समीक्षाः पैकेलाको दुःखान्त सङ्कथन



खगेन्द्र गिरि ’कोपिला’

पानी बग्दो मेराई छेव म छु काकाकुल ।
धेक्नु भै पैरनु भैनै ए हजारी फूल ।

पर जङ्गलको बीचबाट कसैले देउडा गीत गाएको सुनियो । देउडा गीत सुनेर बालाराजा झनै भावनामा डुब्दै गए — पानी खान्याँ तिर्खा मैँ खाया मेटिन्या हो क्या ! आफ्नै लयमा बगिरहेको छ लोहोरे । बालाराजा कासीरामको मन पनि बग्दै छ लोहोरेसंगै । बालाराजा सोचिरहेका छन् हिउँद बर्षा एक निमेष नरोकिएर यो पानी कहाँ जान्छ होला? पानीको सोचमा डुबेका उनी सकुनौती चराको आवाजले झस्कन्छन् । उनको मन फेरि राजकुमारी चम्पामालालाई सम्झेर बेचैन बन्यो । देउडा कर्णाली प्रस्रवण क्षेत्रको विशिष्ट गायन हो । मौलिक लय हो । सांस्कृतिक स्पन्दन हो । देउडाको सुगन्धले मान्छेमात्र होइन देउता, महात्मा र राजाहरु पनि भावविभोर हुन्छन् भनिन्छ । ओम रिजालकृत औपन्यासिक पुस्तक ‘पैकेलो’ को पृष्ट ८१ बाट उद्धरण गरिएको उपरोक्त देउडा प्रसङ्गले पनि त्यही तथ्यलाई झल्काएको छ । आँटिलो, वीर र जुन काम गर्न पनि तत्पर र अग्रसर हुने युवालाई ‘पैकेलो’ भनिन्छ कर्णाली प्रस्रवण क्षेत्रमा । नामैले यो उपन्यास कुनै आँटिलो पैकेलोको परिवृत्तमा बसेर लेखिएको उपन्यास जस्तो लाग्छ । हो, कर्णाली क्षेत्रको पुरानो देउलीगढ राज्यका बालाराजा कासीरामलाई नायक र उनलाई सघाउने मान्छेहरुलाई उपनायक बनाएर लेखिएको उपन्यास हो ‘पैकेलो’ । उपन्यास भन्ने बित्तिकै कथाको नालिबेली हुन्छ । पटकथा र उपकथाको सञ्जाल हुन्छ । नायक हुन्छ । नायिका हुन्छिन् । प्रेम हुन्छ , प्रेमालाप हुन्छ । पात्र हुन्छन् । प्रवृत्ति हुन्छन् । घटना घट्छन् । संघर्ष हुन्छ । द्वण्द्व हुन्छ । अन्तरद्वण्द्व हुन्छ ।सुखदुःखका उतारचढावहरुले उपन्यासलाई जीवन्त बनाउँछन् । अन्तमा पाठकलाई केही सन्देश दिएर उपन्यास कथानक सकिन्छ । उपन्यासको स्वरुप र आकारलाई हेर्दा ‘पैकेलो’ पनि सामान्यतयाः यस्तैयस्तै छ । तर यसको कथानक र आयतनलाई कोट्याउँदा यो उपन्यास नभएर कर्णाली इतिहासको सार र संस्कृतिको दस्तावेज नै बन्न पुगेको छ ।

कर्णाली नेपाली भाषा उत्पत्ति भएको ठाउँ हो । नेपाली समाजलाई लेख्ने र बोल्ने माध्यम यसैले दियो । अरुलाई बोल्ने र लेख्ने बनायो । तर कर्णाली भने लामो समयसम्म नबोलेरै मौन बसीरह्यो । कर्णालीसित लेख्ने र भन्ने कुरा पर्याप्त हुँदाहुँदै पनि यो थोरै लेखियो, थोरै पढियो, थोरै बुझियो । अझै पनि कर्णाली रहस्यमय साङ्रिला जस्तै बनेर कुतुहलको बर्को ओढेर बसिरहेकै छ । कुतुहलको बर्को ओढेर बसेको त्यही कर्णालीको घुम्टो खोलेर कर्णालीलाई लेख्न र चिनाउन खोजिरहेका स्रष्टा हुन् दैलेखका ओम रिजाल । कर्णालीको संस्कृतिलाई साहित्यिक आयाममा ढालेर साहित्यिक स्वर दिने उनको पहिलो प्रयास थियो ‘हटारु’ । हटारुको आगमनले ल्याएको स्वाद पुरानो हुँदानहुँदै फेरि झुल्किएका छन् ‘पैकेलो’ ल्याएर । ‘पैकेलो’ कर्णालीको इतिहास र संस्कृति मात्र नभएर त्यहाँको जनजीवन, बोलीचाली, जीवनसंघर्ष र उतारचढावका गाथाहरुको संकलन पनि हो । यसमा कर्णालीको भाषा मात्र होइन कर्णालीको हृदयको स्पन्दन पनि बोलिरहेको भान पर्छ । देउडाको लय समातिएन भने न कर्णालीलाई लेख्न सकिन्छ । न कर्णालीलाई बुझ्न सकिन्छ । ‘पैकेलो’ को औपन्यासिक आयाममा पनि बेलाबेला देउडाको चास्नी हालेका छन् लेखकले ।

