भीम रावत
नेकपा एमाले नेपाली राजनीतिमा कुनै समय सर्वाधिक लोकप्रिय र सबै भन्दा राम्रो जनाधार भएको पार्टी मानिन्थ्यो । यो पार्टी खास गरी मदन भण्डारीको व्यक्तित्व र उनको २०४९ सालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत र पारित जनताको बहुदलीय जनवादी कार्यनीति तथा २०५१ सालमा नेपालमा पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा अल्पमत कै भए पनि नेकपा एमालेको सरकारको नेतृत्व गरेका शालीन, सरल र इमानदार नेता मनमोहन अधिकारीको व्यक्तित्व कै कारण करिब तीन दशक एमालेले केन्द्रीय सत्ताको वरिपरि राज गरिरहने अवसर पायो । मदन भण्डारीको जबज तत्कालीन कार्यनीतिक कार्यक्रम थियो । तर मदनको रहस्यमय मृत्युपश्चात् त्यो कार्यनीतिलाई नेकपा एमालेले आफ्नो वैचारिक नीति मात्र होइन, पार्टीको मार्गदर्शक सिद्धान्त नै बनायो । अहिले पनि एमाले जबज कै मार्गदर्शक सिद्धान्त कै आधारमा चलिरहेको दाबी गरिरहेकै छ । एमालेले मार्गदर्शक सिद्धान्त मानेको यो ‘जबज’ एमालेका अध्यक्ष केपी ओलीका लागि ‘घर–घरमा ग्याँसका पाइप पु¥याइदिने, नेपालमा पानीजहाज कुदाउने, नेपालका सबै सहरमा रेल दगुराउने काल्पनिक सूत्रको मन्त्र’ समेत बन्यो । यो तीन दशकमा एमालेका तीन जना नेता प्रधानमन्त्री भए । केपी ओली चार पटक प्रधानमन्त्री भए । दुई पटक त झण्डै दुईतिहाइको नेतृत्व गरेर प्रधानमन्त्री भए । एक पटक आफ्नै दल नेकपाको र अर्को पटक नेपाली काँग्रेससहितको गठबन्धनमा । मदन भण्डारीकी पत्नी विद्या भण्डारी र केपी ओली बीचको राजनीतिक र सांगठानिक घनिष्टताको कुरा त झन किन गर्नु प¥यो र ? त्यो त दुनियालाई थाहा छ । ओलीकै आशीर्वादले भण्डारी दुई पटक गणतन्त्र नेपालको सर्वोच्च राजकीय पदवी राष्ट्रपति समेत बनिन् । केपी ओली प्रधानमन्त्री र विद्या भण्डारी राष्ट्रपति भएको समय नेपालको राजकीय सत्तामा सबै भन्दा ठूलो पावर आफूमा केन्द्रित भएको समय हो । यस्तो अवस्थामा समेत कहिल्यै मदन भण्डारीको रहस्यमय हत्याको अनुसन्धान गर्ने काम भएन । गर्न नसक्ने भएर त होइन होला । कि त नचाहेर होला । कि त विद्या भण्डारीले आफूलाई ‘मदनकै ‘साख’मा राष्ट्रपति भएँ, अब न्याय पाएँ ।’ भन्ने लागेर होला ।
जब कि सो अवधिको राजनीति यात्रामा मदन भण्डारीको हत्या भएको र यसमा क–कसको संलग्नता छ भन्ने केही सार्वजनिक तथ्यहरू समेत उजागर भैसकेका थिए । जस्तो कि नेपाली काँग्रेसका कोइराला परिवारका नजिकका मानिने नेता उमेश गिरीले मदन भण्डारीको हत्या गराउने गिरिजाप्रसाद कोइराला नै हुन् भनेर दाबी गर्दै अन्तरवार्ता नै दिए । उमेश गिरीले अन्तरवार्तामा भनेका थिए । ‘मलाई गिरिजा कोइरालाले बोलाएर म उनलाई भेटन विराटनगर उनको घरमा गएँ । म जाँदा शेखर कोइराला बाहिर निस्केर गए । मलाई गिरिजाले भित्र बोलाएर नोना कोइरालालाई त्यो कुरा उमेशलाई भन् भने । तर नोना रोइरालाले तपाईँले आफैँ भन्नोस् भनिन् । त्यपछि गिरिजा कोइरालाले मलाई ‘मदन भण्डारीलाई सिनआउट’ गर्नु प¥यो । मदन भण्डारीलाई सिनआउट गरिएन भने नेपाली काँग्रेस नै नेपाली राजनीतिबाट सिनआउट हुन सक्छ । त्यसैले उमेश तिमीले यो काम गर्न सक्छौ भनेर तिमीलाई बोलाएको । मैले मदन भण्डारीलाई मार्ने काम सजिलो छैन । म सक्दिन । तपाईँले पनि मदन भण्डारीलाई सिनआउट गर्ने भन्ने कुरा छोड्नोस् भन्दा गिरिजाले तिमीले नगर्ने भए अरु खोज्नु पर्ने भयो भनेर भने अनि म फर्किएँ ।’ उमेश गिरीको अन्तरवार्ताको यो क्लिप अझै पनि यो अन्तरवार्ता लिने टेलिभिजनहरूको हार्डडिक्समा सुरक्षित नै होला । त्यस्तै एक अन्तरवार्तामा एमाले अध्यक्ष केपी ओलीले स्वयम भनेका छन् । ‘पहिले मदन भण्डारीलाई मार्न मलाई प्रयोग गर्न खोजेका थिए । मबाट यस्तो काम हुँदैन भनेपछि उनीहरूले क–कसलाई प्रयोग गरेर मारे थाहा पाउन सकिएन । तर मदन भण्डारीको हत्या गर्ने काममा नेपाली काँग्रेसकै हात छ ।’ मदन भण्डारीको हत्याको अनुसन्धान गर्न के यी दुई व्यक्तिहरूले सार्वजनिक रूपमा व्यक्त गरेका प्रमाणहरू काफी छैनन् र ? यस्तो कुरा थाहा भएर पनि केपी ओली चार पटक प्रधानमन्त्री र विद्या भण्डारी दुई पटक राष्ट्रपति हुँदा किन अनुसन्धान गरिएन ? यसबाट आशंका र प्रश्नहरू एमाले नेतृत्वतिर फर्किएका छन् । केपी ओली जब सत्ता र शक्तिमा पुगे तब उनीमा सत्ताको उन्माद चढ्यो र अहंकारको दम्भ यति माथि चढ्यो कि उनले आफूबाहेक अरु सबैलाई अज्ञानी, निकम्बा र आफ्ना चाकर दासहरू जस्ता मात्र देख्न थाले ।
उनको त्यो अहंकारको दम्भले नेकपाको झण्डै दुईतिहाइको सरकारको नेतृत्व गरेका ओलीले आफ्नै सरकार र आफ्नै पार्टी नेकपालाई बचाउन सकेनन् । नेकपाबाट माओवादी केन्द्र अलग भयो । पुरानो एमाले पनि विभाजित भयो । २०७९ को निर्वाचनमा काँग्रेस–माओवादी केन्द्र–समाजवादी तथा मधेशी दलहरूको गठबन्धन देखेर ओलीले पनि हुन सक्नेसम्म चार÷पाँच पार्टीहरूसँग गठबन्धन गरे । ओलीले एमालेको केही साख जोगाउन सके । निर्वाचनपश्चात् ओलीले प्रचण्डलाई केही समय फनफनी घुमाए । सत्ताको लोभमा प्रचण्ड पनि ओलीको इशारामा ‘स्वर्ग गए पनि सँगै, नर्ग गए पनि सँगै’ ओली सूत्रमा मक्ख परे । प्रचण्डको नेतृत्वको सरकारले जब भ्रष्टाचारका सुईहरू ओली र आरजु देउवातिर सोझ्याउन लागेको ओलीलाई थाहा भयो तब बिचौलियाको संरक्षण गर्न ओली–देउवा गठबन्धनमा ओली प्रधानमन्त्री बने । ओलीको यो राजनीतिक गठबन्धन नै ओली– देउवाको राजनीतिक जीवनमा ‘पीडादायिक राजनीतिको नकारात्मक पराकाष्टा बन्न पुग्यो । सायद ओली नेतृत्वमा काँग्रेस–एमाले गठबन्धन नबनेको भए नेपाली राजनीतिमा आजको अवस्था यति छिटै आउने थिएन । ओली नेतृत्वको सरकार कै कारण नेपालमा जेनजी विद्रोह भयो र ओली सरकारका मन्त्रीहरू र देशको प्रधानमन्त्री ओली स्वयम पनि ज्यान जोगाउन सेनाको हेलिकप्टरको सहायतामा राजधानीबाट भागेर सेनाका ब्यारेकभित्र केही साता गुमनाम भएर बस्नु पर्ने अवस्था आयो । यो नेपाली राजनीतिमा एउटा दुर्दान्त र दुःखद घटना हो । यो घटनापश्चात् देउवा दम्पती देश छोडेर गए । उनीहरू अझै नेपाल फर्किन सकेका छैनन्। ओली नेपालमै बसे यो राम्रो पक्ष हो । ओलीलाई जेनजी विद्रोहपश्चात् पार्टीमा फेरि आफैँ नेतृत्वमा बसे । नेतृत्व छोड्न पार्टीभित्र कुरा उठे पनि त्यसले उनलाई केही दबाब दिन सकेन । जेनजी विद्रोहपश्चात् गत फागुन २१ गतेको निर्वाचनमा ओली नेतृत्व कै कारण एमालेको नराम्रो पराजय हुँदा समेत ओलीले विगतमा आफू नेतृत्वमा हुँदा भएका कमीकमजोरीलाई अझैसम्म पनि स्वीकार्न तयार छैनन् । १९ जनाको सचिवालयमा ओलीको विपक्षमा १४ जना पदाधिकारीहरू उभिँदासम्म पनि ओली पार्टी संगठनलाई पुनर्गठन गर्ने पक्षमा देखिएका छैनन् । ओलीमा अहिले पनि अहंकारको दम्भ यति तेज छ कि ‘लंका खरानी नहुँदासम्म रावणको घमण्डजस्तै ।’
यतिबेला एमालेले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गरी ‘मिसन जागरण अभियान’ चलाउने निर्णण गरी प्रत्येक स्थानीय तहसम्ममा केन्द्रीय नेताको कार्यविभाजन गरेर जिम्मेवारी तोकिसकेको अवस्थामा पनि ‘पार्टीलाई माथिदेखि तलसम्म पुनर्गठन गर्ने’ भन्ने नेताहरूको आवाजलाई ओलीले सोझै इन्कार गरिहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले पार्टी ‘पुनर्गठन’का नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाएका छन् । गत शनिबार मात्र पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपश्चात् ओली भेट्न गुन्डुस्थित ओली निवासमा पुगेका अगुवा नेता–कार्यकर्तासँग ओलीले पार्टीभित्रको आन्तरिक विषयलाई खुलाएर पार्टी र नेतृत्वलाई कमजोर बनाउने कुनै पनि प्रयास आफूलाई स्वीकार्य नहुने बताएका छन् । ‘पार्टी पुनर्गठनका नाममा पार्टीलाई फेरि केही व्यक्तिहरूले एकपटक फुटाउन खोजिरहेका छन् । तपाईँहरू सजग हुनुस् । अहिले पार्टीभित्रै केही लोभीपापी देखिएका छन् । त्यसैले म अहिलेलाई रामराम मात्रै भन्न सक्छु, तर काँधै त थाप्न सक्दिनँ ।’ ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललक्षित आक्रोश पोखेका थिए । ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? तर, म सबै कुरा केन्द्रीय कमिटिमा बताउँछु, त्यहीँ फेस गर्छु ।’ ओलीले आफूलाई भेट्न गएका नेतालाई ठाडै चुनौती दिएका छन् । शनिबार सम्पन्न भएको एमालेको शागमती प्रदेशस्तरीय भेलामा उपाध्यक्ष विष्णु पौडेलले केन्द्रीय सचिवालयले पार्टी पुनर्गठनका लागि अगाडि बढ्ने निर्णय गरेकाले अब सो निर्णयबाट पछि नहट्ने बताएका थिए भने महासचिव शंकर पोखरेलले भेलालाई सम्बोधन गर्दै जिल्लाका अध्यक्षहरूलाई पार्टी अहिले कुन अवस्थामा छ भन्ने विषयलाई गहिरो गरी आत्मसात् गरी सुझावहरू दिन आग्रह गरेका थिए । पोखरेलले भने झैँ एमाले यतिबेला साँच्चिकै गहिरो संकटमा छ । खासगरी पार्टी अध्यक्षका सबै गल्तीहरूलाई जोगाउने नाममा पार्टी नै सकिने अवस्थामा आएको र पार्टीको राजनीतिक जीवन नै घिटीघिटीमा रहेको छ । अझै पनि समय छ । यति नेतृत्व अझै पनि नसच्चिने र नसुध्रिने हो भने एमालेको हालत पश्चिम बंगालको कम्युनिस्ट पार्टीकोजस्तै हुन बेर लाग्ने छैन । चेतना भया !









प्रतिक्रिया दिनुहोस्