लुम्बिनी ।
युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिँदै छ। लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको छ।
रुपन्देही उद्योग सङ्घको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वयमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यही जेठ ८ गते कार्यक्रम आयोजना गरिएको सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए।नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए।
उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबिच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाबिच प्रभावकारी समन्वयको आवश्यकता अझ बढी महसुस गरी यस किसिमको कार्यक्रम आयोजना गरिएको उनले बताए।लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा गराइनेछ।
यस्तै प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको वर्तमान अवस्था, चुनौती र अवसरसम्बन्धी विषयमा विज्ञहरूसँग प्यानल छलफलसमेत गरिनेछ।उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवद्र्धन गर्नु, सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष रहेको अध्यक्ष पराजुलीले बताए।
यस्तै सीपयुक्त जनशक्तिको माग र आपूर्तिबिचको दूरी कम गर्दै उद्योग र शिक्षालयबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने, युवालाई वृत्ति परामर्श, प्राविधिक शिक्षा तथा रोजगारीका अवसरबारे जानकारी प्रदान गर्नु पनि कार्यक्रमको उद्देश्य छ ।कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिनेछ। आयोजक संस्थाका अनुसार कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको सहभागिता रहनेछ। रासस









प्रतिक्रिया दिनुहोस्