कि घाँस रैँसकी डाली कि शीतलो बेल हो
कमै खानु कर्मै लाइनु करिमेको खेल हो
लेकै फुल्यो लालिगुराँस ब्याँसी फुल्यो पैयुँ
कि दुःखारी न्याउली चडो कि खुःखारी मैँ हुँ

‘पैकेला’ मा बालाराजा कासीराम मुख्य नायक छन् । राजपुरोहित बिसुपाध्या, राजवैद्य, राजज्योतिषिहरु पनि आफ्नो नायकत्व बोकेर बालाराजासितै उभिएका छन् । मन्त्री, काजी, सरदार, सेनापति, हितान, उमराव, माण्डलिक, सामन्त, मुखियाजस्ता समाजको अघिल्लो पङ्क्तिमा उभिएका अनेक राजसी पात्रहरु प्रशस्तै छन् ‘पैकेलो’ मा । यी पात्रका भूमिका आपसमा यसरी जेलिएका छन् कि नायकबाट महानायक छान्न पाठकलाई हम्मेहम्मे पर्छ । यी पात्रहरुको परिवेश र सन्दर्भ राजदरवारकै सेरोफेरो भए पनि उनीहरुको सङ्घर्षको कथा माटोसित जोडिएको छ । यी पात्रहरु दरवारका पर्खालभित्र मात्रै साँगुरिएर बसेका छैनन् । उनीहरुका सपना र रहरले दरवारका पर्खाल नाँघेर सर्वसाधारण नागरिकसित एकाकार हुन खोजेका छन् । उपन्यासका राजसी र सम्भ्रान्त पात्रहरु ढुङ्गा, माटोसित लडिबुडी गर्दै हुर्केका छन् । उकालीओराली खोला, खोल्सा, वनजंगल धाएर नै यिनीहरुले जीवनसङ्घर्षको मूल्य बुझेका छन् । खप्तडी, खुलाल, कालिकोटे, श्रीपाली र सिजापतिहरुको वीरगाथा र पराक्रमले देउलीगढको राजसी वैभवमात्रै होइन, त्यो समयको चित्रलाई पनि उतारेका छन् । देउलीगढ त कर्णालीको एउटा प्रतीक मात्रै हो । ‘पैकेलो’ मा त सिङ्गो कर्णालीको ढुकढुकीले ढुकढुक गरिरहेको प्रतीत हुन्छ । कर्णालीको मूल्य र महत्व भन्नु नै त यहाँका उकालीओरालीहरुमा स्पन्दित हुँदै लेखिएका जीवनकथाहरु नै त हुन् । यो उपन्यासको सन्दर्भ र सेरोफेरो मूलतः युद्धमा केन्द्रीत छ। तर त्यस युद्धसित कर्णालीको अता, आफ्नो माटोप्रतिको समर्पण र आफ्नोपनप्रतिको निष्ठा पनि जोडिएको छ । लाग्छ युद्ध गर्नु र युद्धले आर्जेको शक्तिलाई आफ्नो पुरुषार्थको वैभव ठान्नु ‘पैकेलो’ का पात्रहरुको सनातन स्वाभिमान नै हो ।

