जीतबहादुर शाह
हस्पिटलको बेडमा दुई वर्षको बालक असह्य पीडाका कारण छटपटाइ रहेको थियो । उसको चिच्याहटले हस्पिटलको सन्नाटालाई चिर्दै मानव बस्तीलाई नै पाशविक बनाइरहेको थियो । सायद त्यो आवाज उसको अन्तिम थियो क्या रे । बाँच्ने आशामा जोडले बाबा, आमा भनेर कराइरहेको थियो । उसलाई लाग्यो होला, मलाई बचाउन सक्ने भनेको यो धर्तिमा कोही छन् भने मेरा बाबा आमा हुन् । अबोध बालकलाई के थाहा बिचरा । उसलाई यत्तिसम्मको बीभत्स अवस्थाको सिर्जना गरेर मृत्युको मुखमा पु¥याउने भनेकै उसको बाबा हो । दुई वर्षे बालक प्रिन्सलाई पिठ्युँमा बोकिरहेको बेला उसको बाबाले उसको आमाको जिउमा टाढैबाट पेट्रोल छर्केर आगोसमेत टाढैबाट लगाएर भाग्छ । आफ्नै सन्तानसमेत खरानी हुने गरी उसले किन यो हरकत ग¥यो होला ? के मान्छेको शरीरभित्र पनि राक्षसभन्दा पनि महाराक्षसको जस्तो मन हुर्कन सम्भव हुन्छ र ? सम्भव नहुनु पर्ने । तथापि सम्भव भयो । पश्चिम नेपालको सुन्दर सहर कोहलपुरको नाकमा कालो धब्बा लाग्ने गरी यो घटना भयो । एउटा बाबाले आफ्नै दुई वर्षको बच्चालाई पेट्रोल छर्केर आगो लगायो । बच्चाको देहलिला समाप्त भयो । परिकल्पनाको उच्च आकाशमा सयर गर्ने उद्धत कुनै पागल साहित्यकारले समेत यत्तिसम्मको कल्पना गर्न सक्दैन होला । त्यस्तो घटना घट्यो । अकल्पनीय पनि सीमाहीन अकल्पनीय । आततायी हिटलरले दुनियाँलाई भुट्न खोजेको थियो आफ्नो र आफ्ना सन्तानहरूको निम्ति । जनताको रगतमा होली खेल्ने तानासाहहरूले समेत आफ्ना परिवारको निम्ति एउटा सुन्दर सपना देख्ने धृष्टता गरेको हुन्छ । संसारका नरसंहारकारी रक्तपिपासुहरूलाई समेत मात गर्ने गरी आफ्नै सन्तानको ज्यान जाने गरी यो बीभत्स हत्या कसरी गर्न सक्यो होला ! यस्तो कार्य पनि मानिसबाट सम्भव हुन्छ र ? त्यस्तो मानिसले बाँकी जीवन कसरी जिउँछ होला ? त्यस्तो मानिसले अरुको अघि कसरी अनुहार देखाएर हिँड्छ होला ? आफूले गरेको कर्मको पछुतोभावले उसले छर्केको पेट्रोलले छोराको शरीरमा दिएको पीडाभन्दा सयौँ गुना बढी भएर उसैलाई नै खरानी बनाउँछ होला कि बनाउँदैन होला ? त्यस्तो मानिसलाई अरु मानिसले भेटे र देखे भने उसलाई कसरी हेर्छन् होला र उसको बारेमा के कल्पना गर्छन् होला ? मलाई लाग्छ, त्यो मान्छे सद्दे भए पनि त्यो बेहदको पागल हो । त्यस्तै बेहदको पागलले गरेको जिउ सिरिङ्ग हुने हरकत सम्झेर कहिलेकाहीँ त म पो पागल हुन्छु कि भन्ने लागिरहन्छ ।
बच्चा वा शिशुुहरू जसका पनि राम्रा हुन्छन् । सुँगुर फोहर हुन्छ । उसका बच्चा भने कति रहरलाग्दा हुन्छन् । हातमा लिएर सुम्सुम्याउँजस्ता । कुकुरका बच्चा पनि त्यस्तै राम्रा । गन्ती गरेर भनिसाध्य छैन । हरेक पशुपन्क्षी र जनावरका बच्चाहरू राम्रा र रहरलाग्दा हुन्छन् । मान्छेका बच्चाहरूका त झन् के कुरा । त्यसमा पनि समाजमा भन्ने गरिन्छ– अरु जेजस्तो भए पनि आफ्ना सन्ततिको जस्तो अरु कसैका सन्ततिको पनि माया लाग्दैन । त्यसलाई यो कुराले किन छोएन होला । यो त एउटा मानव सभ्यताकै निकृष्ट दृष्टान्त हो । तुलना गर्दा यसभन्दा तलमाथि पर्ने गरी हाम्रो समाजमा त्यस्ता दृष्टान्तहरू यत्रतत्र पाइन्छन् । समग्रमा भन्नुपर्दा हाम्रो समाज बालबालिकामैत्री छैन । बरु उनीहरूको विरुद्धमा उभिएको छ । उनीहरूलाई आज प्रदान गरिने स्याहासुसार र समुन्नत वातावरणले भोलिको देश समुन्नत हुन्छ भन्ने कुरामा बालबालिकाको अभिभावकदेखि देशकै अभिभावकसम्मले पनि चासो नराखिरहेको अवस्था छ । त्यसैले त हाम्रा बालबालिकाहरू कोही जन्मदिनेहरूबाट नजन्मदै हत्या गरिन्छन् । कोही जन्मेपछि हत्या गरिन्छन् । कोही प्राणको ढुकढुकीसँगै सडक, खोल्सा र नालीहरूमा फ्याँकिन्छन् । विडम्बना, तिनैले बालदिवसमा बालअधिकारको कुरा गरेर कहिल्यै थाक्दैनन् । माथि उल्लेख गरिएका आफ्नै सन्ततिको हत्यामा संलग्न हुने अभिभावकलाई त अभिभावकको वर्गमा नै राख्न उपयुक्त हुँदैन । अभिभावकको वर्गमा मात्र होइन मान्छेको वर्गमा पनि राख्न सकिँदैन । किनभने त्यस्ता व्यक्तिलाई मान्छेको वर्गमा राखियो भने मानव सभ्यताको नै अन्त हुने अवश्यम्भावी देखिन्छ । यत्तिमात्र नभइ अन्य अभिभावकहरू पनि बालबालिकाप्रति जति सकारात्मक र सहयोगी हुनु पर्ने हो त्यत्ति हुन नसकिरहेको अवस्था छ । कतिपय अभिभावकहरू टर्चरिङ स्वभावका हुन्छन् । त्यस्ता अभिभावकहरू आफूले दिएको आदेशको भरमा बालबालिकालाई सञ्चालन गर्न चाहन्छन् । उनीहरूलाई बालबालिकाहरू आज्ञाकारी भएको मन पर्छ । उनीहरूले प्रश्नहरू सोधेको र जिज्ञाशाहरू राखेको मन पर्दैन ।
त्यस्ता अभिभावकहरूले बालबालिकाहरू सक्रिय भएको अवस्थालाई हल्ला गरेको, चकचक गरेको, भनेको कुरा नटेरेको रूपमा लिएर नकारात्मक टीकाटिप्पणी गर्दछन् । यस्ता अभिभावकहरूलाई यो स्वभावका बालबालिकाहरू अनुशासनहीन बालबालिकाको क्याटागोरीमा पर्ने गर्दछन् जब कि उक्त बालबालिका एकदमै असल र उपयुक्त बालबालिका हो । किनकि एउटा आदर्श बालकले जे स्वभाव र व्यवहार देखाउनु पर्ने हो, ठीक त्यही स्वभाव उसले देखाइरहेको छ । केही अभिभावकहरू भने ह्दयभरि बालबालिकाप्रतिको माया, श्रद्धा र सम्मानले भरिएका हुन्छन् । यस्ता अभिभावकहरूलाई नर्चरिङ स्वभावका अभिभावकको क्याटागोरीमा राख्न सकिन्छ । यो वर्गमा पर्ने अभिभावकहरूले बालबालिकाहरूसँग सङ्गत र भलाकुसारी गर्न पाउने कुरालाई अहोभाग्यको रूपमा लिन्छन् । बालबालिकाको समस्यालाई गहिरिएर बुझ्छन् र समाधानका लागि विकल्पहरूको विकास गरिदिन्छन् । उनीहरूले राखेका जिज्ञाशालाई सम्मान र प्रोत्साहन प्रदान गर्दछन् । बालबालिकाले देखाएको सक्रियता र चञ्चलेपनलाई प्रगति गर्नका लागि प्रदर्शन गरिएको लक्षणको रूपमा स्वीकार गर्दै त्यस्तो स्वभावलाई अझै प्रोत्साहित गर्दछन् । बालबालिकालाई आज्ञाकारीभन्दा पनि जिम्मेवार व्यक्तिको रूपमा विकास भएको देख्न चाहन्छन् । बालबालिकाहरू विभिन्न महत्वपूर्ण निर्णयहरूमा सहभागी भएर निर्णायक भूमिका निर्वाह गरेको पनि देख्न चाहन्छन् । सिकाइ भनेको अभिभावक र शिक्षकले व्यक्त गरेको बकपत्रको आधारमा होइन कि विद्यार्थी एवम् बालबालिकाहरूले प्रदर्शन गरेको क्षमताको आधारमा उभिएको हुन्छ भन्ने कुरा यस्ता अभिभावकहरूलाई राम्रोसँग जानकारी हुन्छ । क्षमता भनेकै सिकारुले प्रदर्शन गर्ने व्यवहार र स्वभावमा देखिन्छ, न कि मौनता र निष्क्रियतामा । शिक्षकहरू पनि बालबालिकाप्रति जत्ति सकारात्मक र हुनु पर्ने हो त्यत्ति हुन नसकिरहेको अवस्था छ । एकपटक एकजना शिक्षकसँग अन्तरङ्ग भलाकुसारी गर्ने क्रममा मैले उनलाई ठट्टै ठट्टामा सोधेको थिएँ – ‘तपाईँले यत्ति लामो अवधि (सात वर्ष) शिक्षण गर्ने क्रममा विद्यार्थीहरूलाई कुटपिट गर्नु भएको छ कि छैन ?’ उनले स्वभाविक तरिकाले जवाफ दिएका थिए – ‘किन नकुट्नु, कुटेको छु नि ?’ मैले प्रतिप्रश्न गरेको थिएँ – ‘विद्यार्थी कुट्दाखेरी कसरी कुन भागमा कुट्ने भन्ने बारेमा बिचार गरेर सावधानीका साथ कुट्नु हुन्छ होला नि ?’ उनको जवाफ थियो – ‘रिस उठेको बेला कसले पो बेद पढ्छ र ? त्यत्तिबेला जता जता मन लाग्यो उतै उतै कुटिन्छ ।’ मैले उनलाई फेरि सोधेको थिएँ – ‘कुट्ने साधन के हुन्छ ?’
जवाफ थियो– ‘कहिले लठ्ठी हुन्छ । लठ्ठी नभएको बेला हातैले कुटिन्छ ?’ कुट्नु पर्ने कारण के हुन्छ त भनेर मेलै सोध्दा उनको जवाफ थियो – ‘भनेको मान्दैनन् । गल्ती दोहो¥याइ रहन्छन् । अभिभावक र प्रिन्सिपलको समेत अलि अलि कुटपिट गरेर हुन्छ कि कसरी हुन्छ, यसलाई तह लगाइदिनु होला भन्ने आदेश हुन्छ ।’ मैले उनका जवाफहरू सुनेपछि भनेको थिएँ – ‘तपाईँले विद्यार्थीलाई कि त कुटपिट गर्न छोड्नु होला । कि त भने शिक्षण पेसा छोड्नु होला । अन्यथा तपाईँलाई कुनै न कुनै बेला जेल सजायसम्म हुने कुरा करिब करिब निश्चित छ ।’ त्यसपछि भने उनी अलि नर्भस देखिए र केही बोलेनन् । बालक हामीभन्दा असल हुन्छ । किनभने उसले नजानेर गल्ती गर्छ नियतबस गल्ती गर्दैन । हामी वयस्कहरू नजानेर त गल्ती गर्छौँ नै । नियतबस पनि गल्ती गर्ने गर्छौँ । सानो छँदा बालबालिकाहरू संसारका सबै बस्तु र जीवजन्तुलाई आफैँजस्तो ठान्ने गर्छन् । उनीहरूसँग भएको खेलौनालाई पनि आफूलाईजस्तै भोक लाग्छ, जाडो लाग्छ, तिर्खा लाग्छ र निद्रा पनि लाग्छ भन्ने सोच्छन् र त्यहीअनुसार व्यवहार गर्छन् । टेलिभिजनमा कुनै व्यक्ति रोएको देखियो भने कतिपय बालकले त रुमाल लिएर आँसु पुछिदिँदै नरुनु भनेको पनि यी आँखाहरूले देख्ने सौभाग्य पाएका छन् । तथापि त्यस्ता दिलदार बालबालिकाहरू क्रमशः हाम्रो सम्पर्कमा आए भने सजीव बस्तु वा प्राणीलाई पनि निर्जीवलाई जस्तो व्यवहार गर्न सिक्छन् । यत्ति दिलदार बालकलाई हामी किन अमानवीय र पशुवत् व्यवहार गर्छौँ ? बालबालिकाको स्वभावको आकलन गरेर कतिपय विद्वान्हरूले बालकलाई भगवानको स्वरुप भनिरहेको अवस्थामा पनि हामी तिनै बालबालिकाहरूलाई किन आफ्नो राक्षसी स्वभाव प्रदर्शन गर्दै दुव्र्यवहार गर्छौँ ? यस्ता मानिसहरूलाई हदैसम्मको सजाय हुनु पर्नेमा किन खासै केही हुँदैन ? के हाम्रा यस्तै दुव्र्यवहारले एउटा बालक असल हुन सक्छ त ? कहिलेकाहीँ यस्तै यस्तै प्रश्नहरूले यो पङ्क्तिकारलाई घोच्ने र चिमोट्ने गर्दछन् । त्यसैले पनि बालबालिकाको बारेमा लेख्ने गर्दछु र त्यसैले पनि उनीहरूकै बारेमा अध्ययन र अन्वेषण गर्न रुचि राख्ने गर्दछु ।
आजको बालबालिका भनेको भोलिको यो मुलुकको गन्तव्य हो । भारतको कोठारी आयोगको प्रतिवेदनमा पनि लेखिएको छ– ‘कुनै पनि देशको गन्तव्य निर्धारण त्यो देशको कक्षाकोठामा सञ्चालन हुने क्रियाकलापहरूले गर्दछ ।’ भन्नुको मतलब उसलाई कक्षाकोठामा जे जस्ता कुरा सिकाइन्छ, भोलि उसले पनि त्यस्तै गर्दछ । भोलि उसले देशको महत्वपूर्ण जिम्मेवारीमा रहँदासमेत उसले कक्षामा सिकेका कुराहरूको प्रतिविम्बन उसले त्यत्तिबेला गर्ने कार्यहरूमा गरिरहेको हुन्छ । आज हेला र होचोअर्घेलो मात्र पायो, सबैबाट अपमान र कुटाइपिटाइ मात्र पायो भने उसले गर्ने पनि भोलिको अवस्थामा त्यस्तै हो र त्यही हो । अहिले बालबालिकालाई अपमान गर्नु भनेको भोलिको देशमा अरुलाई सम्मान गर्न नसक्ने मानिसहरूलाई सत्तामा पु¥याउनुसरह हो । आज देशको विभिन्न क्षेत्रमा शान्ति र समुन्नतिका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ । इमान्दारिताको खडेरी छ जताजतै । यसको कारण स्पस्ट छ कि हामीले आजका सत्तासीनहरूलाई समेत हिजोको पिँढीले गतिलो शिक्षा दिन सकेन । त्यसैले आजको देशलाई गतिलो बनाउन त हाम्रो बरकतले सकेन नै । भोलिको देशलाई गतिलो बनाउने हो भने बालबालिकालाई पेट्रोल छर्केर आगो लगाउनेदेखि बालबालिकालाई कुटेर तह लगाउनुपर्छ भन्नेसम्मलाई गतिलोसँग ठेगान लगाउन सक्नुपर्दछ । बालबालिकाका लागि आमा, बाबा, गुरु लगायतका अग्रजहरू अभिभावक हुन् । मुलुकको अगुवाइ गर्नका लागि निर्णायक तहमा पुगेकाहरू पनि मुलुकका अभिभावकहरू हुन् । सारमा हामीसँग भएका अभिभावकहरू चाहे बालबालिकाका लागि होउन् वा मुलुकका लागि, नर्चरिङ किसिमका हुन सकेनन् । यिनीहरूको आंकाक्षा र आवश्यकता के हो भनेर पहिचान गरी तिनै आंकाक्षा र आवश्यकता परिपूर्तिका लागि उनिहरू समर्पित हुन सकेनन् । सबै आफ्नो दुनोमात्रै सोझ्याउने र आफैँले जन्माएको बालकलाई समेत आफ्नो निर्देशन र आदेशको पालन गर्ने गरी टर्चरिङ स्वभावको माध्यमबाट तयार गर्ने चक्करमा लागेका देखिन्छन् । अभिभावक र उसले दिने वातावरण नै सास्ती दिने (टर्चरिङ) दिने भएपछि बालबालिका अरुलाई मीठो व्यवहार (नर्चरिङ) गर्ने त बनोस् पनि कसरी !









प्रतिक्रिया दिनुहोस्