कैलाली ।
साउन २२ गते कैलालीको जानकी गाउँपालिकास्थित अमरावती जंगलमा रगत भेटिएको खबर प्रहरीले पायो । खबरपछि घटनास्थल पुगेको प्रहरीले आसपास खोज्दा दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र जेब्राझोलाको ताना पनि भेटिए । त्यतिबेला कसको रगत हो र जंगलमा यी सामान कसरी पुगे भन्ने खुलेको थिएन । तर, यही घटनाले केही दिनपछि कैलालीमा भएको एउटा रहस्यमय हत्याको पर्दा खोल्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका दीपक सुनारको हत्या उनकै श्रीमती यमुना सुनारले प्रेमीसँग मिलेर योजना बनाएको खुलेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यमुनासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनाका प्रेमी लम्कीका दुर्योधन सुवर्णकार, उनका साथी टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी–८ का बीरेन्द्र राना र भीम राना छन् । प्रहरीले जंगलमा रगत फेला पारेपछि यमुनाले प्रहरीलाई श्रीमान् हराएको जानकारी गराएकी थिइन् । साउन २२ गते साँझ करिब ५ बजे उनी श्रीमान् दीपक बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय लम्की पुगेकी थिइन् । तर, आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीले उनलाई टीकापुर पठाएको थियो ।
त्यसअघि सोही दिन दिउँसो करिब २ बजे प्रहरीले अमरावतीको जंगलमा रगतसहित शंकास्पद सामग्री फेला पारिसकेको थियो । बरामद रगत मानिसको भएको फरेन्सिक परीक्षणबाट पुष्टि भएपछि घटनाले नयाँ मोड लियो। त्यसपछि प्रहरीको अनुसन्धान दीपक सुनारको खोजीसँग जोडियो । प्रहरीका अनुसार हत्या आरोपितहरू साउन २१ गते टीकापुर पुगेका थिए । सोही दिन दिउँसो यमुना र उनका प्रेमी दुर्योधन एउटा होटलमा बसेका थिए । पछि यमुना जानकी गाउँपालिकास्थित आफ्नो घर फर्किइन् ।
उता अन्य चार जना गोचाली खाजा घरमा नास्ता गरेर बसे । राति करिब १० बजे उनीहरू अमरावती पुगे । त्यहाँ पुगेको जानकारी यमुनालाई गराएपछि उनले श्रीमान् दीपकलाई स्कुटीमा राखेर जंगलतर्फ लगेकी थिइन् ।प्रारम्भिक अनुसन्धानअनुसार जंगलमा पुगेपछि दीपकमाथि हतियार प्रहार गरिएको थियो । त्यसपछि उनको हत्या गरी शव कर्णाली नदीमा फालिएको पक्राउ परेकाहरूले बयान दिएका छन् । प्रहरीका अनुसार यमुना र उनका प्रेमी सुवर्णकारले अन्य व्यक्तिलाई पैसा दिने सहमतिमा दीपकको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।तर, हत्या गराउन कति रकममा ‘सुपारी’ दिइएको थियो भन्ने खुलेको छैन । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको टोली खटिएको थियो ।
हत्या आरोपमा पाँच जना पक्राउ
कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको घटनाबारे प्रहरीले विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पाँच जनालाई पक्राउ गर्दै अनुसन्धान अगाडि बढाइएको जनाएको छ। लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या आरोपमा उनकी श्रीमतीसहित पाँच जना पक्राउ परेको विवरण सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार दीपक गत साउन २२ गते बिहानदेखि जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट बेपत्ता भएका थिए । श्रीमती यमुना सुनारले श्रीमान् हराएको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएकी थिइन् ।
बेपत्ताको खोजी गर्ने क्रममा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदा हत्या भएको तथ्य खुलेको हो । प्रारम्भिक अनुसन्धानअनुसार यमुनाले आफ्ना प्रेमी लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकारसँग मिलेर दीपकको हत्या गर्ने योजना बनाएकी थिइन् । प्रहरीका अनुसार यमुना र दुर्योधनले दीपकको हत्या गर्न डेढ लाख रूपैयाँँमा अन्य व्यक्तिलाई ‘सुपारी’ दिएका थिए । योजनाअनुसार दीपकको अमरावती जंगलमा हत्या गरी मोटरसाइकलमा शव लगिएको र दुई टुक्रा पारेर कर्णाली नदीमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भदौ ९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुर्योधन सुवर्णकार, यमुना सुनार, टीकापुर–३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुरको बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा राना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले घटनाको प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जानकारी दिए । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टिकापुर र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली खटिएको थियो ।








प्रतिक्रिया दिनुहोस्