कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा कक्षा ११ अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढ्दो छ । पछिल्लो समय विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आउने विद्याथीहरूको आकर्षण बढिरहेको हो ।
यस वर्ष विद्यालयमा १२० विद्यार्थीका लागि मात्रै भर्ना कोटा खुला गरिए पनि २३१ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । शनिबार विज्ञान संकायतर्फ १६७ जना र व्यवस्थापनमा ६४ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका हुन् । विद्यालयले यस वर्ष विज्ञान संकायतर्फ ८० र व्यवस्थापन संकायतर्फ ४० सिट निर्धारण गरेको विद्यालयकी प्रिन्सिपल साधना थापाले बताइन् ।
विद्यालयले निर्धारण गरेको कोटाभन्दा धेरै विद्यार्थीहरू सहभागी भएको बताइन् । सीमित सिटका लागि दोब्बरभन्दा बढी विद्यार्थीको प्रतिस्पर्धाले विद्यालयप्रतिको विश्वास र लोकप्रियता अझ बढिरहेको देखिन्छ । प्रवेश परीक्षाको नतिजा भने आज दिउँसो १ बजे सार्वजनिक गरिने विद्यालयले जनाएको छ । प्रवेश परीक्षाका दिन आफ्ना बालबालिकासहित विद्यालय पुगेका अभिभावकहरू पनि उत्साहित देखिएका थिए ।
अभिभावक मोहन थापाले राजधानीका विद्यालयसरहको शिक्षा कोहलपुरमै उपलब्ध भएकाले आफ्ना सन्तानलाई गोरखामा अध्ययन गराउन चाहेको बताए । उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र आधुनिक शिक्षण पद्धतिका कारण विद्यालय पश्चिम क्षेत्रको आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।








प्रतिक्रिया दिनुहोस्