदल हिँडेर जोखिमपूर्ण रूपमा खोला पार गर्नुपर्ने अवस्था समेत आउने गरेको छ । भेरी करिडोरमा डोल्पाका नागरिकका लागि प्रदेश राजधानी सुर्खेत र अन्य जिल्लासँग जोडिने महत्वपूर्ण सडकका रूपमा रहेको छ ।

सडकमा समस्या आउँदा डोल्पाका अधिकांश क्षेत्रमा दैनिक जीवन प्रभावित हुने गरेको छ । त्यसैले ताक्सुगाडसहित भेरी करिडोरमा रहेका जोखिमयुक्त स्थानमा स्थायी संरचना निर्माण गर्नुपर्ने माग स्थानीयले गर्दै आएको छ । यस खण्डमा ५ वटा पुल क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड र झुर्मेखोलाको पक्की पुलको ठेक्का १८ करोड ४३ लाख ४३ हजारमा लिएको थियो । त्यस्तै सोही कम्पनीले त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको ठेक्का लिएको थियो । यो ठेक्का १३ करोड ५४ लाख बराबरको हो । यी पुल भेरी कोरिडोरका महत्वपूर्ण संरचना हुन् । तर हाल सम्मा काम हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार