कृति समीक्षाः नेपाली कथाभवनको एउटा इँटाः महाभूकम्प



डा. श्यामप्रसाद न्यौपाने

हरेक महिना प्रायः शनिवारका दिन परासी, भैरहवा, बुटवलतिर काव्यानुष्ठान भइरहन्छन् । यतातिरका जुनसुकै स्थानका काव्यानुष्ठानमा भेला हुने अनुहार पनि एकै किसिमका देखिन्छन् । यसै सिलसिलामा वि.सं. २०८३ जेठ १५ गते शुक्रवारका दिन भैरहवामा एक साहित्यिक कार्यक्रम सम्पन्न भयो, शहीद स्मृति पुस्तकालयको हलमा । कार्यक्रम थियो, कृति लोकार्पणको । कृति थियो, महाभूकम्प । कृतिकार थिए, यस क्षेत्रकै अग्रज साहित्यकारमध्ये एक, आख्यानकार विजय सागर श्रेष्ठ । उसो त उनी जन्मिएको तिथि, मिति र नक्षत्र केलाएर पुरोहितले राखेको नाउँ थियो, विजयगोविन्द श्रेष्ठ तर उनी साहित्यका क्षेत्रमा विजय सागरका नाउँले आपूmलाई चिनाउँदै आए र यही नाउँबाट चर्चित पनि भए । विजय सागर यस क्षेत्रका अग्रज साहित्यिक हस्ती । हुन त उनले कविता, संस्कृति विषयमा पनि कलम नचलाएका होइनन् तर उनी हाम्रै समाज वरपरका दृश्य, परिवेश, सङ्गत र घटना लिएर कथा बुन्न खुब सिपालु छन् र मन पराउँछन् पनि । उनी अन्य विधामा भन्दा आख्यानमै बढी खुलेका पनि छन् । वि.सं. २०३० मा हाम्रा कथा संयुक्त कृति प्रकाशित गरी नेपाली कथाको क्षेत्रमा आख्यानकारको रूपमा दह्रो उपस्थिति जनाएका विजय सागरको पहिलो एकल आख्यान कृति भने सागरका कथा (२०६०) हो । उनका एकल प्रकाशनका दृष्टिले महाभूकम्प (२०८३) आख्यान सम्बन्धी दोस्रो कृति हो भने संयुक्त कृतिसमेतलाई गणना गर्दा विवरुका कथा (२०६६) पछिको चौथो कृति हो । विवरुका कथा विजयसागर, वनमाली निराकार रुद्र ज्ञवालीको संयुक्त आख्यान कृति हो । विवरु विजयसागर, वनमाली निराकार र रुद्र ज्ञवालीको नामको आदी अक्षरलाई लिएर बनाइएको सामुहिक नाम हो । यो गन्थन महाभूकम्पको सेरोफेरोमै रहेको छ ।

उषा श्रेष्ठका आर्थिक लगानीमा प्रकाशित महाभूकम्पमा लामा छोटा गरी जम्माजम्मी १५ वटा कथा समावेश गरिएको छ । यसमा समाविष्ट कथाहरूमध्ये सबैभन्दा लामो कथा वृद्ध मानिस हराएको सूचना शीर्षकीय कथा हो । यसले १४ पृष्ठ ओगटेको छ भने सबैभन्दा छोटो कथा रित्तो गुँड शीर्षकीय कथा हो । यसले दुई पृष्ठ ओगटेको छ । अन्य कथाहरू पनि गाईका पुच्छरका रौँ झैँ कुनै लामा र कुनै छोटा देखिन्छन् । यी कथा वि.सं. २०५१ देखि २०७५ सम्म रचना गरिएको कथासङ्ग्रहमा उल्लेख पाइन्छ ।
विषयवस्तुका दृष्टिले हेर्दा यी कथामा विवधता पाइन्छ । कथा हाम्रै समाजका विविध घटनावलीलाई केन्द्र बनाएर रचना गरिएका छन् । यी कथा पढ्दा पाठकले लेखकसँग कुरा गरिरहेझैँ अनुभूत हुन्छ । आफैँले देखे जानेको वातावरण पाठकले अनुभूत गर्दछ । यसमा समाविष्ट कथामध्ये पहिलो कथा महाभूकम्प शीर्षकीय कथा हो । यो वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्पले निम्त्याएको दर्दनाक पीडा र क्षतिसँग सम्बन्धित छ । यसमा भूकम्पले दिएको पीडा र त्यसले परिवारका सदस्यको मायाले अभिभावकमा पारेको पराकम्पन छ । खाण्डवदाह शीर्षकीय कथामा माओवादी द्वन्दले देश र सर्वसाधारण जनताले भोग्नुपरेको मार्मिक पीडाको अभिव्यक्ति पाइन्छ । वृद्ध मानिस हराएको सूचनामा बुहारीका कटु व्यवहारले परिवारको अभिभावकको रूपमा रहेको वृद्ध आपूmले खाई नखाई सञ्चय गरेको सम्पत्ति र निर्माण गरेको घरबार त्यागेर हिँडन विवश भएको कारुणिक कथा बुनिएको छ । पारपाचुके लिएकी स्वास्नीमा श्रीमान्सँग छोडपत्र लिएकी श्रीमतीको मार्मिक पीडा छ । बिचरी यशोधरा कथा वैभवशाली शाक्य गणराज्यका राजकुमार सिद्धार्थ गौतमकी पत्नी राजकुमारी यशोधराको जीवनमा आएका खुशी र पीडालाई समेटेर रचना गरिएको छ । आपूm आमा बनेको खुशीमा रमाइलो गर्न नपाउँदै पतिको वियोग सहनु परेको मार्मिक पीडाले तिलौराकोटकी युवराज्ञी यशोधरालाई बिचरी बनाएको कथा बिचरी यशोधरामा पाइन्छ । सभ्य र समृद्ध परिवारकी महिला रजनीले परिवारबाट प्रेम र सम्पूर्ण सुविधा पाए पनि परपुरुषको सङ्गत गरी जीवनलाई कुरुप तुल्याएको विडम्बनालाई विडम्बना शीर्षकीय कथामा व्यक्त गरिएको छ ।

घरपरिवारलाई निकै माया गर्ने एउटा शैक्षिक, बौद्धिक व्यक्ति छोराहरूको हार्दिक प्रेम नपाउँदा कसरी जँड्याहा बन्न बाध्य हुन्छ भन्ने भाव गुरु विष्णुप्रसादलाई पात्र बनाएर जँड्याहा कथामा व्यक्त गरिएको छ । लोग्नेको तस्बिर कथामा आपूmभन्दा कम पढेलेखेको केटोसँग विवाह भएकोमा असन्तुष्ट रहेकी मानवीको अभिमानी व्यवहारले उसको पति ऋषिकेश मृत्यु वरण गर्न बाध्य भएको र पतिको मृत्युपश्चात् आफ्नो अभिमानी व्यवहारप्रति पश्चात्ताप गर्दै पतिकोे फोटो हेरेर विवशताका साथ बाँच्न बाध्य मानवीको कथा बुन्दै लोग्नेको तस्बिर कथामा पतिपत्नी मिलेर बस्दा जीवन सुखमय र आनन्दमय हुने भाव व्यक्त गरिएको छ । विमला दिदी कथामा आमाबाबु, भाइबहिनी, घरपरिवारको सुव्यवस्थापनको निम्ति आफ्नो व्यक्तिगत खुसीलाई तिलाञ्जलि दिई विवाह नै नगरी बसेकी विमला दिदीको मार्मिक कथा छ । मृत्युतुल्य कष्ट भोगेर जन्माएक सन्तान र मुटुभरिको माया दिने लोग्नेलाई अलपत्र छोडेर अर्कै व्यक्तिसँग दोस्रो घरजम गरी बसेकी महिलाको कथा एउटी नारीले दिएको पीडामा व्यक्त गरिएको छ । परपुरुषको गन्ध कथामा चरित्रहीन नारीको कथा छ । पत्नीको