‘लामै बज्यो कर्णालको धुन । कर्णाल बजेपछि फौज सतर्क भयो । एकछिनमैँ सेनापति वीरु थापाले फौजलाई अघि बढ्न उर्दी जारी गरे । फौज सुस्तसूस्त अघि बढ्यो । अल्छी मानीमानी हिडेका पैकेलाहरुलाई बाटोमा भेटिएका कलकले धाराको चिसो पानीले राहत दियो । जङ्गलको हरियालीले आनन्द दियो । चराहरुको सुरिलो भाखाले साथ दियो । देउराली थुम्कोले विश्रामको आसन दियो । देउरालीमा धजा र अक्षता चढाउँदै हिडेको फौज घाम डुबेपछि बास बस्थ्यो । जून डुबेपछि उठ्थ्यो र अघि बढ्थ्यो । फौजलाई पत्थरीको लेक काट्न पुरै पाँच दिन लाग्यो । पत्थरीको लेक काटेर पैकेलाहरुका पाउले सिउलेकलाई स्पर्श गरे ।’ सिरुपाते उकाली उक्लिएर डाँडाको टुप्पोमा पुगेको फौज टलक्क टल्किएका हिमाल देखेर खुसीले लट्ठी नाच नाच्न थाल्यो । हिमालको सुन्दरताले सेनाको मन ह¥यो । बालाराम कासीराम पनि निकै बेर हिमाल हेरेर मख्खिए । सेताम्मे हिमालमा लोभिएर टोलाइरहेको फौजको बीचबाट हिमालतिर औँला तेस्र्याएर राजज्योतिषी जयतु भट्टले सोधे— हिमालमा हिउँ नभएको दिन के होला? उनको प्रश्नको उत्तरमा राजगुरु बोले— हिमालमा हिउँ नभएको दिन कालापत्थरमा परिणत हुने छन् सेताम्मे हिमाल । हिमालबाट झर्ने छैनन् छङछङ झरना । बग्ने छैनन् कलकल नदी । हुने छ पानीको हाहाकार । बढ्ने छ पृथ्वीको उष्णता । त्यही उष्णतामा जल्ने छ मानव अस्तित्व ।

‘पैकेलो’ का पैकलाहरु युद्धयन्त्र मात्रै भएका छैनन् । उनीहरुको मन कहिले प्रेम गर्छ, कहिले अठोट गर्छ, कहिले दुःखी हुन्छ, कहिले रमाउँछ, कहिले ससानो प्राप्तिमा पनि उत्सव मनाउँछ । उपन्यासका महानायक र नायकहरुले युद्धसित सिङ्गो जीवन लयलाई एकाकार गरेका छन् । युद्धभूमिमा उनीहरुका हातपाखुरामात्रै चलेका हुन्न् त्यहाँ उनीहरुका रहर, सपना, समर्पण र निष्ठा पनि चलिरहेका हुन्छन् । युद्ध गर्न भनेर महिनौँ हिँडेर अरु ठाउँमा पुग्दा पनि उनीहरुले आफ्नो आफ्नो जन्मथलोलाई बिर्सेका हुन्नन् । युद्ध सकिएपछि देउडा गाउँदै आफ्नो जन्मभूमिका डाँडाकाँडा डुल्ने उत्कण्ठाले उनीहरुलाई पैकेलो बनाइरहेको हुन्छ । युद्ध गर्नुको तात्पर्य र उद्धेश्य आफ्नो व्यक्तिगत केही हुन्न । वैयक्तिक आकाङ्क्षा बिनाको युद्धमा पनि उनीहरु समर्पित भएर लागेका हुन्छन् । उनीहरु जन्मभूमिकै लागि युद्ध गरिरहेका हुन्छन् । उपन्यासमा राजाले युद्ध मात्रै गर्दैनन् । बीचबीचमा प्रेमालाप, पर्यटन र मनोरञ्जन पनि गर्छन् । प्रेमको अनुभूतिले छोएपछि त राजा पनि गीत बनेर गुञ्जिन पुग्छन् । जल बनेर पोखिन खोज्छन् । बतास बनेर दौडिन खोज्छन् । उनीहरु बीच प्रेमिल वार्तालाप शुरु हुनै लागेको थियो । रहबाट आएको चप्लङ्ग आवाजले बालाराजाको मायाको संसार भत्काइदियो । उनको मनले भन्यो —आहा ! कल्पनाको माया त यति मीठो छ भने साँच्चैको माया झन् कति मीठो हुन्छ होला ! बालाराजा आफूभित्र उर्लिएको प्रेमको सागरमा आफै पौडिरहेका थिए । उता राजकुमारी पनि पौडीको आनन्द लिइरहेकी थिइन् ।

