लेकप्रसाद प्याकुरेल
यात्रासंस्मरणको परिचय
साहित्यको गद्यविधामा समेटिएको निबन्धभित्र थुप्रै उपविधाहरू रहेका छन् । प्रबन्ध, लेख, जीवनी, आत्मजीवनी, संस्मरण, यात्रासंस्मरण, रुबन्ध आदि भेदहरू निबन्धअन्तर्गन नै गणना हुन्छन् । यी उपविधाहरूमध्येको यात्रासंस्मरण कुनै पनि पात्र विशेषले वर्णनयोग्य स्थानमा गरेको यात्रामा भए गरेका प्रेरणादायी अनुभवहरूलाई स्मरण गरेर लेखिएको साहित्य हो । यात्रा र संस्मरण दुई फरकफरक शब्दहरूबाट निर्मित सिङ्गो शब्द यात्रासंस्मरणलाई नेपालीमा यात्रावृत्तान्त, नियात्रा, यात्रासाहित्य, यात्रावृत्त, यात्राविवरण, भ्रमण साहित्यजस्ता शब्दहरूले समेत सङ्केत गरेको पाइन्छ । अङ्ग्रेजीमा यस उपविधालाई ट्राभल लिटरेचर, ट्राभल एकाउन्ट, ट्रेभल मेरोर्स, आउटडोर लिटरेचर, एक्लोरेसनमा, एडभेन्चरस लिटरेचर, माउन्टेन लिटरेचर, ट्राभल गाइड बुकका साथै मोनोलोग जस्ता शब्दहरूद्वारा सङ्केत गरिन्छ । त्यसैगरी हिन्दीमा यात्रासाहित्य, यात्रावृतान्त, यात्रानिबन्ध, यात्रासंस्मरणजस्ता शब्दहरूका साथै नियात्राकार राहुल साङ्ङ्कृत्यायनका अनुसार घुमक्कडी साहित्यले पनि यात्रासंस्मरणलाई नै बुझाएको छ । यात्रासंस्मरणका यिनै अनेकौं पहिचानका आधारमा यसलाई वर्णनात्मक, विवरणात्मक, आख्यायानात्मक, पात्रात्मक, दैनिकी लेखन, संस्मरणात्मक र निबन्धात्मक गरी छ वटा उपभेदमा विभक्त गर्न सकिन्छ ।
यात्रास्मरणको विशेषता
मानिस स्वभावैले घुमफिर गर्न रूचाउने प्राणी हो । यसरी घुमफिर गरेका विषय पछिसम्मका लागि सुरक्षित राख्न त्यसलाई लिपिबद्ध गरिनु जरूरी छ । मूलतः यही मान्यतामा आधारित भई यात्राका क्रममा देखेका भोगेका अनुभूतिहरूलाई साहित्यिक संस्मरणात्मक शैलीमा कलात्मक ढङ्गले अभिव्यक्त गरिँदा यात्रासंस्मरण सिर्जना हुने गर्छ । संस्मरण भन्ने बित्तिकै विगतमा भएगरेका गतिविधिको स्मरण हो। यसर्थ यात्रासंस्मरणमा पनि विगतका दिनहरूमा भए गरेका यात्राका रमाइला तर महत्त्व राख्ने क्रियाकलापहरूलाई सम्झनु पर्ने भएकाले यात्रासंस्मरण भूतकालमा लेखिनु पर्ने हुन्छ । कहिलेकाहीँ भूतकालकै सापेक्षतामा रही वर्तमानकालको प्रयोग पनि छिटफुट रूपमा हुन सक्छ तर यात्रासंस्मरणको समयगत परिवेश मूलतः विगत वा भूतकाल नै हो । यात्रासंस्मरण लेखिनका लागि प्रथमतः लेखक स्वयमंले कुनै पनि महत्त्व राख्ने स्थान विशेषको यात्रा गरेको हुनुपर्छ र यसरी यात्रा गर्दा देखापरेका भौगोलिक, ऐतिहासिक, वातावरणीय, सामाजिक, सांस्कृतिक पक्षहरूलाई कलात्मक पाराले मसिनोसँग केलाउने क्षमता लेखकले राख्नुपर्छ ।
आफूले देखेका वा भोगेका विषयलाई कलात्मक शैलीमा प्रस्तुत गर्न नसक्दा यात्रासंस्मरण कम टेबल गफ बढी हुने भएकाले पनि यात्रासंस्मरणलाई जीवन्त बनाउन कलात्मकता वा सुन्दर वर्णनात्मक क्षमता अपरिहार्य छ । यात्रासंस्मरण लेख्दा ध्यान पुन्याउनु पर्ने अर्को पक्ष विश्वासनीयताको सिर्जना हो। खासगरी कलात्मक लेखन शैलीलाई प्राथमिकतामा राखेर यात्रासंस्मरणको लेखन गर्दा प्रसङ्ग काल्पनिक वा अपत्यारिलो हुने डर त्यत्तिकै हुन्छ । यसर्थ लेखकले यात्रा संस्मरणमा अभिव्यक्त गरेका सबै प्रसङ्ग विश्वसनीय र पाठकलाई पढिरहँदा आफू स्वयं नै त्यही स्थानमा घुमिरहेको जस्तो अनुभूति दिनसक्ने हुनु नितान्त जरूरी छ । यात्रासंस्मरणमा कहिलेकाहीँ अरुले भनेको सुनेका भरमा पनि केही प्रसङ्गहरू समेटिन सक्छन् । यतिबेला समेत लेखकले उक्त प्रसङ्ग स्वयम् आफैले भोगे जसरी नै अभिव्यक्त गर्न सक्नुपर्छ । यात्रा संस्मरणका उल्लेखित स्वभावका आधारमा नियात्राकार स्वयं नायक हुनु, स्थानीयता, स्वच्छन्दता, नियात्राकारको सक्रिय भूमिकाको अनिवार्यता, कल्पनाशीलता, रोचकता र कुतूहलता, वैयक्तिकता, प्रथम पुरुषात्मक दृष्टिविन्दुको उपयोग, आत्मानुभूतिगत प्रस्तुतीकरणमा जोड, चिन्तनशीलता, सत्यता र विश्वसनीयता, सूचनात्मकता, प्रत्यक्षदर्शिता एवम् वास्तविकता, तथ्यात्मकता र गद्यात्मकतालाई यात्रा संस्मरणका विशेषताहरू मानिएको हो । मूलतः यिनै विशेषताहरू केन्द्रित भएर बाँके जिल्लामा विभिन्न नियात्रा संग्रहहरू लेखिएका छन् जसमध्ये भरतबहादुर रानाभाटको फ्लोरिडाको सेरोफेरो नियात्राको चर्चा गरिनु बान्छनीय ठहर्छ।
भरतबहादुर रानाभाट र फ्लोरिडाको सेरोफेरो
परिचय
माता लक्षिमा रानाभाट र पिता शेरबहादुर रानाभाटका काइँला सुपुत्रका रूपमा विसं २०१९ मङ्सिर १५ का दिन पोखरा २४ कास्कीकोटमा जन्मिएका भरतबहादुर रानाभाट हाल नेपालगञ्ज १२ बेलास्पुर बाँके बस्दै आएका छन्। प्रहरी सेवामा लामो समयसम्म कार्यरत रही हाल सेवा निवृत्त जीवन बिताइरहेका रानाभाटको वर्तमान साहित्य केन्द्रित सभा सम्मेलनमा सहभागी भएर व्यतीत हुने गरेको छ। साहित्य र समाजसेवा दुवै क्षेत्रमा उत्तिकै सक्रिय रानाभाट भेरी साहित्य समाज केन्द्रीय समिति, लुम्बिनी वाङमय प्रतिष्ठान, प्रगतिशील लेखक संघ बाँके, सर्वदा साहित्य संगम, नेपाल पूर्व प्रहरी संगठन, जुमा स्पोर्ट क्लब, कास्की सेवा समाज बाँके, खुद्रा व्यवसाय सङ्घ बाँके, विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेश लगायतका साहित्यिक एवं सामाजिक संस्थाहरूमा आबद्ध भइसकेका छन्। साहित्यका क्षेत्रमा साहित्य पोष्ट, मिसन टुडे, दैनिक नेपालगन्ज, जनमत अर्धसाप्ताहिक, दौँतरी, परिवर्तन, लुम्बिनी दर्पण लगायतका पत्रपत्रिकाहरूमा आफ्ना रचना प्रकाशित गर्दै आएका रानाभाटका जिन्दगीको यात्रा कथा सङ्ग्रह (२०७४), नियति कथासङ्ग्रह (२०७७), फ्लोरिडाको सेरोफेरो नियात्रासङ्ग्रह (२०८१), ढुकढुकीमा देश (२०८२ ) जस्ता साहित्यिक कृतिहरू प्रकाशन भइसकेका छन् भने केही कृतिहरू प्रकाशनको सङ्घारमा रहेका छन्।
फ्लोरिडाको सेरोफेरो
आख्यान, कविता र निबन्ध विधामा कलम चलाउन रुचाउने रानाभाटको फ्लोरिडाको सेरोफेरो नियात्रा विधाको कृति हो। सर्वदा साहित्य संगम नेपालगञ्जद्वारा विक्रम सम्वत २०८१ जेठमा प्रकाशित १४४ पृष्ठको मध्यम लमाइगत आयाम धारण गरेको फ्लोरिडाको सेरोफेरोमा भरतबहादुर रानाभाटले पहिलोपटक विक्रम सम्वत् २०७७ असोज १७ देखि २०२१ मार्च १८ सम्म साढे पाँच महिना र दोस्रोपटक २०७८ श्रावण २९ देखि २०२३ सेप्टेम्बर १६ सम्म २५ महिना गरी झन्डै ३१ महिनाको अमेरिका भ्रमणमा कैद भएका दृश्यवर्णन र सोही स्थानमा रहँदा नेपालप्रति देखिएको चिन्ता र चासोमा आधारित विषयवस्तु परेको छ । अमेरिका जाने सुरसारबाट सुरु गरिएको प्रस्तुत कृति अमेरिकामा घुम्दाका प्रसङ्ग र नेपाल फर्केसँगै पशुपतिनाथको कृपालाई स्मरण गरी समापन गरिएको छ। भरतबहादुर रानाभाटको फ्लोरिडाको सेरोफेरो जानकारीहरूको सिङ्गो दस्ताबेज बनेको छ। यस कृतिभित्र तजबलपक नष्खष्लन पर्व, समुद्रको बिचमा पिरामिड शैलीको एउटै भवनमा पाँचवटा रेस्टुरेन्ट, प्लेग्राउन्ड, वातावरण मैत्री शैक्षिक संस्था र समुद्रको रमाइलो दृश्य ढुक्कले हेर्न मिल्ने प्याराफिट, समुन्द्र जत्रै तर उल्टो बग्ने सेन्टजन्स नदी, कसैका बालबच्चा छुन नहुने, महिला वा पुरुषलाई नियालेर हेर्न नपाइने, कसैको निजी घरको ढोका अगाडि जान नहुने लगायत थुप्रै सन्दर्भ हरूमा घटनाहरूको यथार्थपरक वर्णन गरी पाठकहरुलाई आफू घटना घटित स्थानमै रहेको आभास गराइएको छ।
कृतिमा अमेरिकाको सडक त्यहाँको ट्राफिक प्रहरीको नियम र नियमितता, सरसफाई (कुकुर डोर्याउनेले पोलिथिन हातमा लिएर सरसफाईलाई महत्व दिइएको लगायतका दृश्य), समुद्रमा निसंकोच अर्धनग्न भएर नुहाउने प्रवृत्ति, घुमफिर गरेर बिदा बिताउने, घरदेशप्रति चिन्ता र चासो प्रकट गर्ने लगायतका विषयवस्तुले महत्त्व पाएका छन्। कृतिभित्र कृतिकारले कतै आशावादी कोणबाट कतै चिन्ता र निराशाको शैलीलाई अपनाएर राष्ट्रियता, नेपाली संस्कार संस्कृतिप्रतिको मोह लाई अभिव्यक्त गरेका छन्। राणाभाटको यस नियात्रामा प्रयुक्त विषयवस्तु नबिथोलिने गरी नेपालमा भइरहेका गन्तव्य प्रतिको खबरदारी बालुवाटारको जग्गामा गिद्धे आँखा लगाउने, खाली जग्गा हडप्न नक्कली मोही खडा गर्ने, खाली जग्गालाई आफ्नो भोट बैंक बनाउन उपयोग गर्ने वर्तमान राजनीति र नेतृत्वप्रतिको असन्तुष्टि, कमिसनतन्त्रको विरोध, सडक विभाग र ठेकेदार हरूको लापरवाहीप्रतिको खबरदारी गरिएको छ। कृतिभित्रै अमेरिका र नेपालको राजनीति विकास, बाटोघाटोको विस्तार, वातावरण संरक्षण, रमाउने र जीवन बिताउने तरिका, कामलाई हेर्ने दृष्टिकोण आदि पक्षहरुमा तुलना गर्दै नेपालमा सुधारको अपेक्षा गरिएको छ।भरतबहादुर रानाभाटको फ्लोरिडाको सेरोफेरो नियात्राले विगतमा मानिसलाई नराम्रोसँग झस्काएको कोरोनालाई यथार्थपरक ढंगले चित्रण गरेको छ। सिङ्गो विश्वलाई नै तहसनहस बनाएको कोरोनाको कहर कस्तो थियो सोको जानकारी गराउने क्रममा मानिसहरू एकले अर्कालाई छुन डराउने परिस्थिति, आफ्नै नातिनातिनीलाई जीवनमा पहिलोपटक भेट्दा समेत छुन नपाई उल्टै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने पट्यारलाग्दो परिवेशको वर्णन लगायतका परिस्थितिहरू कोरोनाको कहर भोगेकाहरूलाई विगतको स्मरण गराउने कोसेली बनेको छ भने नभोगेकाहरूलाई जानकारी मूलक विषयवस्तु बन्न सक्छ।
रानाभाटको फ्लोरिडाको सेरोफेरोमा आंशिक रुपमा बाल मनोविज्ञानको प्रयोग गरिएको छ। नातिसँग रमाउँदा र उसको आनीबानीको वर्णन गर्दा बालबालिका भगवानका स्वरूप हुन् उनीहरुको आयोजनामा निर्मित बालक्रिडाले जो कोहीको पनि मन छुन्छ भन्ने यथार्थको जीवन्त वर्णन कृतिको पृष्ठ १३६ मा परेको छ। खासगरी भवानी भिक्षुको मेरो सानी साथी कथामा प्रयुक्त बाल मनोविज्ञानको निकट रहेर नियात्राकारले आफ्ना साना नातिनातिनासँग खेल्दा वा रमाइलो गरी जिस्किँदाको प्रसङ्ग प्रस्तुत गरेका छन्। कृतिभित्र आफ्ना मुटुका टुक्राहरूलाई डायस्पोरामै छोडेर नेपाल फर्कने क्रममा सिर्जित कारूणिकतामा आधारित दुईवटा नियात्रा परेका छन्। यी दुवै नियात्रामा वर्णित वियोग श्रृङ्गार रसले सहृदयी पाठकलाई सजल बनाउँछन्। यसर्थ रानाभाटको फ्लोरिडाको सेरोफेरोमा संयोग श्रृंगाररस र बियोग श्रृंगाररस दुबैको मिश्रित प्रयोग भएको पाइन्छ। कृतिभित्र पशुपति भगवान र मन्दिरप्रति आस्थावान नियात्राकार अध्यात्मवादी चिन्तनबाट प्रभावित देखिन्छन्। सरल बोधगम्य र प्राय अविधापरक भाषाको प्रयोगले सामान्य शैक्षिक स्तरका पाठकले पनि बुझ्न सक्ने कृति बनेको फ्लोरिडाको सेरोफेरो भित्र केही सामान्य कसर मसर पनि रहेकै छन् । सामान्यतया नियात्रा हुनका लागि यात्रा गर्नैपर्छ। घरभित्रबाटै नियात्रा लेख्नु सम्भव छैन। लक्की नम्बर ७०३ मा आफ्नै फ्ल्याटको वर्णनमा आधारित विषयवस्तुमा परिवेश एकै ठाउँमा जाम भएकै कारण गतिशीलता वा विशेष यात्रा छैन र स्वप्निल अमेरिकामा पनि देखिने गरी यात्रा नगरिनु कृतिका सुधार गर्नुपर्ने विषयवस्तु हुन्। केही विषयवस्तुमा कालदोष र संवाद दोष पनि देखिन्छ भने एउटै रचना र प्रसङ्गमा समेत कतै सन र कतै विक्रम सम्वत प्रयोग नगरिकन मिति प्रयोगमा एकरुपता ल्याउन सके कृतिको स्तरोन्नति हुने देखिन्छ।
समग्रमा प्रस्तुत फ्लोरिडाको सेरोफेरो भरतबहादुर रानाभाटको दुईपटकको अमेरिका बसाइमा केन्द्रित विषयवस्तुमा आधारित भएर तयार पारिएको कृति हो। रानाभाटको प्रस्तुत कृति अमेरिकाका सुन्दर स्थानहरूको दृश्य वर्णन, त्यहाँको राज्यस्तरका अनुकरणीय नीति नियम र कानुनहरूको वर्णन,अमेरिकाको रहनसहन, नेपालीहरूले अमेरिकामा व्यतीत गरेका दिनचर्या, अपनाएका संस्कार संस्कृति र प्रवृत्तिहरू, डायस्पोरामा रहेका नेपालीहरूको नेपालप्रतिको चिन्ता र चासोलाई उल्लेख गरिएको छ। अमेरिका जाँदै नगएकाहरूलाई समेत त्यहीँ पुगे जसरी गरिएको दृश्य वर्णन कृतिको महत्वपूर्ण वैशिष्ट्य हो। समग्रमा रानाभाटको फ्लोरिडाको सेरोफेरो एकातिर अमेरिकाको फ्लोरिडा लगायतका राज्यहरूमा नियात्राकारले अनुभूत गरेका अनुकरणीय गतिविधि र अर्कोतिर नेपालमा मौलाउँदै गएको भ्रष्टाचार, राजनैतिक कुसंस्कार, भूमाफियाहरूको सुकुम्बासीलाई उठिबास लाउने अथवा सरकारी जग्गा हडप्ने प्रवृत्तिप्रतिको विरोध लगायतका विषयवस्तु प्रस्तुतीकरणका कारण अमेरिकाको यथार्थ वर्णन र सुधारिएको नेपाल हेर्ने चाहनाको महत्वपूर्ण सेतु बनेको छ।









प्रतिक्रिया दिनुहोस्