निधनपश्चात् पति एक्लै बाँच्नुपर्दाको मार्मिक पीडाको अभिव्यक्ति छ, एक्लो जिउनुको पीडामा । नारी स्वतन्त्रका नाउँमा सुन्दर घरबार कसरी भताभुङ्ग र लथालिङ्ग हुन्छ भन्ने परपुरुषको गन्ध कथामा निकै मार्मिक ढङ्गले व्यक्त भएको छ । भण्डारी बाजेका पीडाले पाठकलाई संवेदनाको भित्री तहसम्म पु¥याएर सोचमग्न बनाउँछ । रित्तो गुँड कथामा बचेराहरूका प्वाँख पलाएपछि गुँड रित्तिएझैँ छोराछोरीहरू हुर्केबढेपछि अध्ययन र आर्जनको सिलसिलामा घरबाट टाढिँदा हरेक घर रित्ता भएको आजका आम नेपालीहरूको मार्मिक पीडाको सत्याभिव्यक्ति पाइन्छ । छोराहरूको न्याय कथामा आपूmले निकै मिहिनेतका साथ जोडेको जायजेथा र नाकमुख सुकाई आर्जन गरेको सम्पत्ति छोराहरूलाई अंशबन्डा गरिदिएपछि वृद्ध र अशक्त बाबु घरबारविहीन हुनुपरेको पीडा पाइन्छ । समयका पखेटा कथामा समयले मानिसलाई जहाँसुकै पु¥याउन सक्ने र मानिस समयानुसार परिवर्तित हुनुपर्ने, जीवनमा आइपर्ने समस्याहरूलाई आत्मबलका साथ धैर्यपूर्वक समाधान गर्दै अगाडि बढ्नुपर्ने सन्देश दिन खोजिएको छ । एक्लो हुनुको पीडा कथामा पत्नीको निधनपश्चात् पति नैराश्यपूर्ण कष्टकर एक्लो जीवन व्यतीत गर्न बाध्य हुनुपरेको यथार्थको अभिव्यक्ति पाइन्छ ।

यहाँ प्राकृतिक प्रकोपले निम्त्याएको पीडा छ, पारिवारिक सकस छताछुल्ल छ, परिवारका जिम्मेवार व्यक्तिको गैह्र जिम्मेवारी चरित्रले निम्त्याएका अनेक कष्ट छन्, छटपटी छन् । देशमा चलिरहेको खराब प्रवृत्ति हटाउन टाउकोमा कात्रो बाँधेर हिँडेकाहरू नै खराब प्रवृत्तिको रछ्यानमा डुबुल्की मारेको नमिठो पीडा छ, खाण्डव वनझैँ देश भित्रभित्र खरानीमा परिणत भएको यथार्थ तर दुःखद कथा छ, मातृ देवो भव, पितृ देवो भव, अतिथि देवो भव हाम्रो परापूर्वकालदेखिको संस्कार हो, व्यवहार हो, श्रद्धा हो र विश्वास पनि हो तर त्यही संस्कारमा हुर्केबढेका व्यक्तिले अशक्त र वृद्ध बाबुलाई तिरस्कार गरी घरबाट निकालेको संस्कारहीन चरित्रको कथा पनि छ यहाँ । कथाकारले समाजको भित्रभित्र पसेर यावत् विसङ्गति कोट्याउँदै सङ्गति मिलाउन सङ्केत गरेका छन् । कानुनीरूपमा पारपाचुके लिए पनि हार्दिक प्रेमको रस हृदयबाट कहिल्यै नसुक्ने हरिमाया र हरिबहादुरको मार्मिक कथा बुनिएको छ यहाँ । सन्तानप्राप्तिको खुसीको माहौलमा पतिवियोगको पीडा सहनु परेको यशोधराको असह्य पीडा, आपूmभन्दा कम पढालेखा भएको निहुँमा पतिलाई ऊ ज्युँदो छँदासम्म तिरस्कार गर्ने मानवीको वेदना छ । नारी स्वतन्त्रताको नाउँमा घरपरिवारको मतलबै नराखी हिँड्दा घरबार लथालिङ्ग भएको पीडादायी कथा छ । नेताका चरित्रलाई पनि कथाले च्वास्स छोएको छ । समय नै बलवान् हो, उसले जताजता लैजान्छ, मानिस त्यतै जान बाध्य हुन्छ भन्ने सङ्केत पनि यहाँ पाइन्छ । छोराछोरी घरमा नहुँदाका पीडा, वृद्ध एकल पुरुषको मार्मिक पीडा आदि हाम्रै घरघरका , हाम्रै समाजका , हाम्रै देशका यथार्थ घटनालाई लिएर कथाको स्वरूप दिइएको महाभूकम्पका कथाले पाठकको मनमस्तिष्कमा एक किसिमको पराकम्पनको अनुभूति गराउँछन् ।

यसरी यस कथासङ्ग्रहका प्रत्येक कथाले भिन्न भिन्न विषयवस्तु प्रस्तुत गर्दै हाम्रो समाजका विविध घटना र जीवनका विविध पाटालाई प्रकाशमा ल्याएका छन् । कतिपय कथाले पीडाका भुक्तभोगीले भन्न नसक्ने कुरालाई पनि कथाकारले पात्रका माध्यमबाट व्यक्त गराएर समाजलाई सङ्गतितर्फ लाग्न सङ्केत गरेका छन् । सरल भाषा र वर्णनात्मक शैलीमा रचना गरिएका यी कथा पढदै जाँदा पाठकलाई यसका पात्रसँग कुरा गरेझैँ अनुभूत हुन्छ । यतै तानसेन, बुटवल, नुवाकोटको डाँडो, तिनाउ खोला, भैरहवा, लुम्बिनी, पाल्पा तानसेन, बर्तुङ, बराङ्दी, माडी फाँट, आर्यभन्ज्याङ, रामपुर, रोहिणी नदी, रामग्राम, देवदह, काठमाडौँ, वीरगन्ज, पोखरा, विजयपुर, नेपालगन्ज, गोरखपुर, आदि स्थान स्थानगत परिवेशका रूपमा आएका छन् । पाठकहरूलाई कथा पढ्दा तद्तद् स्थानमा ती ती पात्रहरूसँग आफैँ संवाद गरेको अनुभूति हुन्छ । आत्मीयताको अनुभव हुन्छ । सरल भाषा र वर्णनात्मक शैलीमा संरचित यी कथा पढ्दा कतै कतै संस्मरण पढ्दै छु कि कथा भन्नेमा दोधारमा पर्नसक्छ । मध्यम वर्गीय नेपाली समाजका पात्रलाई उभ्याएर कथाकारले नेपाली मध्यम वर्गीय समाजका जीवन भोगाइलाई अभिव्यक्त गर्ने प्रयास गरेको देखिन्छ । कथा भिन्न भिन्न आयाममा रचना गरिएका छन् । अधिक वर्र्णनले पनि पाठकको मनस्थिति एकाग्र पार्न बाधा उत्पन्न गर्दछन् । कुनै कुनै कथा केही लामो आयामका हुँदा पाठकको एकाग्रता भङ्ग हुनसक्ने देखिन्छ । कथाकारले यसतर्फ ध्यान पु¥याउनुपर्ने देखिन्छ । विषयवस्तुको बुनोट आकर्षक छ, कथन शैली रोचक छ, विषयवस्तुको छनोट भिन्न किसिमको छ । मानवीय द्वन्द्व र यौन मनोविज्ञानलाई पनि शिष्ट किसिमले प्रस्तुत गरिएको छ । प्रायः प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भए पनि तृतीय पुरुष र मिस्रित दृष्टिविन्दु पनि प्रयोग भएको स्पष्ट देखिन्छ । र अन्त्यमा, कथा कथ्ने र बुन्ने लामो अनुभव सँगालेका साहित्यसाधक विजयसागरको प्रस्तुत कथा सङ्ग्रह महाभूकम्प आधुनिक नेपाली कथारूपी भवन निर्माणमा एक सुदृढ इँटाको रूपमा रहेको छ भनी सहजै भन्न सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ६ गते शनिबार