मैनाले लायाको फूल सुकी भाँगो भाँगो
पिँजडा हातको हातै चडी उडी काँ गो

‘पैकेलो’ उपन्यास मात्रै होइन । सांस्कृतिक अध्येताहरुको लागि यसमा थुप्रै पठनयोग्य विषयबस्तु छन् । कर्णाली क्षेत्रका धार्मिक अनुष्ठान, सांस्कृतिक उत्सव र पारम्परिक नाचगानका प्रसङ्गले उपन्यासलाई उपन्यास कम सांस्कृतिक ग्रन्थ बढी बनाएको छ । उपन्यासका प्रायःजसो संवादहरु खसभाषाको पुरानो शैलीमै बोलिएका छन् । मष्टो र अन्य पारम्परिक देवताप्रतिको आस्था सबै पात्रहरुमा भरिएको छ । पुरानो समयको समाजमा विद्यमान कत्र्तव्यपरायणता, जिम्मेवारीबोध, सामाजिक सद्भाव र पारस्परिक सहयोगको भावना हरेक पात्रमा देखिन्छ ।‘पैकेलो’ उपन्यासका हरेक पात्र नायकजस्ता लाग्छन् । हरेक पात्रले कुनै न कुनै कोणबाट विद्रोह नै गरेका छन् । हरेक पात्र विद्रोहीजस्ता लाग्छन् । तर त्यो विद्रोह हामीबीचमा म हुने लहड होइन । आफ्नाहरुमाथि आफ्नो कुरो लाद्ने हठ होइन । आफ्नाहरु र आफ्नोपनबाट छुट्टिएर काल्पनिक संसार रच्ने ढिपी होइन । ‘पैकेलो’ का सबै विद्रोही पात्रहरु म होइन हामी भएर बाँचेका छन् । उनीहरुले पुर्खाहरुले निर्माण गरेको सभ्यतालाई नभत्काएर त्यसमा नयाँ आयाम थप्ने चेष्टा गरेका छन् । संसार नित्य परिवर्तनशील छ । संस्कृति र संस्कारहरु काँचुलि फेर्दै जान्छन् । सभ्यताहरु बन्छन् भत्किन्छन् । साम्राज्य र संगठनहरु आफ्नो भार थाम्न नसकेर आफै ढल्छन् र आफै थिचिएर पुरिन्छन् । विचार र सिद्धान्तहरु समयक्रममा रङ उप्केर सङ्ग्रहालयमा थन्किन पुग्छन् । विद्रोह पनि कुनै समयपछि लाटो भएर आफ्नै अनुहारसित अपरिचित हुन पुग्छ । युद्ध पनि हुन्छन् र सकिन्छन् । यहाँ रहने भनेको यही धर्ती मात्रै हो । सूर्य उदाउने, नदी बग्ने र फूल फुल्ने क्रमले धर्तीको सनातन सौन्दर्यलाई जोगाइरहेको हुन्छ । चेतनाको सत्य खोज्ने हुटुहटीले धर्तीको सनातन सौन्दर्यप्रति आशक्त बनाइरहेको हुन्छ मानछेलाई ।

यद्यपि ‘पैकेलो’ उपन्यासले ओगटेको संसार पनि कुनै कालखण्डको हो । अहिलेको होइन । उपन्यासका दृश्य, कथा, पटकथा र घटनाहरुको आजको कर्णालीसित तादात्म्य नमिलेको पनि हुन सक्छ । समयसितै हराएका र समयसितै उत्पत्ति भएका आयामहरुमा पनि कर्णालीको आयाम खोज्नु पर्ने हुन्छ । ‘पैकेलो’ उपन्यास त्यसैको एक सत्प्रयास हो । यसले कर्णालीको ढुकढुकीलाई छाम्ने सार्थक प्रयास गरेको छ । युद्धको दुःखान्त सङ्कथनमा पनि कर्णालीको उज्यालो अतीतको आभा भेटिनु यस उपन्यासको विधागत सफलता हो । लेखक ओम रिजालको सिर्जनात्मक वैशिष्ट्य हो । देउलीगढको कथा सुनाउँदै हजुरबाले भन्नु भएको थियो — जे नहुनुपर्ने थियो । त्यही भयो । आकाश एकाएक बादलले डम्म ढाकियो । सूर्यको उज्यालोलाई कालो बादलले कप्लक्क निल्यो । दिउँसै रात प¥यो । बादल आपसमा ठोक्किएर डरलाग्दो आवाज आउन थाल्यो । बिजुली चमकचमक चम्कियो । चट्याङ खस्यो । मेघगर्जन सहितको मुसलधारे पानी प¥यो । सातआठ घण्टादेखि लगातार बर्सेको मुसलधारे पानीले देउलीगड दरबारमाथि पैरो खस्यो । मध्यरातमा दरबारमाथिको पहाड नै खसेको पैरोमा परेर मान्छेहरुको भागदौड चल्यो । दरबारसंगै विजयदेवल र विभिन्न लडाईमा वीरगति पाएका पैकेलाहरुको सम्झनामा ठड्याइएका वीरखम्बहरु पुरिए । पहिरोले पुरेर सुखीपिप्लीको छातीमा उजाड बगर बनाएको कथासंगै देउलीगढ दरवारको कथाको पोयो टुङ्गियो । कथा टुङ्ग्याउँदै लामो सास फेरेर हजुरबुवा चुप लाग्नु भो ः

तितोपिरो भोग्नु पड्डो दैवका खेलाको
मेटिकँ मेटिन्या होइन जन्मन्या बेलाको

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार